काठमाडौं – बागलुङ नगरपालिका-८ स्थित सिगानामा यस वर्ष झण्डै तीन करोडको सुन्तला उत्पादन भएको छ। उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ ।
सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ । ‘सुन्तला जोन’का रूपमा जिल्लामा आफ्नो परिचय बनाउँदै आएको यहाँका किसानले यसवर्ष सुन्तला बिक्रीबाट साढे दुई करोड बराबरको सुन्तला बिक्री गरिसकेका छन् भने अझै ५० लाखको सुन्तला बिक्री हुन बाँकी छ ।
आठ रोपनी जग्गामा व्यावसायिक सुन्तलाखेती गरेका अगुवा किसान अनन्तबहादुर खड्काले यो वर्ष पाँच लाखमा आफ्नो सुन्तला बगान पोखराका व्यापारीलाई बिक्री गरेको बताए । उनले यस वर्ष सुन्तलाको उत्पादन बढे पनि मूल्य भने घट्न थालेको गुनासो गरे ।
यस वर्ष सुन्तलाको राम्रो दाना फलेको भन्दै अगुवा किसान राम बहादुर खड्काले केहीले बोट नै ठेक्कामा दिएका र केहीले सुन्तला टिपेर बागलुङ बजार र पोखराको बजारमा पठाएको जानकारी दिए । उनले औँशे किराको प्रकोपले सुन्तलामा सामान्य क्षति गरे पनि सुन्तलाको उत्पादन गत वर्षको तुलनामा बढेको र दानासमेत राम्रो लागेको बताए । गत वर्ष यहाँका किसानले सुन्तला बिक्रीबाटै दुई करोड ५० लाख भित्र्याएको वडा कार्यालयको तथ्यांक छ ।
यस वर्ष पनि सुन्तला बिक्रीको तथ्यांक संकलन गर्न थालिएको जानकारी गराउँदै वडाध्यक्ष राजु कार्कीले सुन्तला बिक्रीकै चरणमा रहेकाले तथ्यांक संकलनमा ढिलाइ भएको बताए । उनले बिक्री लक्ष्यअनुसार तीन करोडको सुन्तला उत्पादन भएको बताए । पोखराका व्यापारीले बोटमै ठेक्कामा खरिद गरेर सुन्तला लैजाने गरेका छन् भने साना व्यापारीले डोकोमा सुन्तला खरिद गरेर बजार पुर्याउने गरेका छन् ।