काठमाडौँ – क्रिस्टियानो रोनाल्डो कोरोनाका नियम तोडेको आरोपमा छानबिनको दयारामा परेका छन् ।
रोनाल्डोकी प्रेमिका जिओर्जिनाले सामाजिक संजालमा सार्बजनिक गरेको तस्वीरका आधारमा रोनाल्डोमाथि छानबिन शुरु भएको इटालीका मिडियाले उल्लेख गरेका छन् । जिओर्जिनाले सो तस्बीर भने विवाद भएपछि अहिले हटाएकी छन् । इटालीको एक माउन्टेन रिसोर्टमा उनीहरु एक स्नोमोबाइलमा चढेको देखिएको थियो ।
इटालीमा अहिले पनि कोरोनाको नियम अनुसार अनुमति बिना बाहिर जान प्रतिबन्ध रहेको छ । रोनाल्डोले कोरोना प्रोटोकल तोडेर प्रेमिकाको जन्मदिन मनाएको भन्दै अनुसन्धान भइरहेको मिडिया रिपोर्टमा उल्लेख छ । स्थानीय प्रहरीले अहिले अनुसन्धान गरिरहेको र
कोरोनाको प्रोटोकल तोडेको पाइएमा कारवाही गरिने बताएको छ । केहि महिना अघि रोनाल्डो आफैपनि कोरोना संक्रमणबाट ठिक भएका थिए । त्यति बेला पनि रोनाल्डोलाई इटालीका खेलकुदमन्त्रीले राष्ट्रिय टिमको बबल तोडेको आरोप लगाएका थिए । रोनाल्डोले भने सो आरोप अस्वीकार गर्दै आफु १० दिनको क्वारेन्टाइन समय बिताएको बताएका थिए । त्यति बेला रोनाल्डोले युभेन्टसका चार खेल गुमाएका थिए ।