काठमाडौँ – नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्युपछि सामाजिक सञ्जालमा तरंग उत्पन्न भएको छ।गृहमन्त्री रवि लामिछाने, सांसद, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई, विभिन्न राजनीतिक दलका नेता, कलाकार, बुद्धिजिवीलगायतले बोलेका छन्। आचार्यको उपचारकै क्रममा बुधबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको थियो।
उनको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की मंगलबार साँझनै कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेकी थिइन्। उनले आचार्यलाई भेटेर स्वास्थ्य अवस्था बुझेकी थिइन्। यसैबीच उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले आफैंलाई आगो लगाएर जलाउने प्रेमप्रसाद आचार्यको निर्णयमा आफूहरू दोषी रहेको बताएका छन्। बुधबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले आचार्यको आत्माको चीर शान्तिको कामना गरेका हुन्।
यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहको घटनाले राज्य लज्जित भएको टिप्पणी गरेका छन्। बुधबार बिहान फेसबुकमा एक टिप्पणी गर्दै नेता कोइरालाले युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारण खोजेर त्यस्तो परिस्थिति दोहोरिन दिनु नहुने भन्दै सचेतसमेत गराएका छन्।‘प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि दिउँसो आफैंलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको छ,’ उनले भनेका छन्, ‘हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे बहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको सिर्जना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने?’
यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य भएको आरोप लगाएका छन्।आचार्यको मृत्युपछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आत्मदाहका धेरै कारण र संकेतहरु भए पनि ठूलो कारण राज्य भएको बताएका हुन् ।नागरिकका रुपमा, जनप्रतिनिधिका रुपमा, सत्ताका अगुवाका रुपमा, सञ्चारमाध्यमका रुपमा सबै असफल भइरहेको उनले उल्लेख गरेका छन्।एकैपटक धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेको बालेनले भनेका छन् ।
‘सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो, उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेका हरेक चरणमा राज्य असफल भएको छ’, बालेनले भनेका छन्, ‘राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन्। नागरिकले गर्नुपर्ने सामान्य दायित्व पूरा गर्नुपर्ने चेत हाम्रो छैन, हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन।प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ती सिपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरुको निर्माण गनेृमा असाध्यै संवेदनशील भएर काम गरिरहेको उनले भनेका छन्।
यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रेम आचार्यको आत्मदाह मोहम्मद बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि भन्ने आशंका गरेका छन्।उनले गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो त भनि प्रश्नसमेत गरेका छन्।‘प्रेम आचार्यजीको आत्मदाह मोहम्मद बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि, भन्न सकिन्न तर गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो। श्रद्धाञ्जली,’ उनले भनेका छन्।
यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आत्मदाह गलत भए पनि आत्मदाहको अवस्थासम्म पुग्नुपर्ने अवस्थाको खोजी हुनुपर्ने बताए। ‘आत्मदाह गलत हो, तर आत्मदाहको अवस्थासम्म पुग्नुपर्ने अवस्थाको खोजी हुनुपर्छ। प्रेम आचार्यले उठाएका कतिपय विषयलाई सरकार, दल र समाजले यथोचित ध्यान दिनुपर्छ, सम्बोधन गर्नुपर्छ’, उनले भनेका छन्,‘शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।’यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले युवा उद्यमी आचार्यको प्रकरण निकै मार्मिक भएको भन्दै बेलैमा यसलाई गम्भीरतापूर्वक लिएर उपचार खोज्न सुझाएका छन्।‘यी उद्यमी युवाको आत्महत्या प्रकरण निकै मार्मिक छ। सबैले बेलैमा गम्भीरतापूर्वक लिउँ र उपचार खोजौं। अन्यथा युवाहरू विदेश पलायन हुने वा देशभित्रै आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएमा देश ठूलो संकटमा फस्नेछ’, उनले भने, ‘आरोपप्रत्यारोप होइन आत्मसमीक्षा गरौं र सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गरौं!’
यस्तै गायक राजेशपायल राईले प्रेम आचार्यले किन मृत्यु रोजे भन्दै लाखौ प्रेमहरूको सपना नतुहाउन सरकारलाई आग्रहसमेत गरेका छन्।‘देशमा लाखौं प्रेम आचार्यहरू छन् तर दुर्भाग्य एक प्रेमले आत्मदाह गरे यो नराम्रो भयो उहाँको आत्माले शान्ति पाओस् घर, आफन्तजनलाई सहनसक्ने शक्ति देउ सुम्निमा पारूहाङ!!’, उनले भने, ‘अब रह्यो उनीले किन मृत्यु रोजे यी लाखौं प्रेमहरूको सपना नतुहाउ सरकार!! बाँकी उनलाई न्याय मिलोस्।’यस्तै सत्तारूढ दल राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले प्रेमले आत्मदाह गर्नु अगाडि लेखेको स्ट्याटसले राज्य नाङ्गो भएको बताएका छन्।उनले यो गरिखान्छु भन्ने तमाम नेपालीको पीडा भएको बताएका छन्। ‘प्रेम प्रसाद आचार्यले आत्मादाह गर्नुभन्दा अगाडि लेखेको स्ट्याटसले यो राज्य ब्यवस्था नाङ्गो भएको छ। यो गरिखान्छु भन्ने तमाम नेपालीहरूको पीडा हो यो विषयलाई संसदीय समिति गठनगरि सूक्ष्म ढङ्गले अध्ययन र अनुसन्धान गरियोस्’, उनले भने।