काठमाडौँ – नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट भेटिएको पुष्टि भएको छ । यससँगै हालसम्म नेपालमा यो परिवर्तित भाइरससहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको हो ।
भारतीय भेरियन्टको नामले पनि चिनिने यो भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले २०२१ मेमा विश्वव्यापी चिन्ताको भेरियन्ट भनी वर्गीकरण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो कहाँ-कहाँ भेटिएको थियो, कस्तो थियो, के-के लक्षण हुन् भन्नेबारे अध्ययन हुनै बाँकी रहेको बताए ।
उनका अनुसार यसले के-के असर गर्छ र खोपले काम गर्छ/गर्दैन भन्ने पनि पत्ता लागेको छैन । ‘नयाँ जात हो । त्यस कारण नेपालीहरू अलि होसियार हुनुपर्यो,’ उनले भने ।
यो भेरिअन्ट बढी संक्रामक रहेको पनि प्रवक्ता डा. गौतमले बताए । ‘हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै सङ्क्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरूबाट पाइएको छ,’ उनले भने, ‘त्यसैले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न विनम्र अपिल गर्दछु ।’
खोप र एन्टिबडीलाई चुनौती
शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन यो भेरियन्ट पहिलेको भन्दा बढी घातक भएको बताउँछन् । ‘यसमा दुईवटा थप उपप्रजाति .१ र .२ देखिएको छ । पहिला डबल म्युटेन्ट मात्र भनिएको थियो । यसको नामै दिइएको थिएन । अहिले नाम दिइएको छ,’ उनले भने, ‘यो तीव्र गतिमा सर्ने भएकाले यसले जोखिम पनि बढाइरहेको छ । खोपलाई पनि चुनौती दिने र अघिल्लो एन्टिबडीलाई पनि चुनौती दिने खालको भनेर बुझ्न सकिन्छ । यो जोखिमको दृष्टीकोणले डरलाग्दो हो ।’
यसलाई १० मे मा विश्व स्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सर्नमा राखेको थियो । अर्थात् ‘विश्वव्यापी चासोको भेरियन्ट’ भनिएको थियो । यसलाई अन्य भाइरसभन्दा थप कडा, थप शक्तिशाली, भ्याक्सिनलाई पुनः चुनौती दिने खालको भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । ‘दोस्रो लहरको सुरुवाती चरणमा बेलायती भेरियन्ट नै हो कि भन्ने थियो । तर, यसबारे अध्ययन नै भएको थिएन । अहिले जुन ल्याब परीक्षणपछि रिपोर्ट आयो त्यसले त खतरै रहेछ भन्ने देखायो’, डा. पुनले भने ।
अबका दिनमा यसबाट चुनौती थपिँदै जाने उनी बताउँछन् । यो महामारी नियन्त्रणका लागि अहिलेसम्म चालिएका कदमले मात्र पर्याप्त नहुने उनको भनाइ छ । ‘अब भने नीति निर्माताहरूलाई चुनौती थपेको छ । उनीहरूले कस्तो खालको नीति बनाएर महामारी नियन्त्रण गर्छन् भन्ने नै प्रमुख हुन्छ,’ उनले भने, ‘यसका लागि अहिलेसम्म जसरी अगाडि बढिरहेका छौं, त्यसले नपुग्न सक्छ ।’
यसले एन्टिबडी बनिसकेकालाई कत्तिको असर गर्छ भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ । उनी भन्छन्, ‘खोप लगाइसकेकालाई असर गर्छ वा गर्दै भन्ने कुरा ल्याब परीक्षणपछि मात्रै थाहा हुन्छ ।’ नेपालमा यसबारे अध्ययन अस्पतालमा बिरामीको चाप, मृत्युदरको अवस्था हेर्दा बढी नै खतरनाक रहेकोतिर संकेत गरेको उनको भनाइ छ ।