काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ। बैठक आइतबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ। बैठकमा मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समीक्षा, सरकार निर्माणलगायत विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ।
यसअघि शनिबार बसेको पदाधिकारी बैठकले नयाँ सरकार गठनमा सबै विकल्प खुला गरेको बताएको थियो। चुनावी समीक्ष गर्न बसेको बैठकमा अपेक्षाअनुसार चुनावी मतपरिणाम नआएको निष्कर्ष निकालेको थियो। बैठकमा पाँच दलीय गठबन्धन नछोड्ने तर एमालेसँग मिलेर सरकार गठनको विकल्प खुला राख्ने नेताहरुले बताएका थिए।
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनका विषयमा एमालेसँग मिल्न सकिनेलगायत विकल्प खुला राखिएको बताएका थिए। बैठकमा नेताहरुले सत्ता गठबन्धनको सबै मत ‘ट्रान्सफर ‘ नहुँदा पार्टीका धेरै उम्मेदवारहरुले हार व्यहोर्नुपरेको धारणा राखेका थिए।
सत्ता गठबन्धन दल माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ १७ सिट मात्रै जित हात पारेको छ। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सबैभन्दा धेरै नेपाली कांग्रेसले ५७ स्थान जितेको छ। आजको बैठकमा पनि सरकार निर्माणमा माओवादी केन्द्रको भूमिका के रहने भन्नेबारे छलफल हुने बताइएको छ।