काठमाडौँ – नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले प्रतिपक्षी दलबाट उम्मेदवार बनेकालाई उपसभामुख पदमा निर्वाचित गरिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा कांग्रेसका तर्फबाट उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई प्रस्ताव गर्दै पाण्डेले सभामुख र उपसभामुख सत्तापक्षबाटै हुन नहुने बताएका हुन् । सत्तापक्षबाट एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित भइसकेका छन् । जसकारण उपसभामुखमा कांग्रेसकी यादवलाई निर्वाचित गरिनुपर्ने पाण्डेको भनाइ छ ।
सत्तापक्षबाट सभामुख भएपछि उपसभामुखमा प्रतिपक्षबाट हुँदा सदनलाई एकताबद्ध बनाएर लैजान सकिने दाबी गर्दै उनले संविधानको भावना पनि पक्ष र प्रतिपक्षबाट सभामुख र उपसभामुख चयन गर्ने रहेको जिकीर गरे ।
साथै सांसद पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि नै धावा बोल्ने काम गरिरहेको आरोप पनि लगाएका छन् । उनले संविधानले नचिनेको ‘उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँ’ भन्दै ओलीले कार्यपालिकामाथि नै धावा बोल्ने काम गरिरहेको बताएका हुन् । प्रतिनिधिसभा विघटन गर्नु संविधान विपरित हो भन्ने अदालतको फैसलामाथि नै अपमान गर्ने काम ओलीले गरिरहेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे ।