काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखा भक्तपुरमा विदेश अध्ययन गर्न अध्ययन अनुमति लिनेको आइतबार बाक्लो भिड थियो । उपस्थित सबै विद्यार्थी किशोर किशोरी समूहका थिए । उनीहरू जसरी पनि अनुमति लिएर विदेशमा अध्ययनका लागि उड्ने तरखरमा देखिन्थे ।
स्वदेशमा चार वर्षे स्नातक तह पाँच वर्षमा पनि पूरा नहुनु, कोर्ष परिमार्जन नहुनु, कमाइ र पढाइको व्यवस्था नहुनु र वार्षिक परीक्षाको नतिजाका लागि एक वर्षसम्म कुर्नुपर्ने जस्ता बेथितिका कारण विद्यार्थीमा स्वदेशी शिक्षाप्रति निराशा बढ्दै गएको कैलालीका दिनेश ठकुल्लाले बताए । उनी अष्ट्रेलियाको एक विश्वविद्यालयको अफर लेटर लिएर एनओसी लिन काठमाडौं आएका हुन् । तीन दिनदेखि एनओसीका लागि सास्ती खेपेका उनी जसरी भए पनि विदेशिन चाहन्छन् । आइटिमा स्नातक अध्ययनका लागि उनी अष्ट्रेलिया जान लागेका हुन् ।
२० वर्षीय दिनेश परिवारमा एक्लो सन्तान हुन् । ‘म विदेश रहरले होइन, बाध्यताले जान लागेको हुँ । नेपालमा अध्ययन गर्दा आमाबुवामाथि आर्थिक रूपमा भर पर्नुपर्छ । घरबाट चार वर्षको रासनपानीको व्यवस्था गरी काठमाडौं आइन्छ तर कोर्ष पाँच वर्षभित्र पनि पूरा हुँदैन,’ उनले भने, ‘बरु विदेशमा राम्रो शिक्षा पनि पाइने र लगानी गरेको रकम आफैंले कमाएर उठाउन सकिने व्यवस्था छ । म कमसेकम आत्मनिर्भर त बन्छु । हाम्रो देशमा विद्यार्थीका लागि त शैक्षिक लोनको पनि व्यवस्था छैन । बरु विदेश जानेलाई बैंकले लोन पनि दिने रहेछ ।’
दिनेशमात्र होइनन्, पछिल्ला वर्षहरूमा हरेक महिना वैदेशिक अध्ययनका लागि अनुमति लिनेको संख्या तीव्र रूपमा बढिरहेको छ । चालु आर्थिक वर्षको आठ महिनामा ७२ हजार ६ सय १० जनाले वैदेशिक अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति (नो अब्जेक्सन लेटर–एनओसी) लिएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ५४ हजार २८ जनाले अनुमति लिएका थिए । गत आर्थिक वर्षभरिमा १ लाख २ हजार ५ सय ७५ जनाले वैदेशिक अध्ययनका लागि अनुमति लिएका थिए ।
मन्त्रालयबाट अनुमति लिएका विद्यार्थीमध्ये सबैभन्दा धेरै जापान जाने छन् । गत आर्थिक वर्षमा अध्ययन अनुमति लिएका विद्यार्थीमध्ये जापानका लागि ८ हजार १ सय ४६ जना छन् । अस्ट्रेलियाका लागि ४ हजार ८ सय ४९ जना, भारतका लागि २ हजार ७ सय ९७, कोरियाका लागि २ हजार ६ सय ४३, क्यानडाका लागि २ हजार ५ सय १६ र अमेरिकाका लागि २ हजार ३ सय ५४ जनाले मन्त्रालयबाट अनुमति लिएका छन् ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसरा चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघ) मा वैदेशिक अध्ययनकै लागि नेपालबाट ४३ अर्ब ७४ करोड रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्षको सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा उक्त शीर्षकमा बाहिरिएको रकम ९३.६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको माघसम्म विदेशमा अध्ययनका लागि २२ अर्ब ५९ करोड रुपैयाँ बाहिरिएको थियो । चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक अध्ययनका लागि बाहिरिएको रकम कोभिड संक्रमणअघिको वर्षभरिमा सोही शीर्षकमा बाहिरिएको भन्दा बढी हो ।