Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा सहभागिता जनाउन थालेको ६५ वर्षमा नेपाल सबैभन्दा धेरै सुरक्षाकर्मी पठाउने सूचीमा पहिलो भएको छ।

संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्याङ्कअनुसार दोस्रो स्थानबाट नेपाल पहिलो स्थानमा उक्लेको हो। राष्ट्रसंघीय तथ्याङ्कअनुसार नेपाली सुरक्षाकर्मीको संख्या ६ हजार दुई सय ४७ छ। यो विभिन्न मिसनमा हाल परिचालित सैनिक, प्रहरी र सशस्त्र प्रहरीको संख्या हो। ‘संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा सबैभन्दा धेरै सैनिक र प्रहरीसहित सुरक्षाकर्मी पठाउने देशको सूचीमा नेपाल पहिलो भएको छ,’ नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले भने, ‘अहिले संख्यामा केही तल-माथि परेको हुन सक्छ, तर नेपालको संख्या पहिलो छ।’

धेरै सुरक्षाकर्मी पठाउने सूचीमा बंगलादेश दोस्रो र भारत तेस्रो छ। सुरक्षाकर्मीको संख्या बंगलादेशको ६ हजार एक सय ९७ र भारतको ६ हजार ७३ छ। त्यस्तै, रुवान्डा चौथो र पाकिस्तान पाँचौं स्थानमा छन्। दक्षिण एसियाली मुलुकहरू सबैभन्दा धेरै सुरक्षाकर्मी पठाउने मुलुकको सूचीमा अग्रपंक्तिमा देखिएका छन्। नेपालले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई शान्ति मिसनमा पठाएको छ।

नेपाल सन् १९५५ मा राष्ट्रसंघको सदस्य भएको थियो। १९५८ देखि नेपाली सेना संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा पर्यवेक्षक पठाएर पहिलोपटक सहभागी भएको हो। सेनाले सन् १९७३ देखि इजरायल र इजिप्टको सीमा साइनाईमा फौज पठाएको थियो। त्यहाँ खटिएको पुरानो गोरख गण नै शान्ति स्थापक मिसनमा नेपालको पहिलो फौजी मिसन हो।***

तपाईको प्रतिक्रिया