शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – केही दिन यता नेपालको राजनीति एकाएक गर्माएको छ । सत्तारुढ पार्टीभित्रैबाट दर्जनौ जिम्मेवार नेताहरुबाट प्रधानमन्त्रीको राजीनामाको कुरो उठ्नु चानचुने कुरो होइन । प्रम ओलीको पछिल्लो गतिबिधि र अभिब्यक्तिका कारण चुलिंदै गएको नेकपाभित्रको असन्तुष्टी स्थायी कमिटीको बैठकसम्म आईपुग्दा छताछुल्ल भएको हो । लगत्तै नेकपाका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसमूहले झम्सीखेलमा काउन्टर भेला राखेका छन ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास दुरुपयोग गर्दै बैठककै बीचमा गुटको भेला राखेको भन्दै प्रचण्ड- नेपालले काउन्टर दिएका हुन् । ‘हामीसँग बालुवाटार थिएन । झम्सीखेलको एउटा रेस्टुरेन्टमा भेला भएर पार्टीलाई संस्थागत निर्णयमा हिँडाउन एक मत भयौं,’ एक स्थायी कमिटी सदस्यले भने । अर्का स्थायी कमिटी सदस्य मातृका यादवले भने पार्टीलाई बलियो बनाउन भेला भएको बताए ।

‘पार्टीलाई एकताबद्ध बनाएर जानुपर्छ । निर्णयमा हिँडाउनुपर्छ भन्ने भयो, बैठकमा प्रचण्डले आफ्ना कुरा राख्नुभयो । केही सदस्यले पनि बोलेका थिए’ – उनले भने ।

बैठक साँझ ५ बजेदेखि राति ९ बजेसम्म चलेको थियो । भेलामा ६ जना सचिवालय सदस्य प्रचण्ड–नेपाल समूहको पक्षमा उभिएका थिए । प्रचण्ड, माधव, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ यसअघि नै एक ठाउँमा थिए । रामबहादुर थापा बादल पनि भैंसेपाटी गठबन्धनमै मिसिएको स्रोतको दाबी छ ।

यद्यपि, बादल बिहानको बालुवाटार भेलामा पनि सहभागी थिए । बालुवाटार भेलामा सहभागी हुने बादलका अतिरिक्त टोपबहादुर रायमाझी, मणि थापा, हरिबोल गजुरेल झम्सीखेल भेलामा दोहोरिएका थिए । त्यस्तै नेपाल समूहकामन्त्री घनश्याम भुसाल पनि दोहोरिएका थिए ।

त्यसबाहेक ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल झम्सीखेल भेलामा सहभागी भएको स्रोत बताउँछ । स्रोतका अनुसार सो भेलाको निष्कर्षमा प्रम ओलीले पार्टीको निर्णय मान्नुपर्ने निकालिएको थियो ।

भेलामा सहभागी एक नेताका अनुसार स्थायी कमिटीमा दुईतिहाइ मत प्रचण्ड–नेपाल समूहसंग छ भनेर देखाउन भेलाको आयोजना गरिएको थियो । भेलाले स्थायी कमिटीले गरेको निर्णय अध्यक्ष ओलीले मान्नुपर्ने निष्कर्ष निकालेको थियो ।

स्रोतका अनुसार गत आइतबार मदन जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले गम्भीर अर्थ लागेको भन्दै कारबाही गर्न शीर्ष नेता एकमत छन् । तर, कस्तो कारबाही भन्ने खुलेको छैन ।

‘शीर्ष नेताले राजीनामाको माग गरिसक्नुभएको छ, त्योभन्दा ठूलो र अर्को कारबाही के होला र ? जे भए पनि पार्टीले गरेको निर्णय सबैले मान्नुपर्ने निष्कर्ष निकालिएको छ,’ – एक नेताले भने ।

स्रोतका अनुसार झम्सिखेल बैठकमा ३० जना नेताहरुको सहभागिता रहेको थियो । उनीहरुमा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, लीलामणि पोखरेल, रघुजी पन्त, देवेन्द्र पौडेल, मणि थापा, गणेश साह, चक्रपाणि खनाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, मातृका यादव, मुकुन्द न्यौपाने, देव गुरुङ, वर्षमान पुन, भीम रावल, शक्ति बस्नेत, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, भीम आचार्य, वेदुराम भुसाल, हरिबोल गजुरेल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र घनश्याम भुसाल रहेका थिए  । ***

तपाईको प्रतिक्रिया