टोकियो – संयुक्त अरब इमिरेट्स (युएई)ले मङ्गल ग्रहको अध्ययन तथा अन्वेषणका लागि यान पठाएको छ । अन्तरीक्ष यात्रामा युएईको यो नयाँ फड्को हो ।
संयुुक्त अरब इमिरेट्स (यूएई) ले जापानको सहयोगमा मंगल ग्रहमा आफ्नो पहिलो इन्टरप्लेनेटरी होप प्रोब मिसन सुुरु गरेको हो।
जापानको खागोसिमा स्थित तानेगासिमा अन्तरिक्ष केन्द्रबाट एचटू-ए रकेटमार्फत प्रक्षेपण भएको होप नामक उक्त मिसन ५० करोड किलोमिटर दूरीमा रहेको मङ्गलग्रहको मौसम र जलवायुबारे अध्ययन गर्नका लागि पठाइएको हो।
यसअघि प्रक्षेपणका दुईवटा प्रयास गत साता खराब मौसमका कारण स्थगित गरिएको थियो।
सन् २०२१ को फेब्रुअरीमा होप मङ्गलग्रह पुग्नेछ। त्यो त्यही मिति हो जतिबेला युएई स्थापनाको ५० औ वार्षिकोत्सब हुन्छ।
यही महिना मङ्गल ग्रहमा जान लागेका तीनवटा मिशनमध्ये यूएईको होप मिशन एक हो।
र यो भूउपग्रह मङ्गल ग्रहको कक्षमा पुगेपछि यसले ग्रहको वातावरणले कसरी काम गर्छ भन्ने ताजा विवरणहरूको खुलासा गर्नेछ। उक्त ग्रहको सतहभन्दा झण्डै २२ हजार देखि ४४ हजार किलोमिटर माथि रहेर यो भूउपग्रहले अध्ययनहरू गर्नेछ।
मङ्गल ग्रहबारे बुझ्ने चाहना मानिसमा धेरै पहिलेदेखि देखिन्छ। तर, त्यहाँसम्म पुग्ने धेरैजसो अभियान असफल भएका छन्। कतिपय यानहरु विस्फोट भएका, आगलागी भएका र दुर्घटनामा परेका छन्। रुस र चीनले २०११ मा पठाएको यान असफल भएको थियो।
हालसम्म अमेरिका मात्रै मङ्गलमा सफलतापूर्वक यान उतार्न सफल भएको छ। त्यो पनि ८ पटक। उसले सन् १९७६ मा पहिलो पटक यान पठाएको थियो। नासाका दुई ल्यान्डर अझै मङ्गल ग्रहमा छन्। ६ वटाले मङ्गल ग्रहलाई परिक्रमा गरिरहेका छन्। तीमध्ये तीन वटा अमेरिका, दुई युरोपेली र एउटा भारतीय हुन्।