Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौं – सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन् । घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा उक्त सञ्जाल मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन् ।

मुस्लिमविरोधी पोस्टहरूको हकमा भारतको सत्तारूढ दलका समर्थकहरूले घृणा फैलाउने अभिव्यक्ति रोक्ने आफ्ना नीति उल्लङ्घन गर्ने गरे पनि फेसबुकले त्यसप्रति नरम रवैया अपनाएको द वाल स्ट्रीट जर्नलले आरोप लगाएको थियो । अङ्खी दासले विवादास्पद निर्णयहरू गरेको र उनी राजनीतिक रूपमा पूर्वाग्रही भएको पनि उक्त पत्रिकाले आरोप लगाएको थियो ।

केरकार
फेसबुकले ती आरोपहरू अस्वीकार गरेको छ र कुनै पार्टीको समर्थक नरहेको दाबी गरेको छ । तर यो विवादले सबैभन्दा ठूलो बजारमा उक्त सामाजिक सञ्जाललाई नाजुक अवस्थामा पुर्‍याइदियो ।

पछि भारतका लागि फेसबुकका व्यापार प्रमुख अजित मोहन त्यहाँको एउटा संसदीय समितिको केरकारमा परे । ‘जनसेवामा आफ्नो रुचिलाई अगाडि बढाउन’ फेसबुकको जिम्मेवारीबाट अङ्खी दासले राजीनामा दिएको मङ्गलवार एउटा वक्तव्य जारी गर्दै मोहनले बताएका छन् ।

अङ्खी दास भारतमा फेसबुकका लागि काम गर्ने शुरूवाती चरणकी एक कर्मचारी भएको, कम्पनीको प्रगतिमा उनले “सक्रिय भूमिका” निर्वाह गरेको र “ठूलो योगदान” पुर्‍याएको मोहनले उल्लेख गरेका छन् । गत अगस्ट महिनामा भारतीय जनता पार्टीका एक सांसदले पोस्ट गरेका मुस्लिमविरोधी सामग्रीहरूबारे द वाल स्ट्रीट जर्नलले प्रश्न गरेपछि बल्ल फेसबुकले त्यसलाई हटाएको थियो ।

भूमिका
त्यो प्रकरणलाई लिएर अङ्खी दास सञ्चारमाध्यममा चर्चामा आएकी थिइन् । उनी त्यो विवादको केन्द्रमा थिइन् किनकि मुस्लिमविरोधी ती सामग्री हटाउन अस्वीकार गरेको उनीमाथि आरोप लागेको थियो ।

द वाल स्ट्रीट जर्नलका अनुसार उनले कर्मचारीहरूलाई “प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीका नेताहरूलाई नीति उल्लङ्घनका घटनामा दण्डित गर्दा त्यसले भारतमा फेसबुकको व्यापार परिदृश्यमा क्षति पुर्‍याउने” बताएकी थिइन् । बीजेपीका कम्तीमा अरू तीनजना समर्थकले पनि सोही प्रकृतिका पोस्टहरू गरेको र त्यसबाट फेसबुकको नीति उल्लङ्घन भएको देखिँदा समेत त्यसलाई नहटाइएको सो पत्रिकाले जनाएको छ ।

त्यसपछि द वाल स्ट्रीट जर्नलले आफ्नो दोस्रो रिपोर्टमा पनि अङ्खी दासको भूमिकाबारे प्रश्न उठायो जसमा उनले बीजेपी र मोदीलाई समर्थन गरेको तथा आन्तरिक सन्देशमा विपक्षी दलहरूलाई तल देखाएको आरोप लगाइएको थियो । तीस करोडभन्दा बढी प्रयोगकर्ता रहेको फेसबुक भारतमा निकै लोकप्रिय छ। भारतमा फेसबुककै अर्को मञ्च ह्वाट्सएपका ४० करोड प्रयोगकर्ता छन् । –बीबीसी

तपाईको प्रतिक्रिया