काठमाडौँ – नेपालमा आइतबार तीन दशक यताकै सबैभन्दा ठूलो हवाई दुर्घटना हुँदा ७१ जनाको ज्यान गएको छ । वेपत्ता १ जनाको खोजी भइरहेको छ । विमानमा रहेका ६८ यात्रुमध्ये ५३ जना नेपालीसहित ५ भारतीय, चार रुसी र दुई कोरियाली नागरिक रहेका थिए ।
चालक दलका चार जना पनि नेपाली नै थिए । जहाजमा विदेशी नागरिकमध्ये बेलायत, अष्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक–एक जना यात्रु रहेका छन् । बीबीसीका अनुसार जहाजमा अष्ट्रेलियाका २९ वर्षका शिक्षक तथा साइकलिस्ट देखि कोरियाका सैनिकसम्मका व्यक्ति थिए ।
अष्ट्रेलियाका शिक्षक तथा साइकलिस्ट माइरोन लभ
अष्ट्रेलियाका अधिकारीहरूले सिड्नीका २९ वर्षीय शिक्षक तथा साइकलिस्ट माइरोन लभ दुर्घटनामा मारिएका पुष्टि गरेका छन् । माइरन लभको मृत्युले उनको गृह सहर शोकमा डुबेको छ । उनका साथीहरुले माइरन एक अद्भुत व्यक्ती भएको र उनीसँग धेरै क्षमता रहेको स्मरण गरेका छन् । माइरन दयालु, उर्जावान र रमाइलो मानिस रहेको र उनको मृत्युको खबरले आफ्नो धड्कन नै बन्द हुने अवस्थामा पुगेको एक स्थानीयले बताएका छन् ।
एक दक्षिण कोरियाली सैनिक र उनको छोरा
छोरालाई नेपाल घुमाउन आएका दक्षिण कोरियाली एक सैनिक र उनका छोराको पनि विमान दुर्घटनामा दुखद् निधन भयो । ४५ वर्षीय यु दक्षिण कोरियाली सेनामा सर्जेन्ट थिए। १४ वर्षका छोराको स्कुलको जाडो बिदा मनाउन बाबु छोरा नेपाल आएका थिए । उनीहरुले पोखरा आसपासमा हाइकिङको योजना बनाएका थिए ।
यात्रा सुरु हुनुअघि उनीहरुले कोरियामा रहेका परिवारलाई आफूहरु भारतबाट नेपाल जाने र त्यहाँ हाइकिङ गर्ने सन्देश पठाएका थिए । तर त्यसपछि उनीहरुको परिवारले घुमघामको होइन दुर्घटनाको समाचार सुने । यस्तै भारतबाट आएका ४ जना र बाँकी विदेशीको पनि दुखद् निधन भएको छ ।