काठमाडाैं – अबदेखि सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिड-१९ संक्रमितको निःशुल्क उपचार हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमितको निःशुल्क उपचार अबदेखि सरकारी अस्पतालहरू र स्वास्थ्य प्रतिष्ठानहरूमा मात्रै गरिने बताएको हो ।
कोभिड-१९ को उपचारका लागि यसअघि सेवा सम्झौता गरिएका मेडिकल कलेजहरुमा असार १४ गतेसम्म भर्ना भई उपचाररत संक्रमितको सोही मितिले १० दिनसम्मको मात्रै सोधभर्ना रकम उपलब्ध गराउने र भोलिदेखि भर्ना भएका कोभिड संक्रमितको उपचार गरेबापतको सोधभर्ना उपलब्ध नगराइने मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ ।
साथै निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई कोभिड संक्रमितको उपचारमा सरकारले तोकभन्दा बढी शुल्क नलिन समेत आग्रह गरेको छ । यदि मनमोनी ढंगले शुल्क लिएमा नियमानुसार कारबाही गरिने विज्ञप्तिमा लेखिएकाे छ । कोभिड संक्रमितको निःशुल्क उपचारको लागि सरकारले यसअघि विभिन्न निजी अस्पतालहरुसँग सम्झौता गरेकाे थियो ।