काठमाडौँ – फेसबूकले बिहीवार आफ्नो मेसेन्जर यापमा प्रयोगकर्ताहरूको च्याटलाई निगरानी गर्ने बताएको छ । स्मार्टफोन कम्युनिकेसन सिस्टमको सहायताले निगरानी गरेर फेसबूक प्रयोगकर्तालाई ठगीबाट जोगाउनका लागि यसो गर्न लागिएको हो ।
ठगको मेसेज च्याट बक्समा आएमा मेसेन्जर आफैंले सतर्क बनाउँछ । मेसेजहरूको निगारनीको काम आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयरले गर्नेछ ।
मेसेन्जर यापमा प्रयोगकर्ताले कसैसँग च्याट गर्दा स्क्याममा फसाउने कुनै सन्देश देखिनेबित्तिकै फेसबूकले प्रयोगकर्तालाई सतर्क बनाउनेछ । फेसबूकका अनुसार, यो फीचर मेसेन्जर यापमा एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि मार्च महिनादेखि नै आएको छ अनि अबको केही हप्तामा आईफोन प्रयोगकर्तामा पनि पुग्नेछ ।
फेसबूकको निजता तथा सुरक्षा उत्पादन व्यवस्थापन निर्देशक जे सुलिभानले यसको जानकारी दिँदै भने, ‘यसको सहायताले लाखौं प्रयोगकर्तालाई सहायता दिइनेछ र उनीहरूको निजतालाई हानि नगर्दै खतरनाक ठगीहरूबाट पनि बचाइनेछ । कहिलेकाहीँ प्रयोगकर्ताहरूले विश्वासिला मानिससँग च्याट गर्दै गर्दा ठगीको शिकार हुनुपरेको छ र ठगहरूको अकाउन्ट चिन्न पनि कहिलेकाहीँ गाह्रो पर्छ ।’