काठमाडौं – ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौँमा मेट्रो रेलको विकल्प नभएको बताएका छन् । शनिबार ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसका अवसरमा उनले मेट्रो रेल धेरै महंगो छ भनेर पछि हट्न नहुने पनि धारणा राखे ।
अब पनि मोटरसाइकलको बिक्री बढाएर उपत्यकामा ट्राफिक जाम बढाउनु भन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने उनको भनाइ छ । ‘काठमाडौँ पत्यकामा अब मेट्रो रेलको विकल्प छँदै छैन । आज निर्णय गर्नसक्यौं भने अर्को १० देखि १५ वर्षसम्ममा त्यो सकिन्छ । मेट्रो ज्यादै महंगो छ रे भन्ने सुन्ने गरेको छु । सस्तो के छ त रु अबको १५ वर्षपछि काठमाडौं उपत्यका भित्रको जनसंख्या ६० लाख पुग्छ । यसको विकल्प के त यही मोटरसाइकल ल्याउने ’ मेयर महर्जनले भने ।
उनले मेट्रो रेलका लागि संघ सरकारको अनुहार हेरेर कहिल्यै सम्भव नहुने भन्दै काठमाडौं र ललितपुर महानगरपालिकालगायत काठमाडौं उपत्यकाका १८ पालिकाको राम्रो भूमिका यसमा हुनुपर्ने बताए । विशेष गरी मेट्रो रेल सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले प्रमुख भूमिका खेल्नुपर्ने उनले उल्लेख गरे ।