काठमाडौं – थाइल्याण्डमा विपक्षी दल मुभ फर्वार्ड पार्टीकी सांसद रक्छनोक श्रीनोकलाई ६ वर्षको जेल सजाय सुनाइएको छ । राजतन्त्रको विरोध गरेको अभियोगमा २९ वर्षीया श्रीनोकलाई त्यहाँको फौजदारी अदालतले जेल सजाय सुनाएको हो ।
थाइल्याण्डको फौजदारी अदालतले श्रीनोकले कम्युटर अपराध ऐन उल्लंघन गरेको ठहर गरेको छ । सिएनएनका अनुसार सन् २०२० मा श्रीनोकले सामाजिक सञ्जालमा लेखेको विषयलाई आधार बनाएर अपराध संहिताको धारा ११२ अनुसार सजाय सुनाएको हो ।
श्रीनोकले आफूलाई जमानतमा छोड्न गरेको अपिललाई अदालतले स्वीकार गरेको छ । उनले फेसबुकमा लेख्दै आफू काममा फर्किएको बताएकी छन् । थाइल्याण्डमा राजा, रानी र उनीहरूका उत्तराधिकारीको विरोध गर्दा १५ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।
मानवअधिकारवादी थाइ वकिलहरूको संस्थाका अनुसार श्रीनोकले २०२० मा कोभिडको खोपको खरिदबारे विरोध जनाउँदै एक्स (ट्वीटर) मा स्टाटस लेखेकी थिइन् । खोप खरिद गर्ने कम्पनी राजासँग सम्बन्धित थियो । उनले राजतन्त्रको विरोधमा गरिएको ट्वीटलाई पनि रिट्वीट गरेकी थिइन् । श्रीनोक २०२३ मा मात्रै राजनीतिमा प्रवेश गरेकी थिइन् । त्यसअघि उनी सामाजिक अभियन्ता र सरकारको आलोचक थिइन् ।