Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौं – कोरोना महामारीले सबै क्षेत्रलाई नराम्ररी प्रभावित गर्‍यो । अर्थतन्त्रमा नै संकट निम्त्याएको यो महामारीका कारण पर्यटकीय गतिविधि समेत ठप्प हुँदा पर्यटन क्षेत्र नराम्रोसंग प्रभावित भयो । विश्वका धेरै देशमा कतै लकडाउन छ त कतै वाहृय उडान बन्द छन् । आफ्नै देशका नागरिकलाई समेत घरबाहिर निस्कन नदिएका देशहरुले पर्यटक भित्र्याउन दिने त कुरै भएन तर, महामारी कम हुने बित्तिकै पर्यटक ल्याउने सरकारी तयारी छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा त यो वर्ष २ लाख ६ हजार पर्यटक भित्र्याउने योजना बनाएको छ । यसै सन्दर्भमा कोभिड-१९ ले समग्र पर्यटन क्षेत्रमा पारेको प्रभाव र पर्यटकीय क्षेत्रलाई अब कसरी चलायमान गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेर नेपाल पर्यटन बोर्डका सिइओ डा. धनञ्जय रेग्मीसंग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंशः-

महामारी कम भएको छैन, तपाईहरुले यो वर्ष २ लाख ६ हजार पर्यटक ल्याउने योजना कसरी बनाउनुभयो ?
सँधै यस्तो अवस्था नरहला, अवस्था सामान्य बन्दै जाला भन्ने पूर्वानुमान गरेर हामीले पर्यटकको अनुमानित संख्या नीति तथा कार्यक्रममा उल्लेख गरेका हौं । नेपालमा लकडाउन खुलेको अवस्था, धेरै देशले बिस्तारै पर्यटकीय गतिविधि खुलाउँदै गरेको अवस्थालाई पनि हामीले हेरेका छौं । अर्को कुरा साउन १५ गतेदेखि ट्राभल र ट्रेकिङ कम्पनी खुलेको अवस्था अब सरकारले विदेशी पर्यटकलाई अनुमति दिएमा हामीले राखेको लक्ष्य धेरै ठूलो लक्ष्य होइन । नेपाल आउन पर्यटकहरू तयार छन् । युरोपतिर नेपालको भिसा लगाएर बसेका पर्यटक पनि छन् । त्यसैले यो वर्षको अन्त्यबाट पर्यटक आवागमन हुन्छ कि भन्ने अनुमान छ । त्यसमाथि पोहोरकै बुकिङ पनि स्थगित भएका छैनन् । यी सबै आधार हर्दा पोहोरको २० प्रतिशत लक्ष्य राख्नु खासै महत्वकांक्षी होइन भन्ने लागेर बोर्डले तथ्याङ्क सार्वजनिक गरेको हो ।

पर्यटक आउने कुरा नेपालको महामारीसंग मात्रै निर्भर भएन, अरु देशमा पनि महामारी कम हुनुपर्‍यो, होइन र ?
हो, यस्तो विश्वव्यापी महामारीको बेलामा एउटा देशको मात्रै नीतिले काम गर्दैन, दुवै देशका नीतिले नै काम गर्ने हुन् । तर अब भोकै बस्ने कि कोरोनासंग लड्दै, बच्दै अघि बढ्ने भन्ने बहस संसारभर सुरु भइरहेको छ । त्यही भएर अहिले धेरै देशमा आन्तरिक उडान खुला भइरहेका छन्, केही देशमा बाहृय उडान पनि चलिरहेका छन् । ट्रेकिङ र पर्वतारोहणका गतिविधि संसारका धेरै देशमा चलिरहेकै छन् । हामी पनि कोरोनासंग जुध्दै अघि बढ्न सक्छौं भन्ने लागेरै योजना बनाएका छौं । तर यो कुरा पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र अरु कुनै एउटा मात्रै निकायसंग सम्बन्धित छैन, स्वास्थ्य मन्त्रालय र सीसीएमसीको निर्णयमा पनि भर पर्छ । तर अर्को कुरा के हो भने हामी कति दिन यसरी अन्यौलमा बस्ने ? पर्यटन व्यवसाय र यससंग जोडिएका लाखौं मजदुरको भविष्य के हुने लगायतका कुरालाई पनि गम्भीर बनेर सोच्दै निर्णय गर्नुपर्छ ।

निजी क्षेत्रसंग कसरी समन्वय गरिरहेको छ ?
हामी निरन्तर निजी क्षेत्रसंग सहकार्य गरिरहेका छौं । यही सिलसिलामा हामीले गएको जुन २१ मा निजी क्षेत्रसंग मिलेर पर्यटन सुरक्षा निर्देशिका जारी गरेका थियौं । पर्यटन व्यवसायीलाई सहुलियत कर्जा र पुनःकर्जाका लागि समेत हामीले सरकारसंग पहल गर्‍यौं, गरिरहेकै छौं । हामीले सबै प्रदेशमा पर्यटन बोर्डको शाखा खोल्दैछौं । हाम्रा शाखाले स्थानीय सरकारसंग समन्वय गरेर पर्यटन विकासमा हातेमालो गर्नेछन् । हामी पनि विदेशमा जाँदा ‘नेपाल एउटा घर हो, यसमा सात वटा कोठा छन्’ भनेर सातै प्रदेशका सम्पदाको प्रचार गर्नेछौं । डिजिटल मार्केटिङमा पनि जोड दिनेछौं ।

स्वास्थ्य र सुरक्षा सबभन्दा ठूलो चुनौती हो । कोरोनाकै महामारीबीच आन्तरिक पर्यटन प्रवर्द्धन कति व्यवहारिक होला ?
कोरोना महामारीको अवस्था भोलि के हुने हुन्छ भन्ने त निश्चित छैन । विदेशी पर्यटक आउने सम्भावना कम रहेकाले आन्तरिक पर्यटन प्रवर्द्धन गर्नैपर्छ । यसका लागि स्वास्थ्य र सुरक्षाको मापदण्ड (प्रोटोकल) बनेको छ । त्यसको पालना गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुको विकल्प छैन । अवस्था हेरेर निकट भविष्यमै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानसमेत खुला गर्ने सरकारको निर्णयले पर्यटकीय गतिविधि बढ्ने आशामा छौं । हामीले सतर्क रहँदै अघि बढ्ने हो । हामी सुरक्षित छौं भनेर ग्यारेण्टी दिन सक्ने अवस्था अहिले छैन । तर अब हामी कोरोनासंग लड्दै अघि बढ्ने हो, नव सामान्य जीवनमा फर्कनुको विकल्प छैन । हामीले जतिसुकै तयारी गरे पनि पहिलेकै अवस्थामा फर्कन तत्कालको लागि सम्भव देखिन्न । त्यसैले नव सामान्य अवस्थासंग जुध्दै बांच्न सिक्नैपर्छ, हामीले पर्यटकीय क्षेत्र खुलाउने तयारी गर्नुपर्छ ।

यस्तो अवस्थामा कहिलेसम्म पर्यटन उद्योगलाई पुरानै अवस्थामा फर्काउन सकिएला ?
हरेक संकटको एउटा आयु हुन्छ र संकटले अवसर ल्याएर आएको हुन्छ । कोरोना भाइरस महाप्रकोप पनि केही समयपछि हराउनेछ । भ्याक्सिन वा एन्टिभाइरल ड्रग्स बजारमा सहज रूपमा उपलब्ध नभए पनि विभिन्न सुरक्षा मापदण्ड अपनाई संसार अघि बढ्नेछ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजी क्षेत्रको सहकार्यमा पर्यटनका विभिन्न क्षेत्रका लागि एक सुरक्षा प्रोटोकल सार्वजनिक गरिसकेको छ । अब विस्तारै ट्राभलमा रहेको नियन्त्रण खुकुलो हुँदै जानेछ । पर्यटन उद्योगलाई बचाउन र फेरि पुरानै लयमा फर्काउन गर्नुपर्ने धेरै कामको लामै सूची हुनसक्छ । सबै काम एकैपटक सुरु गर्न र सम्पन्न गर्न सम्भव छैन । हाल सार्वजनिक यातायात, स्थानीय बजार, सपिङ मलहरू खुलिसकेको अवस्थामा पर्यटन प्रवर्द्धनका लागि पनि नीजि क्षेत्रसंग छलफल गरेर हामी अगाडि बढ्नेछौं ।

नेपालको पर्यटन गन्तव्यलाई कसरी हेर्नुभएको छ । यो विषम समयपछिको पर्यटनलाई कसरी परिवर्तन गर्न सकिन्छ ?
नेपालको परिप्रेक्ष्यमा हर्दा नेपालको आकर्षणको केन्द्र प्राकृतिक र संस्कृतिमा आधारित छन् । प्रकृति भन्नाले हिमाल, पहाड, तराईदेखि नेपालभर विविधताले भरिएका आकर्षणका केन्द्रहरू भएकाले कोभिड-१९ पछिको पर्यटनमा परिवर्तन गर्न सकिने आकर्षण र सम्भावना के देखिन्छ भने प्रकृतिमा आधारित विभिन्न सेगमेन्ट र टुर प्याकेज डेभलप गर्न सकेमा अरू देशको भन्दा राम्रो हुने देखिन्छ । विगतमा नेपालको पर्यटकको तथ्यांक हेर्ने हो भने २० लाख पर्यटकको मात्र कुरा गरिरहेका छौं । हाम्रो जनसंख्या ३ करोड पुगेको अवस्थामा पर्यटकको आगमन दर भने न्यून छ । यो विषम समयपछि विश्वको पर्यटन क्षेत्रमा परिवर्तनको सम्भावना हुन्छ । धेरै हुल, भिडभाड नगर्ने ‘मास टुरिजम’ को सट्टा सानो ‘स्पेसिफिक ग्रुप’ को पर्यटनको विकास हुनसक्छ । यस अर्थमा नेपालको आगामी पर्यटन क्षेत्रको भविष्य आशावादी नै छ । नेचर बेसभन्दा कल्चर बेस टुर प्याकेजहरूलाई पनि एउटा राष्ट्रभरि एकै प्रकृतिको संस्कृति नभएको विभिन्न भागमा विभिन्न सांस्कृतिक धरोहर आकर्षण भएका नाताले जति पर्यटक आगमन हुन सक्छ, आगामी दिनमा त्यसका आधारमा यसलाई राष्ट्रभरि छरिएर विविधताको रणनीति लिएर कम भिडभाडमा यस्तो खालको महामारीको समयमा जोखिम कम भएको गन्तव्यका रूपमा स्थापित गर्न सक्ने सम्भावना र अवसर छन् । हामीले यसको अध्ययन गरेर पूर्वाधार विकास र डिजिटल प्रचारको सोच बनाएका छौं ।

नयाँ गन्तव्यको विकास र प्रचारका लागि कस्तो योजना छ ?
गन्तव्य तथा गतिविधिहरूको स्तरोन्नतिमा पनि जोड दिएका छौं । आगामी दुई-तीन वर्षसम्म हामीकहाँ २० लाखभन्दा बढी पर्यटक आउन सक्ने अवस्था देखिँदैन । त्यसैले नयाँ गन्तव्यको खोजी वा विकासमा हामीसंग रहेको सीमित साधन र स्रोत लगानी गर्नुभन्दा विद्यमान मुख्य पर्यटकीय गन्तव्यहरू जस्तै काठमाडौं उपत्यकाका विश्वसम्पदा सूचीमा परेका स्थलहरू, पोखरा, चितवन, लुम्बिनी, जनकपुरजस्ता क्षेत्र, राष्ट्रिय निकुञ्ज वरिपरिका क्षेत्रहरू, मुख्य पदयात्रा मार्गहरू र र्‍याफ्टिङ रिभरहरूको सौन्दर्यीकरण, सफाइ, मर्मत, तथा साइनेज स्थापना गरी स्तरोन्नतिका काम जसमा हाल बेरोजगार रहेका पर्यटन क्षेत्रमा संलग्न कामदारहरूबाट गराउने सोचमा छौं । यो संकटका बेला पनि नेपाल मन पराउने र सहयोग गर्नेहरूसंग नेटवर्किङ गर्ने, देशभित्र विकसित भएका सकारात्मक विकासहरूको प्रचार गर्ने काम पनि गर्ने योजना छ । लकडाउनका बेला पनि विमानस्थलका काम भइरहेका छन्, स्थानीय तहमा पदयात्रा मार्गको स्तरोन्नति भइरहेको छ । कतिपय सम्पदाको सौन्दर्यीकरण भइरहेको छ । कतिपय विदेशीहरू नेपाल सुरक्षित ठानेर यहीं बसिरहेका छन् । यी सकारात्मक पक्षहरूलाई बाहिर प्रचारित गर्न हामी लागि परेका छौं ।

बोर्डले पछिल्लो समय डिजिटल प्रमोशनको कुरा पनि गरिरहेको छ । डिजिटल प्रमोशनका लागि के योजना छन् ?
कोरोना संक्रमणका कारण डिजिटल प्रमोशनको विषयले प्राथमिकता पाएको छ । देशभित्र र विदेशमा बीबीसी, सीएनएनजस्ता अन्तर्राष्ट्रिय मिडियामा प्रचारप्रसारका लागि भने बजेट व्यवस्था गरिएको छ । कोरोनाका कारण पहिलेजस्तो प्रवर्द्धनात्मक कार्यक्रम गर्न सम्भव नहुने भएकाले डिजिटल माध्यमलाई उपयोग गर्ने बोर्डको रणनीति छ । बजेटअनुसारका कार्यक्रम बन्दै जानेछन् । बोर्डले त्यसको कार्यान्वयनमा जोड दिनेछ ।

अन्त्यमा, तपाई आफ्नो कार्यकालमा के कस्ता योजना बनाउँदै हुनुहुन्छ ?
म यता बसेर पर्यटन प्रवर्द्धन गर्ने भन्ने हो । प्रदेश सरकारको बढी लगानी पर्यटनतर्फ जाओस् भन्ने मेरो चाहना हो । एक हजार मिटर माथिका पहाड तथा हिमालहरुमा सकेसम्म हिल स्टेशन बनाउने तर्फ ध्यान दिन्छु । भारत तर्फको बोर्डर बोर्डरमा क्यासिनो राख्ने मेरो योजना छ । वन वे ट्रेकिङ रुट बनाउँछौं । वन वे बनायो भने रुटमा हुने मान्छेको भिड पनि कम हुन्छ । एक ठाउँबाट गयो भने अर्को ठाउँबाट फर्किने सुविधा हुन्छ । मेरो कार्यकाल जम्मा चार वर्षको हो । यो चार वर्षमा मैले बाटो देखाउने काम मात्र हो । मैले गुरुयोजना तयार पार्छु । त्यही अनुसार अगाडि बढ्छौं । मेरो फोकस सातै प्रदेशको गुरुयोजना बनाउने हुन्छ । नेपाल कस्तो हुनुपर्छ भन्ने बाटोचाहिँ म देखाउन सक्छु । यसका लागि स्थानीय जनप्रतिनिधि र प्रदेश सरकारसंग समन्वय गरेर अगाडि बढ्छु । बोर्डर-बोर्डरमा क्यासिनो र हिमालमा हिल स्टेशन बनाईने छ । ***

तपाईको प्रतिक्रिया