काठमाण्डाै – नेपालमा अत्यधिक पाइएको कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको एक बेलायती अध्ययनले औंल्याएको छ। बिबिसीका अनुसार अमेरिकाको फाइजर कम्पनी र अक्सफोर्ड तथा अस्ट्राजेनेकाले विकास गरेका खोप संक्रामक मानिएको बी.१.६१७.२ नामक इन्डियन भेरियन्टविरुद्ध प्रभावकारी देखिएका हुन्। हालै गरिएको भाइरसको आनुवांशिक अध्ययनले यही भाइरसको प्रजाति नेपालमा अत्यधिक देखाएको थियो।
अस्ट्राजेनेका र फाइजरको पहिलो डोज लगाएको ३ सातापछि नयाँ भेरियन्टबाट जोगाउन यी खोपले ३३ प्रतिशत मात्र सुरक्षा दिने देखिएको छ। दोस्रो डोज लगाएको २ सातापछि अस्ट्राजेनेका खोप इन्डियन भेरियन्ट रोक्न ६० प्रतिशत प्रभावकारी र बेलायती भेरियन्ट रोक्न ६६ प्रतिशत प्रभावकारी देखिएको छ। इन्डियन भेरियन्ट रोक्न फाइजर खोप ८० प्रतिशत प्रभावकारी देखिएको छ भने बेलायती भेरियन्ट रोक्न ९३ प्रतिशत सक्षम रहेको पनि अध्ययनले देखाएको बिबिसीले जनाएको छ।