Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौं – सत्तारुढ नेकपाको नेतृत्व तहमा उत्पन्न पछिल्ला विवादले राजनीतिक क्षेत्रको परिदृश्य तातिएको छ । अध्यक्षद्वयबीच कुरा नमिल्दा घर झगडाकै कारण पार्टी कतै विभाजनमा पुग्ने त होइन भन्ने संशय पनि उत्पन्न भएको छ । उसो त यो विवाद नेकपाभित्रको पहिलो भने होइन तर यसपटको विवाद तल्लो तहसम्मै पुगिसकेको छ । अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीविरुद्ध राजनीतिक प्रतिवेदन पेस गरेपछि विवाद अझै उत्कर्षमा पुगेको छ र ओलीले पनि त्यसको लिखित जवाफ फर्काई सकेका छन् । यी गतिविधि भइरहँदा के नेकपा साच्चिकै फुट नजिक पुगेकै हो त ? अब विवादको समाधान कसरी हुन्छ ? यसै सन्दर्भमा केन्द्रीत रहेर नेकपा बागमती प्रदेश इञ्चार्ज तथा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसंग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंशः-

नेकपाभित्र जारी विवाद झन्-झन् उत्कर्षमा किन पुग्दैछ ?
नेपाल कम्युनिष्ट पार्टी एउटा विधि, विधानबाट अहिलेसम्म चल्दै आएको हो । मुल समस्या भनेको नेकपा जसरी चल्नुपर्ने थियो त्यो अनुसार चल्न नसकेको हो । विचार, विधि-विधान र प्रणालीबाट चलाउनुपर्ने त्यसको सम्पूर्ण जिम्मेवारी भनेको नेतृत्वको हो र विचारविहिन कम्युनिष्ट पार्टी हुन सक्दैन । तर अहिले विधि-विधान अर्कातिर छ आफ्नै ढंगले चल्न थालिसकेपछि आएको विवाद हो यो । यो अन्तरविरोधको जिम्मेवार आफूलाई एक नम्बरको अध्यक्ष भन्नुहुन्छ ‘कमरेड’ केपी शर्मा नै हो । किनभने एउटा प्रधानमन्त्री देशको र मुख्य कुरा पार्टीको अध्यक्ष, दुईवटा महत्वपूर्ण जिम्मेवारी पार्टीले सुम्पेको छ, उहाँलाई । पार्टीलाई कसरी चलाउने, विधियुक्त, विचारयुक्त कसरी बनाउने, देश कसरी सञ्चालन गर्ने ? जनतालाई कसरी खुशी पार्ने ? यी कुराबारे पहिलो विचारक त उहाँ नै हुनुपर्‍यो नि त । तर त्यो नगरिकन आफूखुशी गर्न थाल्नुभयो अब अहिले त के सम्म भन्नुभयो भने – म पार्टीको निर्णय मान्दिन, बैठक पनि डाक्दैन अनि विचार पनि सुन्दिन, निर्णय पनि मान्दिन भनेपछि त सक्कियो नि ? एउटा अध्यक्षले त्यस्तो भन्न सुहाउँछ ? बेथिति सुरु भएको यहिबाट हो ।

उसोभए प्रधानमन्त्रीकै कारण पार्टीमा विवाद छ ?
पार्टी भनेको एउटा संस्था हो, उहाँ व्यक्ति भएर संस्थालाई मान्न तयार हुनुहुन्न । उहाँको कार्यशैलीका कारण समस्या देखियो, पार्टीको निर्णय नमानेर आफ्नो दम्भ देखाउन थाल्नुभयो । उहाँले दम्भ देखाउन मिल्छ ? पार्टी र सरकारको काम अस्तव्यस्त भइरहेको छ । यस्तो अवस्थामा उहाँले सरकार र पार्टी दुवै चलाउन सक्नुभएको छैन । उहाँले आफू ठुलो पदमा भएको भनेर दम्भ देखाउनुभएको छ । कसैले केही गर्न सक्दैन भन्ने लागेर नै विवाद भएको हो । उहाँ अहिले अत्यन्तै गलत र अराजक बाटोमा जाँदै हुनुहुन्छ, निरकुंश शैलीमा अगाडि बढ्न खोज्दै हुनुहुन्छ । तर नेकपा फुट्दैन, कसैले फुटाउने आँट गर्न सक्दैन । जसले फुटाउँछु भनेर पहल गर्छ, त्यो कम्युनिष्ट आन्दोलनको अपराधी हुन्छ ।

पार्टीमा विधि र पद्धतिको चर्चा त गरिन्छ तर, अन्त्यमा भागबण्डामै टुंगिने गरेको देखिन्छ नि ?
भागबण्डा होइन, तर होला तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको पाटी एकतापछि केही भागबण्डाकै कुरा होलान् । पहिले पनि प्रचण्ड कमरेडसंग उहाँले नै बसेर सहमति गर्नुभएको हो । अहिलेको विवाद भागबण्डाकै कारण मात्रै होइन । पार्टी अहिले विचारबाट च्युत भयो । नेपाल कम्युनिष्ट पार्टी विचार च्युत भयो भने त्यो कम्युनिष्ट पार्टी रहँदैन । पार्टीमा अप्ठ्यारो स्थिति आएको छ, धेरै कारणहरु छन् । भागबण्डाकै कारणले पार्टीभित्र यस्तो अवस्था आएको होइन प्रष्ट कुरा ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रतिवेदनको जवाफमा प्रधानमन्त्रीले अर्को प्रतिवेदन पेस गर्नुभएछ, यसरी एक अर्काविरुद्ध आरोप प्रत्यारोप लगाएरै विवाद समाधान हुन्छ कि, झन् बल्झिन्छ ?
पहिलो कुरा त हाम्रा अर्का अध्यक्ष प्रचण्डले प्रतिबेदन प्रस्तुत गर्नुभएको भएता पनि यो साझा हो है भनेर सचिवालयका अन्य ४ सदस्यले पनि भनि राख्नुभएको छ । त्यसो भएको हुनाले त्यो व्यक्तिगत प्रतिवेदन होइन । प्रधानमन्त्री ओलीले जे-जे गर्नुभएको छ त्यहि कुरालाई व्यवस्थित गरेर बुँदागत रुपमा पेस गरिएको मात्र हो । यो अहिलेको कुरा मात्रै होइन, पार्टीमा फरक मत दर्ज गर्ने प्रचलन छ । मेरो बिचारमा कम्युनिष्ट पार्टीमा यो राम्रो र लोकतान्त्रिक परिपाटी हो । त्यो पहिला पनि थियो । अहिले पार्टी एकातिर सरकार अर्कोतिर भइरहँदा लिखित रुपमा दर्ज गरिएको मात्र हो । कसैलाई लाग्नसक्छ, यो बेठिक भयो, मेरो लागि अमान्य भयो, भन्न पाउनुहुन्छ तर त्यसका लागि सत्यतथ्य चाहियो नि ! आरोप भन्ने कुरा सत्यतथ्य नबुझेर त लगाइदैन नि ? मलाई लाग्छ, प्रचण्डले पेस गरेको प्रतिबेदन सत्यतथ्यकै आधारमा पेस गरिएको हुनुपर्छ । यति गर्दैमा पार्टी एकता संकटमा पर्‍यो, दुई अध्यक्षको सम्बन्ध टुटिहाल्यो, हिजोको समझदारीको औचित्य समाप्त भयो भन्न मिल्दैन । किनभने, नेपाल कम्युनिष्ट पार्टी अहिलेसम्मको इतिहास नियाल्दा सबैभन्दा धेरै बहस हुने हाम्रो पार्टी हो ।

केपी ओलीको जवाफले विवादलाई थप चर्काउला वा समाधानको बाटो देला ?
मलाई के लाग्छ भने, माथिदेखि तलसम्म भ्रष्टाचार-अनियमितताका कुरा त बाहिर पनि उठिरहेकै हुन्, पार्टीभित्र पनि यि प्रश्नहरु उठाउन पाइदैन भन्ने कुरा हुँदैन । किनभने सरकारलाई स्वच्छ बनाउने, नैतिकवान बनाउने, आचरणयुक्त बनाउने, जनमुखी बनाउने काम पार्टीको हो । पार्टीभित्रका गलत कुरालाई गलत भनेन, आलोचना गरेन भने त झन् बिग्रिदै जान्छ, त्यसैले भोलि सरकारलाई मात्र दोष आउँदैन पार्टीलाई पनि आउँछ । मलाई पनि चिन्ता छ- नेकपा बलिदानयुक्त, स्वच्छ आचरणयुक्त भएर यहाँसम्म पाइपुगेको छ । अतः सरकारमा हुँदाखेरी पनि त्यहि किसिमको आचरणयुक्त होस्, जनमुखी-सेवामुखी होस्, त्यही कुरा नहुँदा प्रश्न उठिहाल्छ नि ! त्यहि भन्यो भन्दैमा अब सक्कियो हामी मिल्नै सक्दैनौं भन्ने तहमा पुग्न हुँदैन, आत्मालोचना सहन सक्ने क्षमता हुनुपर्छ, पद छोड्नुपर्छ भने त्यो पनि तयार हुनुपर्छ । यो विषय स्थायी कमिटी र केन्द्रिय कमिटीसम्म जानुपर्छ, सचिवालयले मात्रै टुंग्याउने विषय रहेन अब । उहाँ पार्टी र जनताले ठूलो विश्वास गरेको मान्छे हो तर अहिले उहाँका गतिविधि हेर्दाखेरी ठूलो नोक्सान भएको छ पार्टीलाई । जनताको लागि नेतृत्व गर्ने पार्टीको शिर निहुँरिएको अवस्था छ, पार्टीको शिर कहिले पनि निहुँरिन दिनु हुँदैन, जनतालाई भरोसा दिएर अघि बढ्नुपर्छ ।

पार्टीले कुनै पनि निर्णय गर्छ तर त्यसलाई कार्यान्वयन गर्न सक्दैन, किन ?
एउटा समस्या समाधान गरेपछि अर्को समस्या आउँदैन भन्ने होइन । परिवर्तनको सिलसिलामा अनेकौ कोणबाट विचारहरु आउँछन् । त्यसबाट विवाद आउन सक्छ । त्यसबाट आत्तिनुपर्ने आवश्यक छैन । विचार र सुझावमाथि छलफल गरेर भन्नुपर्ने ठाउँमा प्रधानमन्त्री ओलीको तर्फबाट कुरै नसुन्ने भएपछि यस्तो समस्या आएको हो । एक विवादपछि अर्को उहाँले नै गर्दै आउनुभएको छ । समस्याको जड नै उहाँ हो र समाधान पनि उहाँबाटै हुनुपर्छ ।

तपाईहरुले ‘एक व्यक्ति, एक पद’ कुरा उठाइराख्नु भएको छ, त्यो कार्यान्वयन गर्न कसले रोक्यो ?
तपाईले महत्वपूर्ण प्रश्न उठाउनुभयो । हामीले पहिला पनि प्रधानमन्त्री ओलीले अब सरकार र पार्टी दुवै चलाउन सक्नुहुन्न, अब कमजोर हुनुभयो भनेर माग गरेका थियौं । तर, उहाँबाट विभिन्न विचारहरु पनि आए । गणतन्त्र र संविधानलाई नै अप्ठ्यारो पार्ने खालका कुरा पनि आए । उहाँका अनेकौ शैली र सोच छन् । त्यसले लोकतन्त्र र गणतन्त्रलाई नै अप्ठ्यारो पारिरहेको छ । त्यसो भएकोले सरकारको काम प्रभावकारी भएन । जनआक्रोश बढ्न थाल्यो, हामीलाई त्यत्रो विश्वास र माया गरेर पठाउनुभएको कदर भएन । जनताको समस्यालाई ध्यान दिन सक्नुभएको छैन । त्यसैले अहिले हामीले दुवै पदबाट नसके एक पदबाट चाहि तत्काल छाड्नुहोस् भनेका थियौं । हामीले ‘एक व्यक्ति, एक पद’ को कुरा उहाँलाई मात्रै नभएर सबैलाई लागू गरौं भनेका थियौं । तर, उहाँ तयार हुनुभएन । हाम्रो विधानमा पनि भएकोले त्यसलाई कार्यान्वयन गरौं भनेर कुरा उठाएका हौं । उहाँले पनि मान्नुपर्छ हामी पनि मान्छौं । अहिले कार्यान्वयन गर्न सकेका छैनौ । अब यही ढंगले जानुपर्छ । होइन, भने उहाँले दुवै पदबाट आराम लिएर बस्नुभए हुन्छ । उहाँले यो गर्नुभयो भने सबैका लागि कल्याण हुन्छ ।

पार्टीको एकता महाधिवेशन अघि ‘एक व्यक्ति, एक पद’को कुरा उठ्छ कि उठ्दैन ?

यही दौरानमा गइरहृयो भने अवश्य फेरि पनि उठ्छ । अबको समस्या समाधान कसरी गर्ने भनेर यो कुरा उठ्छ, उठाउनुपर्छ । उहाँ जहिल्यै पनि पार्टीभित्र विवाद मात्रै सिर्जना गराउने मात्रै काम भयो । पार्टी बलियो बनाउने कुरै छैन । पार्टी र सरकारको काम अलपत्र छन् । सरकारले गर्नुपर्ने काम धेरै छन् । त्यसको कुनै तयारी छैन । त्यसो भइसकेपछि उहाँ योग्य कि अयोग्य भन्ने सबैकुरा प्रष्ट रुपमा देखिईसकेको छ । यसो हर्दा खेरी त उहाँले अत्यन्तै इमान्दारीपूर्वक दुवै पदबाट विदा लिएर आराम गर्नुपर्छ । उहाँ कुर्सी छोड्न नै मान्नुहुन्न । कुर्सी छोड्नुपर्‍यो भने बरु कुर्सी नै भाँचिदिन्छु भनेजस्तो कुरा गर्नुहुन्छ । उहांले त्यस्तो कुरो गर्न मिल्छ ?

अन्त्यमा, यहि स्थिति रहे एकता महाधिवेशनलाई असर पार्दैन र ?
महाधिवेशन गर्ने स्थायी कमिटीको निर्णय नै हो । महाधिवेशनबाट नै हो पार्टीभित्रको धेरै कुराको समाधान हुने । संगठनको संरचना, विचारको कुरा, समाजवादको लक्ष्यको कुरा गरिराखेका छौं । कस्तो नीति कार्यक्रम बनाउने भन्ने महाधिवेशनबाट नै हुन्छ । त्यसैले पार्टीभित्रको विवाद समाधान गरेर अघि बढ्नका लागि महाधिवेशन आवश्यकता हुन्छ । यही स्थितिबाट अघि जान चाँहि गाह्रो हुन्छ ।***

तपाईको प्रतिक्रिया