काठमाडौं – अक्टोबरमा विन्डोज ११ रिलिज भएयता यसको डिजाइन र फिचरलाई लिएर धेरैथरी टिकाटिप्पणी भइरहेका छन् । प्रयोगकर्ताको प्रतिक्रियाको आधारमा माइक्रोसफ्टले पनि विन्डोज ११ मा धेरै परिमार्जन र सुधार गरिरहेको छ ।
भर्खरै मात्र कम्पनीले प्रयोगकर्ताकै टिप्पणीलाई सुनेर विन्डोज ११ को टास्कबार र स्टार्ट मेनुमा केही सुधार गरेको छ । विन्डोज ११ मा यसअघि मिति र समय देखाउने विजेट एउटा स्क्रिनमा मात्रै देखिन्थ्यो । अब भने एक भन्दा बढी मनिटरमा पनि यो विजेट देख्न सकिने छ ।
यो परिमार्जनले आफ्नो कम्युटर र ल्यापटपमा थप मनिटर जोडेर काम गर्नेहरुलाई सहज हुनेछ । योसँगै प्रयोगकर्ताले स्टार्ट मेनुमा आफूले चाहे अनुसार थप एपहरु पिन गर्न सक्ने छन् । विन्डोज ११ को सेटिङ भित्र पनि केही परिमार्जन गर्ने तयारी भएको कम्पनीले जनाएको छ ।विन्डोज ११ मा केही परिमार्जन भइरहे पनि प्रयोगकर्ताले धेरै माग गरेको ड्र्याग र ड्रप अप्सन भने हालसम्म पनि राखिएको छैन ।