काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बैशाख ७ गते ६ घण्टा पूर्णरुपमा बन्द हुने भएको छ । विमानस्थल कार्यालयले मंगलबार सूचना प्रकाशित गरी वैशाख ७ गते बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुयान उडान–अवतरण बन्द रहने जनाएको छ ।
विमानस्थलमा यात्रुहरुको सुरक्षामा थप अभिवृद्धि गर्ने उद्धेश्यले विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान कार्य जारी रहेको र सोही क्रममा विमानस्थल भित्रको विद्युत आपूर्ति अवरुद्ध हुने भएकोले उडान अवतरण बन्द रहने सूचनामा जनाइएको छ ।
सो समयमा यात्रा गर्ने यात्रुहरुले सम्वन्धित एयरलाइन्ससँग सम्पर्क गरी आवश्यकता अनुसारको व्यवस्था मिलाउन पनि विमानस्थलले आग्रह गरेको छ ।