काठमाडौँ – नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले फरार सांसद लक्ष्मी महतो काेइरीलाई पक्राउ गर्न सरकार गम्भीर नबनेको आराेप लगाएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा उनले गृहमन्त्रालयले फरार सांसद पक्रन पत्र काट्नु अनुचित रहेको बताए । गृह मन्त्रालयले अभियुक्तलाई पक्राउ गर्नुको साटो विज्ञप्तिबाजी गरेकाे उनकाे भनाइ छ ।
‘माननीय सांसदले अपराधी चिनाइदिनुपर्ने हो । मन्त्रालय अपराधी पक्राउ गर्नका साटो विज्ञप्ति जारी गरेर बसेको छ’, उनले भने, ‘सदनभित्र हतकडी लिएर आउनुस् भनेको छौँ र ? अपराधी पक्रन भनेका हौँ । सभामुखसँग रुलिङ मागेका हौँ ।’
उनले उच्च अदालतले समेत पक्राउ गर्न आदेश गरेको मान्छेलाई किन पक्राउ गर्न नसकेको भन्दै पश्न गरे । ‘गृहमन्त्री अपराधी पक्राउ गर्नभन्दा पनि विज्ञप्ति जारी गरेर मिडियामा सस्तो लोकप्रियता कमाउनतिर लाग्नुभएको छ । अब सांसदहरूले अपराधी चिनाइदिनुपर्ने हो ?’ खतिवडाको प्रश्न थियो ।