काठमाडौँ – प्रदेश १ को सभामुखको निर्वाचन आज हुँदैछ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी परेको छ । प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे बसेको प्रदेश सभा बैठकले गौतमलाई निर्वाचित भएको घोषणा गर्दै छ । प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्ने छन् ।
माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए । प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ । सत्तारुढ गठबन्धनबिच भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री र उपसभामुख नेकपा एमालेको भागमा परेको छ ।
आजै गौतमले शपथ लिनेछन् । संसद् सचिवालयका प्रमुख गोपाल पराजुलीका अनुसार १ बजे शपथ ग्रहण गर्ने छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउने छन् ।