Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – कोरोना भाइरस (कोभिड-१९)को संक्रमण अहिले विश्वका लगभग सबै देशमा फैलिइसकेको छ । चीन, युरोप हुँदै यसले अहिले अमेरिकालाई आक्रान्त बनाएको छ ।

तर पनि केही देश भने पहिले नै सजगता अपनाएका कारण तुलनात्मक रुपमा कम प्रभावित छन् । गत जनवरी २५ मा चीनबाट तीव्र रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणको सम्भावित खतराबारे विश्वका धेरै मुुलुक अनभिज्ञ थिए । तर दुई मुलुक ताइवान र अस्ट्रेलियामा भने चार-चार जनामा संक्रमण पुष्टि भएको थियो ।

अस्ट्रेलिया र ताइवानको जनंसख्या करिब-करिब बराबर (२ करोड ४० लाख) रहेको छ । दुवै टापु मुलुक पनि हुन् । र चीनसँग व्यापार र यातायातको सञ्जाल जोडिएका देश पनि । कोरोना संक्रमण पुष्टि भएको १० हप्तापछि भने दुई देशको अवस्था अलि भिन्‍न छ । यतिबेला अस्ट्रेलियामा ५ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ भने ताइवानमा ४ सयभन्दा कम संक्रमित छन् ।

आइतबार दिउँसोसम्म ताइवानमा ३५५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ५ जनाको मृत्यु भएको छ भने ५० जना निको भएका छन् । यसो भन्दैमा अस्ट्रेलियाले सावधानी नअपनाएको भन्न नमिल्ने सीएनएनका पत्रकार जेम्स ग्रिफिथ्स बताउँछन् । उनी लेख्छन्, ‘अस्ट्रेलियाले नराम्रो गऱ्यो भन्ने होइन, २० देशमा अस्ट्रेलियामा भन्दा बढी संक्रमण फैलिएको छ ।

तीमध्ये सात वटा देशमा त अस्ट्रेलियामा भन्दा ७ गुणा बढी संक्रमित रहेका छन् ।’ पत्रकार जेम्सले विश्वका अरु देशले नियन्त्रण गर्न नसकिरहेको कोरोना भाइरसको संक्रमण ताइवानले कसरी रोक्न सफल भइरहेको छ भनेर रिपोर्ट तयार पारेका छन् ।

ताइवानमा विश्वकै स्तरीय स्वास्थ्य सेवा रहेको छ । चिनियाँ नयाँ वर्षको संघारमा वुहानमा कोरोना भाइरसको संक्रमण फैलिनेबित्तिकै ताइवानको नेसनल हेल्थ कमान्ड सेन्टर (एनएचसीसी) सम्भावित खतराका लागि आवश्यक कदम चालिसकेको अमेरिकन मेडिकल एसोसियसनको जर्नलमा रिपोर्ट छापिएको छ ।

उक्त रिपोर्टमा ताइवानले द्रुत गतिमा पछिल्लो ५ हप्तामा १२४ वटा ‘आवश्यक कदम’ चालेको बताइएको छ । जर्नलमा ताइवानकी चिकित्सक जेसोन वाङ ताइवानले बोर्डर बन्द गरेर मात्रै नहुने देखेपछि अन्य कदम पनि चालेको बताउँछिन् । अरु देश कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि कदम चाल्ने कि नचाल्ने भन्ने विवादमा अल्झिरहँदा ताइवान भने निकै अगाडि बढिसकेको थियो ।

जनवरीमा जोन होप्किन्स विश्वविद्यालयले गरेको एउटा अध्ययनमा चीनपछि ताइवान कोरोना भाइरस संक्रमणको ‘रेड जोन’ मा राखेको थियो । जोन होप्किन्स विश्वविद्यायलले चीनसँगको निकटता, सम्बन्धर यातायात सञ्जालका कारण ताइवानमा कोरोना संक्रमण तीव्र रुपमा फैलिन सक्ने अनुमान गरेको थियो ।

तर ताइवानले सुरुमै चीनका अधिकांश भूभागबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाइहाल्यो । त्यस्तै कुनै पनि पानीजहाजलाई आफ्नो बन्दरगाहमा रोक्न नदिने निर्णय पनि गऱ्यो । साथै होम क्वारेन्टाइनको नियम पालना नगरे कडा सजाय दिने पनि घोषणा गऱ्यो ।

त्यस्तै ताइवानले मुलुकमा मास्कको अभाव हुन नदिन मास्कको उत्पादन पनि बढाउने काम गऱ्यो । त्यस्तै मुलुकभर परीक्षण गर्ने, पुनस् परीक्षण गर्ने, पहिले निमोनियाजस्तै रोग लागेका र जानकारी नदिने व्यक्तिलाई कडा सजाय दिनेजस्ता कदम पनि अगाडि बढायो ।

साथै कोरोना संक्रमण रोकथामका लागि ताइवानले द्रुत गतिमा चालेको पारदर्शी कदम र दैनिक रुपमा स्वास्थ्य अधिकारीलेहरु पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनेजस्ता क्रियाकलापले महामारीका बेलामा पनि प्रजातान्त्रिक तवरले सरकार चलाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको पत्रकार जेम्स लेख्छन् ।

पछिल्लो अवस्थामा ताइवानसँग घरेलु आवश्यकताका लागि पर्याप्त मात्रामा मास्क रहेको छ । बुधबार ताइवान सरकारले एक करोड मास्क विभिन्न देशलाई सहयोगस्वरुप उपलब्ध गराउने पनि घोषणा गरेको छ । अमेरिका, इटाली, स्पेन, अरु ९ वटा युरोपेली मुलुक र ताइवानसँग मैत्रीपूर्ण सम्बन्ध भएका अरु देशलाई ताइवानले ती मास्क सहयोग गर्ने भएको हो । –कान्तिपुरबाट

तपाईको प्रतिक्रिया