टोकियो – जापानमा २०२० मा मृत्युपश्चात् अंगदान गर्नेको संख्या घटेको छ ।
जापान अर्गान ट्रान्सप्लान्ट नेटवर्क (JOT), देशको एकमात्र अंग खरिद र वितरण गर्ने संस्थाले २०२० मा अंग दाताहरूको संख्या ७८ जना मात्र रहेको जानकारी दिएको छ । यो संख्या कोरोना महामारी फैलनु अगाडी २०१९ मा १२६ रहेको थियो ।
यस वर्ष पनि अंग दान सुस्त गतिमा नै देखिएको छ । अक्टोबरको अन्त्यसम्म, दाताहरूको संख्या ५९ रहेको र प्रवृति हेर्दा यस वर्ष पनि वार्षिक औसत संख्या(८०-१००) भन्दा कम अंग दान हुन सक्ने अनुमान गरिएको छ ।जापान अंग प्रत्यारोपण कानूनले अंग दानको लागि व्यक्तिले जिउँदो छँदै मञ्जुरीनामा दिएमा वा मस्तिष्क-मृत बिरामीहरूका आफन्तहरूको सहमतिको आधारमा अंग दान गर्न अनुमति दिएको छ । मस्तिष्क मृत्यु भएको खण्डमा कुनै पनि उपचारबाट बिरामीलाई सामान्य अवस्थामा फर्काउन सकिन्न । यस्तो अवस्थामा चिकित्सकले मस्तिष्क मृत्यु भएको घोषणा गर्छन् । मस्तिष्क मृत्यु भएपछि सम्बन्धित अस्पतालले राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई खबर गर्छन् । केन्द्रबाट आएको टोलीले परिवार राजी भएको खण्डमा सोही अस्पतालमा शल्यक्रिया गरी दान गरिएको अंग निकाले प्रत्यारोपण केन्द्रमा लैजान्छन् ।
चिकित्सा विज्ञहरूले अंग दानमा आएको कमीको कारण कोरोना महामारीको त्रास रहेको बताएका छन् । महामारीको अवस्थाले गर्दा डाक्टरहरुले बिरामीका आफन्तहरूलाई अंग दान विकल्पको सुझाब प्रस्तुत गर्न गाह्रो बनाएको र अंग दाताहरूबाट अंग लिन पनि थप सावधानी अपनाउनु पर्ने भएकोले अंग दान प्रक्रिया चुनौतीपूर्ण भएको उनीहरुको भनाइ छ ।