काठमाडौँ – फुटबल खेलको प्रतिस्पर्धा चलिरहेको खेल मैदानमा लगेर एकाएक हेलिकोप्टर ल्यान्ड गरेपछि हेलिकोप्टरका पाइलटमाथि स्थानीय युवाहरुबाट कुटपिट भएको छ।बिहीबार अपराह्न स्याङ्जाको वालिङ नगरपालिका–८ मा रहेको खेल मैदानमा प्रथम वालिङ गोल्ड कपमा दोस्रो सेमिफाइनलतर्फ आयोजक वालिङ रातो र एभनिर एफसी बीचको खेल चलिरहेको थियो। मैदानमा खेल चलिरहेकै बेलामा प्रभु हेलिकोप्टर ल्यान्ड गरिएपछि हेलिकोप्टरका क्याप्टेन रमेश डङ्गोलमाथि आक्रोशित युवाले हातपात गरेका हुन्।
उनीहरूको कुटाइबाट क्याप्टेन डङ्गोलको नाक तथा मुखबाट रगत निस्किएको छ। हेलिकोप्टर ल्यान्ड गर्दा मैदानका खेलाडीहरू भागेकाले ठुलो दुर्घटना हुनबाट भने जोगिएको छ। पाइलट डङ्गोलले भने यात्रुको आग्रहमा बाध्य भएर खेल मैदानमै हेलिकोप्टर अवतरण गरेको बताएका छन्। अनुमति बिना खेल मैदानमा झारिएको हेलिकोप्टरलाई कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी गराएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बताएका छन्। हेलिकोप्टर वालिङ ल्याउने युवालाई समेत कारबाही गरिने उनको भनाइ छ।