Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – बजेटमा करको दर हेरफेर गरेको आरोप लागेका पूर्व नायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पूर्व नासु घिमिरेविरुद्ध दुई करोड १४ लाख ४६ हजार बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो । उनले पदमा रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

घिमिरेले एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा राजश्व हिनामिना गरी राजश्व छलेको, गैरकानुनी काम गरी राजश्वका विभिन्न कार्यालयबाट करोडौं सम्पत्ति कमाएर श्रीमतीलगायत परिवारका सदस्यहरुको नाममा लुकाएको अभियोगसहित अख्तियारले मुद्दा चलाएको हो ।

उनले त्यो रकमले विभिन्न कम्पनीहरुमा लगानी, शेयर र जग्गा खरिद लगायतमा लगानी गरेर भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो । घिमिरेले २०५२ कात्तिक २८ देखि २०७९ पुस १२ गतेसम्म सार्वजनिक जिम्मेवारीमा रहँदाको पारिश्रमिक, श्रीमती शारदा गौतमको पारिश्रमिक, छोरीको पारिश्रमिक आय, कर्मचारी संचयकोष लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा, जग्गा बिक्री, घर बहाल (घर भाडा), कम्पनी लाभांश वापत प्राप्त वैधानिक आय, श्रीमती शारदा गौतमले अभिकर्ता कमिसन वापत प्राप्त रकम, राजश्व अनुसन्धान विभागबाट प्राप्त पुरस्कार, शेयर बिक्री, नगद लाभांश आय (शेयर प्रतिफल) र अवकाश पश्चात प्राप्त आयसमेत गरी जम्मा ५ करोड २५ लाख १६ हजार ३२७ रुपैयाँ ४४ पैसाको वैधानिक आयस्रोत खुलेको अख्तियारले जनाएको छ ।

उनले जम्मा गरेको ७ करोड ३९ लाख ६२ हजार ९८४ रुपैयाँ ६७ पैसामध्ये २ करोड १४ लाख ४६ हजार ६५७ सय २४ पैसाको वैधानिक स्रोत पुष्टि हुन नसकेकोले भ्रष्टाचार मुद्दा चलाइएको अख्तियारले जनाएको छ । उनीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन¸२०१७ को दफा १५ एवम् प्रचलित भ्रष्टाचार निवारण ऐन¸२०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूरमा २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँ २४ पैसा विगो कायम गरी मुद्दा चलाइएको हो ।

उनले गैरकानुनी रुपमा आर्जन गरेको र श्रीमती शारदा गौतमको नाममा हाल कायम स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र अपुग विगोको हकमा स्रोत खुलेको सम्पत्तिबाट साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा ३, दफा १६ (ग), दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ ख. बमोजिम जफत गर्न पनि अख्तियारले माग गरेको छ ।

अख्तियारले घिमिरे र पत्नी गौतमलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई निजको नाममा हाल कायम सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदावीसहित अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको छ ।

तपाईको प्रतिक्रिया