फोटो पत्रकार पूर्णिमा श्रेष्ठको परिचय अब हिमाल आरोहीको रूपमा फेरिएको छ । त्यतिमात्रै होइन, उनी अन्नपूर्ण प्रथम र धवलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला पनि बनेकी छन् । उनले असोज १५ गते धवलागिरिको सफल आरोहण गरिन् । पूर्णिमाले सर्वोच्च शिखर सगरमाथासहित किलर माउन्टेन भनेर चिनिने मनास्लु, अन्नपूर्ण प्रथम र आमादब्लम हिमालको सफल आरोहण गरिसकेकी छन् । धवलागिरि दोस्रो प्रयासमा सफल भएकी उनी अरू हिमाल एकै पटकमा चढ्न सफल भइन् । उनी श्रेष्ठसँग आरोहणको आँट, अनुभव र अप्ठ्याराका विषयमा केन्द्रित रहेर समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-
फोटो पत्रकारिता गरिरहनुभएको थियो‚ हिमाल चढ्ने परिकल्पना कसरी गर्नुभयो ?
साँच्चै म हिमाल चढ्ने खालको देखिन्नँ । कसैले मेरो साथी हिमाल चढ्ने हो भनेर भन्यो भने यस्तो मान्छे कसरी चढ्न सक्छ भन्छन् । हिमाल चढ्न ‘लुक्स’ पनि छैन, मेरो प्रोफेसन पनि होइन । अझ जात पनि ‘काँतर’ हो रे । बाजेबराजुले कहिल्यै हिउँ छोएको छैन । म गोरखाको आरुघाटमा जन्मिएकी हुँ । हिमालकै काखमा हुर्किए तर, हिमाल चढ्ने सपना भने धेरै पछि अर्थात् केही वर्ष अघि मात्रै बुनेकी हुँ । उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ छिरे । पढाइसँगै फोटो पत्रकारितालाई पेसा बन्यो, यही पेसा आरोहणको सपना देखायो । विभिन्न यात्रा र हिमालका फोटो खिच्दै गर्दा सगरमाथा आधार शिविर फोटो खिच्नकै लागि पुगे । बाटोमा थुप्रै स्वदेशी तथा विदेशी आरोहीलाई भेटे । मेरो मनमा पनि अचानक म पनि हिमाल चढ्न सक्छु भन्ने सोच पलायो । अरू आरोहीको उत्साह देख्दा देख्दै म हिमालप्रति धेरै नै क्रेजी भएछु जुन पत्तो नै पाएन । पहिलो पटक म मनास्लु चढेँ, कुनै अनुभव थिएन । त्यसपछि सगरमाथा चुचुरोमा पाउँ राखे र धवलागिरिसम्म आइपुग्दा आर्थिक रूपमा म कमजोर भएँ । इच्छाशक्तिले मात्रै सफल आरोहण गरेको हुँ । मसँग धेरै पैसा भएर चढेको होइन ।
आरोहणको अनुभव सुनाइदिनू न !
हिमाल चढ्न जाँदा कुन पाइला अन्तिम र कुन श्वास अन्तिम हो भन्ने थाहै हुँदैन । हिमाल चढ्न जाँदा फेरि फर्किन्न जस्तो लाग्छ अनि कसैसँग लिएको सबै पैसा पनि तिरेर जान्छु । तर लक्ष्य लिएपछि मरिन्छ कि भनेर चिन्ता नहुँदो रहेछ । मृत्यु कहिल्यै बाधा बनेन, खुसी छु । पानी तिर्खा लागेको हुन्छ, थकाइ लागेको हुन्छ । कहिलेकाहीँ चाहिँ सोच्छु- ऋण खोजेर काल किन्न पो आएँ कि भन्ने । सापटी पनि म फर्केर तिर्छु भनेर मागेको हुन्छ । त्यतिबेला आफैँ मर्नका लागि पैसा तिरेर आएको हुँ भन्ने महसुस पनि हुन्छ । चिप्लिए कहाँ पुगिन्छ ? भन्ने प्रश्न हिउँमाथि हिँडिरहँदा मनमा खेलिरहन्छ । मनमनै आफ्नै मृत्युका हेडलाइन पनि फुरिरहन्छन् । बा-आमाले घरमा कुर्नुभएको छ, चुचुरोमा पुगेर फर्किनुपर्छ । मृत्युका हेडलाइन मनमै दबाएर चुचुरो पुग्न पाइला फेरि अगाडि बढाउँछु । त्यस्तो गर्दा पनि मलाई पछाडि हट्न मन लाग्दैन । गाह्रो भए पनि टुप्पोमा पुगूँ भन्ने लाग्छ । हिमालमा पाँच पाइला हिँड्छु र रोकिन्छु भन्दा पनि नसकिने रहेछ । प्रत्येक पाइला गनेर हिमाल चढेको छु । जति मेहनत ग¥यो, उत्ति सफलता हात पर्छ । कुनै कुनै हिमाल त मैले सोचेको पनि थिइनँ । हिमाल चढेर फर्केपछि आफैँलाई सर्प्राइज दिएको जस्तो लाग्छ । मसँग न पैसा थियो, न अनुभव । न कसैले सहयोग गरेको छ । तर‚ म लागिरहेँ र सफल भइरहेँ ।कहिलेकाहीँ डर लाग्दैन, आफ्नो मनलाई सोध्नु हुन्न के गरिरहेको छु भनेर ?
असफल हुँदा नोक्सान धेरै हुन्छ, धेरै पटक रोएँ म । यसपालि पनि सकिन्न कि भन्ने लागेको थियो । तर भाग्यवश सफल भएँ । सामान्य मान्छे बल्ल बल्ल ऋण खोजेर हिमाल जान्छ, त्यो पनि असफल हुँदा फ्रस्टेसन भइहाल्छ । यसपालि पनि म आधा घण्टा रोएँ । सबैको जीवनमा एउटा-एउटा सगरमाथा हुन्छ । त्यो चढ्न गाह्रो हुन्छ । हिमाल भनेको मेरा लागि ऊर्जा हो । हिमाल चढेर आएपछि केही काम पनि असम्भव लाग्दैन । आफैँलाई बलियो महसुस भएर आउँछ ।
उत्साहभन्दा धेरै फ्रस्टेसन लिएर आउनु भयो कि कसो ?
उत्साह त जति पटक पनि हुन्छ । यो पटक मसँग पैसा थिएन । ऋण खोजेर गएको हुँ । सफल नभएको भए त साह्रै तनाव हुन्थ्यो । सफल भएपनि शेर्पाको र कम्पनीको पैसा कसरी दिने भन्ने चिन्ता छ । तर म तिर्न त तिर्छु । मसँग उमेर छ, हातमा सीप छ । एउटा हिमाल चढ्न कम्तीमा १५ देखि २० लाख खर्च हुन्छ । हामीजस्तो सामान्य परिवारका लागि त्यो महँगो खर्च हो ।
धवलागिरि आरोहण अघिल्लो पटक असफल हुनुभयो, यो पटक कसरी सम्भव भयो ?
मुख्य त मौसम हो । सामूहिक काम सबैभन्दा ठूलो कुरा रहेछ । अरू हिमालजस्तो होइन, धवलागिरि । यो निकै कठिन हिमाल रहेछ । मैले धवलागिरि कहिल्यै पनि राम्रोसँग देखिनँ । सधैँ जसो हिउँ परिहाल्ने, नजिकको भिजुअल पनि नदेखिने । एउटा क्याम्पबाट अर्को क्याम्प जाँदा तत्कालै बाटो बिग्रिने रहेछ । कति पटक त फिक्सिङ टोलीले पनि बाटो बनाउन सकेनन् । ५० दिनसम्म हेली आउँदैन । म अघिल्लो पटक स्प्रिङमा गएको थिएन । सम्भव भएन । यो पटक सफल भयो । यो सिजन चढ्न सजिलो रहेछ । त्यो बेला धेरै हावा चल्ने रहेछ । हिम पहिरोको डर पनि उस्तै हुने । यो सिजनमा हिउँ कम थियो ।
केही भइहाले कसरी रेस्क्यू हुन सक्छ ?
सगरमाथाभन्दा पनि धवलागिरि र अन्नपूर्ण चढेपछि सफल भएजस्तो लाग्छ । सगरमाथामा अरू सबै मान्छे जान सक्छन्, तर यी हिमालमा सक्दैनन् । धवलागिरि चढेर आएपछि मक्ख छु म ।आरोहणमा पुरुषको तुलनामा महिला कम छन् । के महिलालाई चुनौती बढी छ ?
महिलालाई गाह्रो पुरुषलाई सजिलो भन्ने हुँदैन । पुरुषभन्दा महिला शारीरिक रूपमा भिन्न भएकाले यो त समाजको धारणा मात्रै हो । हिमालले महिला पुरुष भन्दैन । समाज महिलाप्रति कसरी प्रस्तुत हुन्छ भन्ने कुराले अर्थ राख्छ । महिला डराउँछन्, लजाउँछन्, आँट गर्दैनन् भन्ने समाजको धारणाले हामीलाई कमजोर बनाएको हो । तर, आँट गर्नुपर्छ लिङ्गले आरोहणलाई छेक्दैन । अर्को कुरा हिमाल चढ्नलाई हिमालमै जन्मिनु पर्छ भन्ने पनि रहेनछ । तराई र पहाडमा बस्नेहरूले पनि पुग्न सक्दा रहेछन् । अनि, यसलाई चुम्न महिला वा पुरुष दुवैले सक्छन् । फरक पेसा, फरक जात र फरक क्षेत्रका मानिस पनि त्यहाँ पुग्न सक्छन् र आफ्नो देशको गौरवसँग सामीप्य गाँस्न सक्छन् । त्यसमानेमा म आफूलाई भाग्यमानी ठान्छु ।
हिमाल आरोहणका अबका योजना के छन् त ?
अब नेपालका ८ हजार मिटरभन्दा माथिका सबै हिमाल चढ्ने योजना छ । कञ्चनजङ्घा, ल्होत्से र मकालु एकै सिजनमा चढ्ने सोच गरेको छु । तर आर्थिक समस्या छ । शारीरिक रूपमा त म तयार छु । थकाइ मेटिएको छैन । रेस्ट गरेपछि तयारी थाल्छु । मलाई हिमाल वाक्क लागेको छैन । सबै हिमालमा जान तयार छु ।
सरकारलाई केही सुझाव ?
कति कुराहरू त सरकारले पनि नजान्ने रहेछ । मिडियाकै मान्छे भएँ, आफ्नै ठाउँ पनि भयो । अन्नपूर्ण चढ्न जाँदा बाटै छैन । बाटो नभएको कुरा सरकारलाई भनेँ । कसैलाई केही थाहा नै छैन । पर्यटन बोर्डमा भनेको छु, धेरै ठाउँमा बस्ने व्यवस्था छैन । अधिकांश आरोही हेलिकोप्टरमा जान्छन् । उतैबाट खाना बनाउने, पानी बोक्ने र भारी बोक्नेहरूसम्म ल्याउँछन् । अनि प्रदेशलाई के फाइदा भयो त ? हिमाल छ भनेर मात्रै केही भयो त ? भएन नि । प्रदेशले पनि पहल गरेको छैन । सरकारलाई कुन हिमाल कहाँ पर्छ भन्ने पनि थाहा छैन । त्यहाँको अवस्था बुझ्ने अवस्था त झनै भएन ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
नेपालका रमणीय हिमालहरू आगन्तुक कुरेर बसेका छन् । नेपाल एक हिसाबले हिमाल देखाउने, चढाउने राजधानी नै हो । यहाँ आउने धेरै देशका नागरिक आतुर छन् तर, उचित प्रसार प्रचार भएको देखिँदैन । म आह्वान गर्न चाहन्छु- यहाँ आउनुहोस्, हिमालका फरक फरक स्वाद/आनन्द लिन सक्नु हुनेछ । र मलाई मेरो अनुभव राख्ने मौका दिएकोमा समुद्रपारिप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।