Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

टोकियो – जापान-नेपाल विकास मञ्च स्थापना भएको छ । नेपाली दूतावासको पहल तथा जापानका उद्यमी, व्यवसायी र लगानीकर्ताहरूको प्रयासमा टोकियोमा जापान-नेपाल विकास मञ्च स्थापना भएको हो ।

जापान सरकारका विपद् व्यवस्थापन र सामुद्रिक नीति राज्यमन्त्री कोइची तानी र जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले संयुक्त रूपमा उद्घाटन गरेको उक्त मञ्चको अध्यक्षमा जापान सरकारका पूर्व अर्थ सहायक मन्त्री मोतोयुकी ओदाची चयन भएका छन् । उपाध्यक्षहरूमा सर्वश्री योशिहारु कोमियामा, हिरोयुकी फुकुयामा, डा तोरु उत्सुमी, ताकातोशी नाकामुरा, तोमोहिको कावामोतो र योसुके किकुमा रहेका छन् । जापान-नेपाल संसदीय मैत्री समूहका अध्यक्ष एवं जापानका लागि नेपाली राजदूत उक्त मञ्चका पदेन संरक्षक रहेका छन् ।

नेपालको सामाजिक, आर्थिक र प्राविधिक विकासमा जापान सरकारको सहायता सँगसँगै जापानको निजी क्षेत्रबाट नेपालमा पर्यटन, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य, वातावरण र रोजगार लगायतका क्षेत्रहरूमा लगानी तथा औद्योगीकरण एवं नेपाल र जापानको व्यापार प्रवर्द्धनमा सार्थक योगदान पुर्‍याउने उद्देश्यले मञ्चको स्थापना भएको नेपाली दूतावास टोकियोले जनाएको छ ।मञ्चको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै जापान सरकारका विपद् व्यवस्थापन र सामुद्रिक नीति राज्यमन्त्री कोइची तानीले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्ध सरकारीस्तरमा मात्र सीमित नरही जनस्तरसम्म पनि फैलिएको बताए । ‘जापान र नेपालबीच गहिरो धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध छ,’ उनले भने, ‘यस ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई अब आर्थिक सम्बन्धको सुदृढीकरणसहित विस्तारित गर्न आवश्यक छ । यस दिशामा जापान-नेपाल विकास मञ्च कोशेढुङ्गा साबित हुनेछ ।’

जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले जापान नेपालको विकासको एक प्रमुख साझेदार राष्ट्र रहेको र नेपालको कृषि, शिक्षा, ऊर्जा, यातायात र सञ्चारलगायतका आर्थिक र सामाजिक विकासको आधारशिला निर्माणमा जापान सरकारको महत्त्वपूर्ण योगदान रहेको बताए । समारोहमा जापान नेपाल विकास मञ्चका नवनियुक्त अध्यक्ष तथा जापान सरकारका पूर्व अर्थ सहायक मन्त्री ओदाचीले मञ्चले हरेक क्षेत्रलाई समेट्ने बताए । जापान र नेपालको सुमधुर द्विपक्षीय सम्बन्धलाई अब व्यापार, लगानी र रोजगारी प्रवर्द्धनका माध्यमबाट निजी क्षेत्रले पनि सहभागिता जनाउन अपरिहार्य रहेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया