काठमाण्डाै – पश्चिम तराईका थारू समुदायमा यतिबेला माघीको रौनक छाएको छ । थारू समुदायको मुख्य पर्व माघी भोलि मनाइने भएकाले केही दिनअघिदेखि नै थारू बस्तीमा चहलपहल बढेको छ । कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् । माघी पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा समेत मान्ने गर्छन् । यस पर्वलाई थारू समुदायले बरका तेउहार अर्थात ठूलो पर्वका रुपमा मनाउँछन् ।
माघीका अवसरमा थारू संस्कृति झल्कने नृत्यले गाउँघर गुञ्जयमान हुने गरेको छ । गाउँ थारू बस्तीमा युवायवती माघीमा मघौटा, सखिया र हुरदङ्गा नाच नाच्ने गर्छन् । माघे सङ्क्रान्तिको अघिल्लो दिन आजथारू समुदायमा जिता मार्ने अर्थात् सामूहिक रुपमा सुँगुर, बङ्गुर मारेर खाने गरिन्छ । आज रातभर जाग्रम बसेर भजन कीर्तन गर्ने चलन छ ।
भोलि माघीका दिन बिहानै नजिकैको खोला नदीमा गएर नुहाउने गरिन्छ । नुहाएपछि आफूभन्दा ठूला मान्यजनसँग आशीर्वाद लिने र साथीभाइसँग अङ्कमाल गरी माघीको शुभकामना आदानप्रदान गर्ने गरिन्छ । थारू समुदायले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन् । माघीमा बनाएको योजनाअनुसार नै परिवारका सदस्यहरु सबै आ–आफ्नो काममा लाग्छन् । घर छुट्टिने, खेतबाली लगाउने निर्णय पनि माघीमै गरिन्छ । माघीमा गाउँका सबै जना जम्मा भएर वर्षदिनका लागि बड्घर अर्थात गाउँको अगुवा, चौकीदार र गुरुवा चयन गर्ने गरिन्छ ।
माघीमा चयन गरिने अगुवाले वर्ष दिनभरि गाउँको विकास निर्माण, सुरक्षा, सूचना, कुलोपानी र पूजाआजामा अगुवाइ गर्ने गर्छन् । माघीको अवसरमा ठाउँठाउँमा मेला महोत्सव पनि हुने गर्छ । थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा आज र भोलि काठमाण्डौको टुँडिखेलमा महोत्सव गर्न लागिएको छ ।
महोत्सवमा थारू सांस्कृतिक झाँकी, र्याली, विभिन्न परिकार, हस्तकला, परम्परागत सामान, पुस्तक प्रदर्शनी एवम् बिक्री, मोटरसाइकल र्याली र विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ । महोत्सवमा थारू समुदायले माघी पर्वमा खाने विशेष खानाका परिकार राखिँदैछ । यस्तैथरूहट झापादेखि कञ्चनपुरसम्मको पौराणिक सांस्कृतिक नृत्य र गीत पनि प्रस्तुत हुँदैछ ।