काठमाडौँ – नेकपा एमालेले तस्करीको झण्डै सय किलो सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने अडान लिएपछि आजको बैठक बस्दै नबसी स्थगित भएको छ । सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।
सोमबार सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलमा एमालेले उच्चस्तरीय समिति गठन नभएसम्म अवरोध जारी राख्ने अडान राखेको थियो । एमालेले साउन १० गते पनि उच्चस्तरीय समितिको माग गर्दै प्रतिनिधिसभा अवरोध गरेको थियो । एमाले सचेतक महेश बर्तौलाले छलफलमा आफ्नो कुरा राखेको बताए ।
‘हामीले हाम्रो कुरा राख्यौ तर कुनै सहमति भएको छैन’, बर्तौलाको भनाइ छ ।