Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

प्रतिनिधिसभा विघटन गर्ने आफ्नो असंवैधानिक कदमलाई तीन महिनाअघि सर्वोच्चले सच्याइदिएको घटना पचाउनै नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि राष्ट्रिय राजनीतिलाई अध्यारो सुरुङतर्फ डोर्‍याइदिए । यसको पक्ष र विपक्षका तर्कले यतिबेला नेपाली राजनीति तरंगित छ । संविधानलाई नै सुनियोजित षड्यन्त्रको सिकार बनाएको भनेका विपक्षी दल कांग्रेस, माओवादी केन्द्र र एमाले तथा जसपाको रुष्ट समूहले सर्वाेच्चमा रिट दर्ता गराएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ प्रतिनिधि सभा विघटनलाई प्रतिगमनका रूपमा हेर्छन् । यो कदम अहिलेको व्यवस्था नै उल्ट्याउने स्वदेशी/विदेशीको खेल भएको उनको ठम्याई छ । अब सत्ताले लिएको विपरीत बुद्धिको बाटोबाट देशलाई सही दिशातर्फ मोड्न दलहरूको भूमिका कस्तो हुनुपर्छ ? यसै विषयमा केन्द्रीत रहेर सचेतक गुरुङसँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-

फेरि प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरिएको छ, यसलाई कसरी लिनुहुन्छ ?
यो प्रतिगमन हो । हामीले संविधान विरोधी प्रतिगमनकारी भन्दै आइरहेका थियौं । यसलाई पुष्टि ग-यो । संविधानको गम्भीर उल्लङ्घन गरेकाले यसलाई समर्थन गर्न कुनै पनि दृष्टिकोणबाट सकिँदैन, एउटा । अर्को कुरा- पछिल्लोपटक पुसमा भएको विघटनको आदेशले पनि संसदीय प्रक्रिया पूरा नभएम्म विघटन गर्न मिल्दैन भनेको छ । अहिले सर्वोच्चको आदेशको अवहेलना भएको छ, संविधान मिचिएको छ । यो कदापि स्वीकार्य हुनै सक्दैन । यसको विरोधमा हाम्रो पार्टी, लोकतन्त्रका पक्षधर दल, नागरिक समाज र सिंगो नेपाली जनता छन् ।

तर, संविधानको धारा ७६(५) बमोजिम सरकार बन्न नसकेपछि प्रतिनिधि सभा त स्वतः विघटन हुने देखिन्छ, कसरी असंवैधानिक भन्ने ?
सबभन्दा पहिला राष्ट्रपतिले जेठ ६ गते सरकार गठनका लागि जारी गरेको सूचनाबाटै संविधान मिच्ने प्रयासको सुरुवात भएको हो । केपी शर्मा ओली उपधारा (३) अनुसारको प्रधानमन्त्री हो । उपधारा ५ को सरकार बन्नै बाँकी थियो तर, ओलीले उपधारा (५) मा जाने अधिकार गुमाइसक्नुभो । किनकि पहिला (१) को, अनि (२) को र पछिल्लोपटक (३) को बनेपछि म विश्वासको मत पाउन सक्दिनँ भन्नुभो । उपधारा ५ अनुसार बनाउने भनेको ओलीलाई थिएन । अरूलाई बनाउनू भनेर उपधारा (५) ले भन्न खोजेको हो अब त्यो बनाउने प्रक्रिया अवरुद्ध गरिएको छ । र, सूचना अनुरुप नै त्यत्रो १४९ जना सांसदको हस्ताक्षरसहितको सूची पेस गरेको होइन ? सरकार बन्ने अवस्था देखिएन, फलानो दलले मानेन भनेर कु–तर्क गर्ने ? दलहरूले सरकार बनाउने प्रक्रिया त ‘क्लोज’ भइसक्यो । संविधानको धारा ७६ (५) भनेको त सांसदहरूको अग्रसरतामा सरकार बनाउने कुरा हो । दलको कुरै होइन । दलबिनै सरकार बनाउने विकल्प यो धाराले कल्पना गरेको हो । फलानो दलले मानेन भनेर हुन्छ ?

एमालेका २६ र जसपाका १२ सांसदमाथि प्रश्न गरिएको छ नि ?
प्रश्न उठ्यो तर, परीक्षण नगरिकनै संसद् भंग किन गरियो ? प्रश्न यो हो । त्यसको परीक्षण सदनबाट गर्नुपथ्र्यो । कति सांसद हो वा होइन, कति सांसद कता लाग्छन् लाग्दैनन्, भोट हाल्छन् हाल्दैनन् र बहुमत पुग्छ पुग्दैन भन्ने कुराको परीक्षण त सदनबाट गर्ने हो । राष्ट्रपतिलाई दाबीमा शंका नै लाग्यो भने बोलाएर सनाखत गर्न पनि सकिन्थ्यो, त्यो पनि गरिएन । उहाँ (ओली)हरूले सूची मात्रै बुझाउनु भएको हो । हामीले सांसदहरूको हस्ताक्षरसहित पेस गरेका छौं । त्यति हुँदाहुँदै पनि अस्वीकार गर्दै दाबी ठहरिएन भनिएको छ । यदि त्यसो हो भने दाबी ठहर गर्न के गर्नुपर्ने हो त ? त्यो त भन्नुपर्छ नि राष्ट्रपतिले । त्यसैले दाबी पुगेन भन्ने कुरा नै बेठीक हो ।

यसमा राष्ट्रपतिको जिम्मेवारी र मर्यादामाथि प्रश्न उठ्नु कति स्वाभाविक हो ?
नेपालजस्तो सानो र विपन्न मुलुकको पहिलो महिला राष्ट्रपति बनेपछि विश्वसामु चिनिने अवसर उहाँसँग थियो तर, आफैँले खुट्टामा बन्चरो हान्नुभयो । उहाँले संवैधानिक समझ र जिम्मेवारी देखाउनुभएन । उपधारा (५) मा दुईवटा उम्मेदवार बन्नै सक्दैन । त्योभन्दा अघिका उपधाराबाट असफल भएको व्यक्तिका लागि यो उपधारा होइन । नयाँ व्यक्तिका लागि हो । अनि, यो उपधारा हानथाप हुने उपधारा नै होइन । केपी ओलीजी त बन्नै सक्नुहुन्न । एउटा मात्र दाबीलाई उहाँले अगाडि बढाउने हो तर, यो समग्र प्रक्रिया पनि उहाँले भद्रगोल गर्नुभयो । यसबाट उहाँ (राष्ट्रपति) पनि बदनाम हुनुभो ।

संविधानमाथि आक्रमण पहिला पनि हुँदै आएको हो । यो प्रक्रियाले के संकेत गर्छ ?
यो त एक प्रकारको ‘कु’ नै हो । गत पुस ५ गते पनि संविधानको ‘कु’ गरेकै हो । त्यसबेला अदालतले सच्याएको थियो तर अहिले फेरि ‘कु’ भयो । संविधानको ठाडो उल्लङ्घन गरेर सदनबाट गर्नुपर्ने काम सदनलाई नै बाइपास गरेर राष्ट्रपतिले जे गर्नुभयो त्यो क्षम्य हुनै सक्दैन । आशा छ, सर्वाेच्चले यसपटक पनि सच्याउने छ । जहाँसम्म संकेतको कुरा गर्नुभयो, तयो स्पष्टै छ नि ! नेपालको संविधान सिध्याउने, समाप्त गर्ने, खारेज गर्ने षड्यन्त्र विधिवत् सुरुवात हुँदैछ । किनभने सदन समाप्त गर्नेबित्तिकै संविधानका सबै धारा, उपधारा सबै निष्क्रिय हुन्छन् । अब राष्ट्रपतिको अध्यादेशको आधारमा देश चलाउन खोजिँदैछ । संविधान अध्यादेशमा जानु भनेको संविधान निष्क्रिय हुनु हो ।

यदि सर्वाेच्चले सरकारको पक्षमा फैसला ग¥यो भने तोकिएकै समयमा निर्वाचन सम्भव देख्नुहुन्छ ?
निर्वाचन गर्ने नियत नै होइन र आधार पनि त छैन नि ! संविधान नै निष्क्रिय भएको अवस्थामा निर्वाचन हुन हुँदैन । निर्वाचन नभएपछि यो संविधान विफल भयो भन्ने बहाना हुन्छ । त्यसपछि संविधानका अन्तरवस्तुहरूका बारेमा जनमत संग्रह गरेर मात्रै संविधानलाई क्रियाशील गराउन सकिन्छ भनेर मुलुकलाई जनमत संग्रहमा लगिँदैछ । त्यो तयारी भइरहेको हो । यहाँ कोर्स करेक्सनका नाममा पुरानै प्रणालीमा लैजानुपर्छ भन्ने एउटा ‘ट्रेन’ छ त । पुरानै दरबारीयाहरूको प्रणालीमा लैजाने ट्रेन पनि छ । त्यो विचार र संघर्षको कुरा हो । अग्रगमन र प्रतिगनको विचारको संघर्षकोे कुरा हो । एउटा विचार त पुरानै प्रतिमगमनतिर लगेर पुरानै प्रणाली ब्युँताउनुपर्छ । दरबारलाई ब्युँताउनुपर्छ भन्ने धार छ । प्रतिगनमकारी धार पनि छ त ।

प्रतिगनमकारी धार प्रधानमन्त्री र राष्ट्रपतिलाई भन्नुभएको हो या अन्तर्राष्ट्रिय शक्ति पनि सामेल छन् ?
अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूको इसारामा यिनीहरू नाचेका हुन् । अन्तराष्ट्रिय शक्ति केन्द्रहरूको प्रयोगशाला भइरहेको छ नेपाल । दक्षिणले भनिराखेकै छ त यो हुँदैन । कोर्स करेक्सन गर्नुपर्छ भनेर । यो प्रक्रियाबाट हुँदैन । संविधान बनाउने बेलादेखिनै उसले त आफ्नो पोजिसन त क्लियर गरेको छ । यो कुरा सबै नेपाली जनतालाई थाहा छ । नेपालमा क–कसले के कसरी हस्तक्षेप गर्न खोजेको छ भन्ने कुरा घाम जत्तिकै भइसकेको विषय हो । रूप २०७२ को संविधान तर सार २०४७ को बनाउने योजनामा यो सबै षड्यन्त्रहरू भइरहेको छ । अब ओलीजी र विद्याजीलाई लाग्न सक्छ– संविधान काम लाग्दैन । गणतन्त्र काम लाग्दैन । धर्म निरपेक्षता काम लाग्दैन । समावेशीता काम लाग्दैन । संघीयता काम लाग्दैन यसलाई उल्ट्याउनुपर्छ । तर त्यो हुँदैन र कदापी हुन दिँदैनौं पनि ।

अब राजनीतिक दलहरूले यसलाई कसरी परास्त गर्छन् त ?
पहिलो कुरा यो निर्णयको विरोध गर्दै भण्डाफोर गर्ने हो । असंवैधानिक कदमको भण्डाफोर गर्न जरुरी हुन्छ । कानुनी उपायहरूको खोजी गर्दै रिट निवेदन दिएका छौं, अदालतबाट के-कस्तो न्याय मिल्छ त्यो दोस्रो कुरा भयो । अरू बाँकी कदमका बारेमा संविधानका पक्षधरबीचमा एक प्रकारको गठबन्धन छ, त्यसमा छलफल, परामर्श गर्दै निर्णय गर्दै अघि बढ्नुपर्ने हुन्छ ।

तपाईको पार्टीको कुरा गरौं, माओवादी केन्द्रलाई अदालतले ब्युँताइदिएपछि कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
अहिलेको मुख्य मुद्धा नै असंवैधानिक विघटनको विरोध हो । र फेरि अदालतको कोर्टमा नेपालको राजनीतिकको बलले प्रवेश पाएको छ । अदालतको निर्णय नआउने बेलासम्म सबैको ध्यानदृष्टि त्यतैतिर रहने भयो । र जति अदालतले छिटो यसको फैसला दिन्छ त्यति छिटो राजनीति चाँहि संलिएर जान्छ । जहाँसम्म पार्टीको कुरा छ– संगठन अस्तव्यस्त छ । त्यसलाई व्यवस्थित गर्ने । पार्टी कार्यालय, सचिवालय लगायतका नेतृत्वलाई क्रियाशील र सक्रिय बनाउने । समग्रमा, पार्टीको आन्तरिक जीवन सुदृढीकरण र व्यवस्थित बनाउने गरी नयाँ परिवेशमा पार्टीको सञ्चालन गर्नेतिर ध्यान दिनुपर्छ ।

सत्तारुढ एमालेमा अन्तरसंषर्घ झनै चर्किएको छ । एमाले विभाजन भयो भने रुष्ट पक्षसँग तपाईँको एकता सम्भव देख्नुहुन्छ ?
म व्यक्तिगत रुपमा राजनीतिक पार्टीहरूको एकीकरणको विपक्षमा छु । हाम्रो विगतको अनुभव र तत्काल नेकपाकै एकीकरण र विभाजनको अवस्थालाई नियाल्दा पनि म यो निर्णयमा पुगेको हुँ । पार्टीहरूको एकीकरण होइन्, सहकार्य र मोर्चा बनाउनेतर्फ चाँही पार्टीले नीति अवलम्बन गर्नुपर्छ । ०४८ सालपछिको अवस्थालाई हेर्दा पनि धेरै एकीकरण र विभाजनको सृखला देखेका छौँ । मेरो व्यक्तिगत कुरा चाँही अहिले जुन–जुन पार्टी गठन हुन्छ, त्यो चाँही आफैँले काम गर्ने । र, राजनीतिक र जनताको समस्याहरू, राष्ट्रियताका मुद्दाहरू, संविधान र संसदीय व्यवस्थाका बारेमा चाँही मोर्चागत रुपमै अघि बढ्नुपर्छ । फेरि एकीकरणकै अवस्थामा अघि बढ्यो भने अर्को गल्तीको शिकार हुन्छौँ ।

तपाईको प्रतिक्रिया