टोकियो – फाइजर बायोनटेक र अन्य कम्पनी गरी अहिलेसम्म देशको पूरै जनसंख्यालाई पुग्ने कोरोना विरुद्धको खोप ३१० मिलियन डोज सुरक्षित गरिसकिएको जापान सरकारले बताएको छ ।
बिहीबार सभागृह सभापतिहरूको पूर्ण बैठकमा प्रधानमन्त्री योशीहिद सुगाले उक्त टिप्पणी गरेका हुन् ।
सरकारले फाइजर बायोनटेकद्वारा निर्मित खोप मात्र फेरी एक करोड २० लाख मानिसका लागि पुग्ने थप खुराक आपूर्ति गर्ने सम्झौता गरेको जानकारी दिएको छ । यस अघि जापानले कम्पनीसँग ६ करोड मानिसका लागि पुग्ने फाइजर खोपको १२ करोड डोज खरिद गर्ने सम्झौता गरिसकेको थियो ।
यो सँगै फाइजर खोप जापानको आधा भन्दा बढी जनसंख्या (सात करोड २० लाख मानिस) लाई लगाउन पुग्नेछ । जापानको जनसंख्या १२ करोड ६० लाख छ ।
अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले संयुक्त रुपमा विकास गरेको कोरोना विरुद्धको खोप परीक्षणका क्रममा ९५ प्रतिशत प्रभावकारी देखिएको छ । जापानमा भने यो खोप अहिले क्लिनिकल परीक्षणमा रहेको र यहि महिनाको अन्त्यसम्ममा कम्पनीले जापानको स्वास्थ्य मन्त्रालयमा परीक्षणको नतीजा पेश गर्ने योजना भएको बताइएको छ ।
सकारात्मक परिणाम भएमा फाइजर बायोएनटेकको खोप जापानमा फेब्रुअरीको मध्यमा प्रयोगका लागि स्वीकृति प्राप्त गर्ने सम्भावना रहेको छ ।
खोपको पहिलो प्राथमिकतामा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य कर्मचारी, ६५ वर्ष नाघेका वृद्धवृद्धा र केयर होमका कामदार छन् । एक व्यक्तिको लागि दुईवटा डोज आवश्यक पर्ने उक्त भ्याक्सिन २१ दिनको अन्तरमा दुई डोज दिइनेछ ।
यो भ्याक्सिनलाई बेलायतले सबैभन्दा पहिला आममानिसमा प्रयोगका लागि अनुमति दिएको थियो ।***