काठमाडौं – एउटा खोजी टोलीले अस्ट्रेलियाको मरुभूमीमा क्षुद्रग्रहबाट पहिलोपटक उल्लेखनीय मात्रामा चट्टान ल्याएको अन्तरिक्ष यानको टुक्रा भेट्टाएको छ ।
ड्यूगु नामक क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको नमुना बोकेको भाग दक्षिण अस्ट्रेलियामा खसेको थियो । ती नमुना जापानी अन्तरिक्ष यान हायाबुसा-२ ले ड्यूगुबाट सङ्कलन गरेको थियो । सो यानले एक वर्ष सो क्षुद्रग्रहको अध्ययन गरेको थियो । चट्टानको नमुना बोकेको भाग पछि यानबाट छुट्टिएर पृथ्वीतर्फ झारिएको थियो ।
शनिवार सो भाग पृथ्वीमा प्रवेश गर्दा आगोको गोला जस्तो देखिएको तस्बिर खिचिएको थियो । प्रतिसेकेन्ड ११ किलोमिटर गतिमा झरेको सो भागको गतिलाई कम गर्न प्यारासुट प्रयोग गरिएको थियो । त्यसपछि सो भागले आफ्नो स्थानका बारेमा तथ्याङ्क प्रवाह गर्न थालेको थियो । सो भाग अस्टेलियाको सेनाको नियन्त्रणमा रहेको विशाल वूमेरा क्षेत्रमा अवतरण गरेको थियो ।सो अवतरणको स्थान पत्ता लागेपछि हेलिकप्टरबाट त्यसलाई खोजिएको थियो । भेट्टिएको भागलाई अस्ट्रेलियामा निरीक्षण गरेपछि जापान पठाइएको थियो । सो टुक्रा १६ किलोको भएको र त्यसलाई जापानी अन्तरिक्ष एजेन्सीले अध्ययन तथा भण्डारण गर्नेछ । हायाबुसा-२ ले क्षुद्रग्रहबाट एक सय मिलिग्रामभन्दा बढी नमूना सङ्कलन गर्ने अपेक्षा गरिएको थियो ।
क्वीन्स विश्वविद्यालयका प्राध्यापक एलान फिट्जसिमोन्सले सो नमुनाले ‘हाम्रो सौर्य प्रणालीको इतिहासको बारेमा मात्रै नभई त्यो क्षुद्रग्रहको बारेमा पनि धेरै कुरा बताउने’ बताए । क्षुद्रग्रहहरू सौर्य प्रणाली बन्दा बाँकी रहेका साना निर्माण सामग्री जस्तै मानिन्छन् । तिनमा पृथ्वीजस्ता कुनै ग्रहमा समाहित हुन नसकेका सामग्री रहेको मानिन्छ ।
Samples are on their way for analysis at the Woomera Test Range. @haya2e_jaxa @AusAirForce @DeptDefence #Hayabusa2 https://t.co/eBIukNPTgu pic.twitter.com/AK0C7TCArk
— Australian Space Agency (@AusSpaceAgency) December 6, 2020
‘ड्यूगुजस्ता क्षुद्रग्रहका नमुना हाम्रो क्षेत्रको अध्ययनका लागि उत्साहजनक कुरा हो । ड्यूगु एकदमै पुराना चट्टानले बनेको र यसले हामीलाई सौर्य प्रणाली कसरी बन्यो भन्ने कुराको जानकारी दिनेछ,’ लन्डनको न्याचुरल हिस्ट्री म्युजियमकी प्राध्यापक सारा रसेलले बताइन् ।–बीबीसी