काठमाडौं – भारत सरकारले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुगेको छ । भारतले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप बिहान काठमाडौं ल्याइपुर्याइएको हो ।
कोरोना खोप लिएर आएको एअर इन्डियाको विमान बिहान ११ बजेर ५३ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार मुम्बईबाट काठमाडौं सीधा उडान नभएकाले दिल्ली हुँदै खोप ल्याइएको हो । विमानस्थलमा भारतीय राजदूत विनयमोहन क्वात्राबाट खोप बुझ्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नेपाल सरकार र नेपाली नागरिकका तर्फबाट भारत सरकारलाई धन्यवाद व्यक्त गरेका थिए ।
बुधबार दिउँसो स्वास्थ्य मन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराएको जानकारी दिएका थिए । भारतले उपलब्ध गराउने खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए । भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।
अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको ‘एजेडडी१२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको हो । औषधि व्यवस्था विभाग (डीडीए)ले ‘कोभिसिल्ड’लाई गत शुक्रबार नै आपत्कालीन प्रयोगका लागि ससर्त अनुमति प्रदान गरिसकेको छ । भारतबाट प्राप्त हुन लागेको यो खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ ।
देशैभर यसरी लगाइनेछ कोरोनाविरुद्धको खोप
भारतले अनुदानमा दिएको यो खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । त्यहीँबाट आवश्यकताअनुसार प्रदेश, जिल्ला तथा स्थानीय तहमा खोप पठाउने तयारी स्वास्थ्य सेवा विभागले गरेको छ । कोल्डचेनसहितको खोप भ्यानमार्फत स्थानीय तहमा खोप पुर्याउने विभागको तयारी छ ।
उपत्यकासहित, विराटनगर, पथलैया, हेटौँडा, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीमा कोल्डस्टोरहरु तयारी अवस्थामा राखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार तिनै कोल्डस्टोरमा पुगेका खोप अस्पतालहरुमार्फत लगाइनेछ । खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पूर्वअभ्यास गराइसकिएको र आवश्यकता अनुसार थप अभ्यास गराइनेछ । ७७ जिल्लामै एकैसाथ खोप लगाउने अभियान गरिने सहप्रवक्ता अधिकारीले बताए । ‘भारतबाट आउने पहिलो चरणको खोप ७७ वटै जिल्लाका अस्पतालहरुबाट एकैपटक लगाइन्छ,’ उनले भने ।
उक्त खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाइनेछ । स्वास्थ्य मन्त्रालयले गठन गरेको खोप विज्ञ समूहका सदस्य डा. झलक शर्मा गौतमका अनुसार नेपालका २ करोड १६ लाख जनतालाई खोप लगाउने सरकारको तयारी छ । त्यसका लागि खेर जाने समेत जोडेर करिब ५ करोड डोज खोप चाहिने आकँलन गरिएको छ ।
पहिलो चरणमा दिइने खोपका लागि स्वास्थ्य मन्त्रालयले यसअघि नै स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा खटिएकाहरुको तथ्यांक संकलन सुरु गरेको थियो । जसअनुसार अग्रपंक्तिमा खटिएकाहरुको संख्या नेपालमा ९ लाख हाराहारीमा रहेको र त्यसका लागि दुई डोज लगाउन (खेर जाने मात्रा समेत जोडेर) २० लाख खोप आवश्यक पर्नेछ ।
दोस्रो चरणमा ५५ वर्षमाथिका जेष्ठ नागरिक र दीर्घ रोगीलाई खोप लगाउने तयारी गरिएको छ । उक्त समूहको संख्या नेपालमा ५१ लाख रहेको जनाइएको छ । यस्तै तेस्रो चरणमामा ४० देखि ५४ वर्षका २९ लाख र १५ देखि ३९ वर्षका बाँकी १ करोड २७ लाखलाई अन्तिम चरणमा खोप दिने योजना सरकारको छ । खोप ढुवानी गर्नेलगायतका काम सकेर खोप सुरु गर्न करिब १० देखि १५ दिन लाग्ने स्वास्थ्य मन्त्रालयको आकलन छ ।