काठमाडौं । स्थानीयको चुल्होमा मात्र होइन, ‘कोसेली’ बनेर सात समुद्रपारि भान्सामा पनि पाक्छ गण्डकीको असला । अहिले बागलुङ, म्याग्दीलगायत जिल्लाबाट असला माछा कोसेलीका रुपमा विदेश पठाउने प्रचलन बढेको छ ।
सुकुटी पारिएको माछा महँगो भाउमा किनेर प्रवासमा रहेका आफन्तसम्म पठाउने गरिन्छ । देश बाहिर पनि बागलुङको दरमखोलाको असला माछा रोजाइमा छ । स्वाद र बनावट दुवै कारणले त्यहाँको असला माछा उत्कृष्ट मानिन्छ । गलकोट नगरपालिका-७ मल्मकी उषा पौडेलले अमेरिकामा बस्ने दिदीका लागि यसपालि सोही माछा कोसेलीका रुपमा छानिन् ।
सुकाएको माछा किन्दा भाउ भने महँगो पर्न गएको उनको भनाइ छ । व्यवसायीले पनि विदेशमा कोसेली पठाउनेलाई लक्षित गरी माछाको सुकुटी बनाउने गर्छन् । ‘बढीजसो कोसेलीकै रुपमा बिक्री हुन्छ’, स्थानीय व्यवसायी बाबुराम केसीले भने, ‘पोखरा, काठमाडौं जस्ता ठाउँमा पनि जान्छ ।’
आलो माछालाई हप्तौंसम्म आगोमा सेकाएर सुकुटीको रुपमा बेच्ने गरिएको उनको भनाइ छ । आलो माछाको मूल्य भने प्रतिकिलो १५ सय देखि १ हजारसम्म पर्छ । आलोको भाउ बढेसँगै वर्षेनी ‘सुकुटी माछा’ को भाउ पनि बढ्दै गएको छ । अर्का व्यवसायी कृष्णकुमारी केसीका अनुसार दुई वर्षअघिसम्म ७ हजार पर्ने माछा अहिले १० हजारसम्म पुगेको छ । चार वर्षअघि जम्मा ५ हजार मूल्य थियो ।
गाउँमा भन्दा विदेशमा लानेले माछालाई महँगो मूल्य तिर्न पनि तयार हुन्छन् । छुट्टिमा नेपाल आएकाले विदेश फर्कदा माछा कोशेली लिएर जाने चलन नै बसेको छ। व्यवसायीका अनुसार धेरै लानेमा जापानमा बस्नेछन् । माग र रोजाइअनुसार माछा उपलब्ध गराउन व्यवसायीलाई भ्याइनभ्याइ छ ।