काठमाडौं – ललितपुरको ग्वार्को चोकमा बन्न लागेको देशकै पहिलो फ्लाइओभर (ओभर पास)को निर्माण सुरु भएको छ । निर्माण सुरु भएको १४ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आरसी, समानान्तर र रेलिग्रेले फ्लाइओभर निर्माणको ठेक्का पाएको सडक विभागले जनाएको छ । यो फ्लाइओभर निर्माणका लागि १७ करोड ६८ लाख रुपैयाँ लगानी हुने अनुमान छ ।
यस फ्लाई ओभरको कुल लम्बाइ ४९० मिटर हुनेछ । त्यसमा बालकुमारी तर्फबाट दुई सय ८० मिटर लामो र्याम र सातदोबाटोतर्फबाट एक सय ७५ मिटर लम्बाइको र्याम बनाइनेछ । बीचको सुपर स्ट्रक्चरको लम्बाइ भने ३५ मिटर लामो हुने बताइएको छ ।
फ्लाई ओभरको उचाइ अन्तर्राष्ट्रिय मापदण्डअनुसार ६ मिटरको हुनेछ । सडक विभागले ट्राफिक व्यवस्थापन गर्न रिङरोडको ग्वार्काे, सातदोवाटो र एकान्तकुना चोकमा फ्लाईओभर बनाउने योजना अघि बढाएको छ ।
काठमाडौं उपत्यकामा धेरै सवारी साधन जाम हुने क्षेत्रमध्ये ग्वार्को पनि एक हो । यहाँ फ्लाईओभर निर्माण सकेपछि अन्य चोकमा पनि क्रमशः फ्लाईओभर निर्माण गर्दै जाने विभागको योजना छ ।