काठमाडौँ – इलामका युवा उद्यमी प्रेम प्रसाद आचार्यले आफैँलाई आगो लगाएर आत्मदाह गरेपछि देश नै स्तब्ध भएको छ । यो घटनामा स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीको नाम गलत रुपमा मुछिएको छ । उनीमाथि कीर्तिपुरको अस्पतालको आइसियु वार्डमा स्वास्थ्य मापदण्डलाई बेवास्ता गर्दै गएको र तस्बिर तथा भिडियो खिचेको आरोप छ । त्यति मात्र होइन । पञ्जा नलागाई बिरामीलाई छोएको, सुम्सुम्याएको साथै मिडियाबाजि गरेको भनेर एक समुहले उनको विरोध गरिरहेका छन् । अब भने उनले सामाजिक सञ्जालमा लामो पोस्ट राख्दै यो घटनाको विस्तृत विवरण सहितको जवाफ दिएकी छिन् ।
उनले फेसबुकमा लेखेकी छन् ,‘खबर सुन्ने बित्तिकै हतार हतार म र मेरो स्वकिय मात्र गएका थियौँ । हामी अस्पतालको गेटमा पुग्दा नै त्याहाँ उपस्थितहरुले ओहो राज्यमन्त्री आउनुभयो भन्दै हामीलाई माथि आइसीयूसम्म पुर्याउन आउनुभयो । ड्युटीको डाक्टर भने आइसीयूको ढोकासम्म मलाई लिन आउनुभएको थियो । अहिले सबैको हात-हातमा मोबाइल भएको अवस्थामा तत्पश्चात त्यहाँ भित्र को कसलाई छिर्न दिइयो, को को छिर्यो , को छिरेन , को बिरामीको अभिभावक, को मिडिया थियो हामीलाई थाहा पनि भएन र कसले कहाँ कसरी किन कहाँबाट भिडियो खिच्यो त्यसबारेमा हामी जानकार पनि छैनौं यदि मिडिया बाजी नै गर्नु थियो त त्यहाँ अन्य भिजिटरहरुले मास्क नलाउनुभएको अवस्थामा म आफू पनि मास्क खोलेरै चिनिएरै फोटो खिचाउँथे होला ।’
उनले ज्यान गुमाइसकेका व्यक्तिको मृत्यु माथि राजनीति नगर्न आग्रह समेत गरिन् ।