Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौं – नेपालको वाम राजनीतिमा भीम रावलको परिचय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेताको रुपमा मात्र छैन । खरो मिजास, उच्च ज्ञान राख्ने, स्वदेश तथा विश्व राजनीतिक सन्दर्भलाई नजिकबाट बुझ्ने ल्याकत राख्ने नेताको रुपमा पनि चिनिन्छ । राष्ट्रहित र जनताको पक्षमा स्पष्ट कुरा राख्ने रावल पार्टी भित्रैबाट पनि आलोचित भईरहन्छन् । वर्तमान सरकारले राजनीतिक परिवर्तनपछि जनअपेक्षालाई सम्बोधन गर्ने गरी काम गर्न नसकेको उनको तर्क छ । पार्टीमा सरकारको समिक्षा नहुनु र हतारको निर्णयले सरकारप्रति जनताको निराशा बढ्न सक्ने उनी बताउँछन् । आखिर दुई तिहाईको समर्थन प्राप्त सरकारले किन जनअपेक्षा अनुसारको काम गर्न सकेन त ? यो स्वर्णिम अवसरको उचित सदुपयोग गर्न वाम सरकार कसरी अघि बढ्नुपर्ला ? यसै विषयमा केन्द्रित रहेर नेता रावलसंग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंशः-

तपाईले सरकारको मूल्याङ्कन कसरी गर्नुभएको छ ?
पार्टीभित्र सरकारको समीक्षा भएकै छैन । मैले एक्लैले कसरी गर्ने ? हाम्रो पार्टीको संसदीय दल र स्थायी समितिमा पनि धेरै महिनाअघि सरकारको समग्र कामको समीक्षा गर्ने निर्णय भएको थियो । अब त्यो निर्णय कसको निर्णय पुस्तिकामा कहाँ राखिएको छ, त्यो पनि हामीलाई थाहा छैन । यति धेरै राष्ट्रिय-अन्तर्राष्ट्रिय महत्वका घटना भइरहँदा, पार्टीसंग सम्बन्धित यति धेरै बिषय बाहिर उठिरहँदा सरकारबारे समीक्षा नहुनु कम्युनिस्ट पार्टी मात्र होइन, कुनै पनि राज्य सञ्चालन गर्ने पार्टीलाई सुहाउने कुरा होइन ।

जुन अपेक्षाका साथ जनताले नेकपालाई विश्वास गरे त्यो अपेक्षा पूरा भएन भन्न खोज्नु भएको हो ?
यसरी चल्दैन, जनआकांक्षा र कार्यकर्ताको चाहनालाई सम्बोधन गर्नैपर्छ । नेकपाको सरकार बनेको अवस्थामा जनभावना अनुकुलको काम भएन भन्ने कुरा कटुसत्य हो । जनअपेक्षा अनुकुलको काम भएन यो मैले महशुस गरेको छु । हाम्रा घोषणा प्रतिज्ञा र बाचा अनुकुलका काम भएनन् म नै यो भन्दैछु । जनताका कुरा र टिप्पणीलाई मुल्याङ्कन गर्ने बेला भयो । राष्ट्रको हित र कम्युनिस्ट घोषणापत्र अनुसार काम गरेनन् म नै यो निष्कर्षमा पुगेको छु । पार्टी, सरकार देशका लागि काम गर्ने माध्यम मात्र हो । साध्य भनेको देश हो ।

नेकपाभित्र कलह र असन्तुष्टिका खबरहरु आइरहेका छन् नि ?
स्थायी कमिटीको बैठक भएको छैन । अब व्यक्ति-व्यक्तिका आ-आफ्ना क्रियाकलाप हुन्छन् । ती क्रियाकलापका आ-आफ्ना परिणामहरू हुन्छन् । त्यो हुन सक्छ । तर, पार्टीभित्र भयंकर अन्तर कलह चुलिएर बैठकहरूमा चुच्चो माथि भएको भन्ने होइन । व्यक्ति-व्यक्तिका धारणाहरू, दृष्टिकोणहरू फरक हुन सक्छन् ।

तर सरकार पार्टीभित्रैबाट घेराबन्दीमा पर्‍यो भन्न थालिएको छ त ?
होइन, यो कहाँ कसले घेराबन्दी गर्‍यो ? कि त्यसको तथ्यसहित पार्टीमा छलफल भएपछि थाहा हुने कुरा भयो । अब घेराबन्दी कसले गर्‍यो ? को घेराबन्दीमा पर्‍यो ? मलाई यस विषयमा जानकारी छैन । यत्रो नेपाल कम्युनिस्ट पार्टीको बहुमतको सरकार छ । जनताले यत्रो मत दिएर पठाएका छन् । अब पार्टीको निर्णय भन्दा पर गएर कसैले कहीं घेराबन्दी गरेको छ भने, त्यस्ता कुराहरू स्पष्टरुपमा आएपछि टिप्पणी गरौंला ।

राष्ट्रियसभामा गौतम कि खतिवडा भन्ने विषयमा ठूलै रस्साकस्सी छ । सचिवालय बैठकले गौतमलाई प्राथमिकता दिँदा प्रधानमन्त्रीले चाँहि खतिवडालाई नै निरन्तरता दिने आशय व्यक्त गरेका छन् , तपाई के भन्नुहुन्छ ?
सचिवालयले के छलफल गरेको छ, कसो गरेको छ, उहाँहरूले के गर्नुभएको छ, त्यो मलाई जानकारी छैन । म सचिवालयको सदस्य नभएको हुँदा तपाईंजस्तै मैले पनि समाचार माध्यमहरूमा सुनेको हुँ । समाचार माध्यमहरूमा सुनेका आधारमा यसमा म अहिले केही टिप्पणी गर्दिनँ । अब जे निर्णय गरे पनि त्यो केन्द्रीय कमिटीको भावना अनुरूप अगाडि जाँदा पार्टीलाई राम्रो होला भन्ने लाग्छ । तर, एउटा कुराको स्मरण गराउन चाहान्छु, सरकारका कामको मूल्याङ्कनका सन्दर्भमा बाहिर आएका विषय राष्ट्रहित प्रतिकूल, संविधानसंग बाझिने, नेकपाको सिद्धान्त, मूल्यमान्यतासंग नमिल्ने खालका देखिएका छन् भने मैले नगरौं भन्दै सचेत गराउँदै आएको छु । मेरो उद्देश्य सरकारलाई सहयोग गर्ने हो, मैले कुनै व्यक्तिप्रति टिप्पणी गरेको छैन ।

सरकार बाहृय प्रभावमा परेको त होइन ?
कसैको बाहृय प्रभावमा सरकार कर्तव्यबाट विमुख हुन मिल्दैन । कूटनीतिक सम्बन्धमा पनि मर्यादा हुन्छ । यसलाई शिष्टाचार (प्रोटोकल) भनिन्छ । अहिले नेपाली जनताले यस्तै प्रकारका शिष्टाचारका मर्यादा ननाघोस्, देशले झुक्न नपरोस्, नेपालीको मर्यादा कमजोर नहोस् भनेर यत्रो ठूलो बहुमत नेकपालाई दिएका हुन् नि ! तर, यति ठूलो बहुमत प्राप्त सरकार भएको बेलामा पनि आत्महितको निर्णय गर्दा अलमल गरेको देख्नुपर्दा कम्युनिस्ट पार्टीको सदस्यको हैसियतबाट मेरो शिर निहुरिएको छ ।

सरकारको कूटनीतिक सम्बन्ध र कायशैली कस्तो पाउनुभएको छ ?
मैले गृह तथा रक्षा मन्त्रालय सम्हाल्दादेखि नै राष्ट्रिय सुरक्षा नीतिमा जोड दिँदै आएको हुँ । राष्ट्रिय सुरक्षा नीति ल्याएर रणनीति र सुरक्षामा जोड दिएँ । विपक्षमा रहेकासंग भेटेर मस्यौदा दिएर सहमत गराउने र धारणा लिने प्रयास गरें । चर्चामा रहेको एमसीसी होस् या अन्य कुनै प्रकारका शक्ति राष्ट्रका रणनीतिक गठबन्धनमा नेपाल जान सक्दैन । मुलभूत रुपमा नेपालको संविधान, नेकपाको विधान, यसको राजनीतिक सिद्धान्त, नेपालको राष्ट्रिय हीत, सार्वभौम समानताको सिद्धान्तसंग मेल नखाने कुराहरुमा एकजुट हुनुपर्छ भन्ने मेरो भनाई हो । यसलाई आत्मसात गरेर अघि बढ्न सक्नुपर्छ । अनि मात्र यो मुलुक सुरक्षित हुन्छ ।

अहिले त विगतका गल्ती सच्याएर अघि बढ्नुपर्ने होइन र ?
हो, विगतका गोर्खा भर्तीदेखि सन् १९५० का सन्धिलगायत असमान सन्धि सम्बन्धित देशसंग वार्ता गरेर बदलिँदो परिस्थितिमा कसरी अघि बढ्ने भनेर सोच्ने ठूलो अवसर कम्युनिस्ट पार्टीलाई छ । हामी लोकतन्त्र, लोकतन्त्रीकरणको कुरा गर्छौ । घरेलु राजनीतिको कुरा गर्ने अनि त्यसकै विस्तारित स्वरूपको कूटनीतिलाई चटक्कै बिर्सने ? मोहनशमशेरले आफूलाई सुरक्षित राख्न गरेको सन्धिलाई ‘छाप’ लगाउने हो भने जनताले के भन्लान् ? पार्टीभित्र बहस हुन आवश्यक छ ।

तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटा अडियो प्रकरणबारे तपाई के भन्नुहुन्छ ?
यो विषय कुनै व्यक्तिको कुरो होइन । मैले संसदमा पनि भनिसकेको छु, कुनै पनि व्यक्तिले भ्रष्टाचार क्रियाकलाप गरेको छ भने कसैले उन्मुक्ति पाउने, कसैलाई कारबाही नहुने भन्ने कुरा यो पार्टीगतरूपमा पनि र सरकारी दृष्टिकोणबाट पनि उचित हुँदैन । जोसुकै व्यक्ति होस्, यदि निजले गल्ती गरेको छ, भ्रष्टाचारजन्य क्रियाकलाप गरेको छ भने त्यो पार्टीको तहबाट पनि र सरकारको निकायको तर्फबाट पनि कारवाही हुनुपर्छ । जुनसुकै व्यक्ति, जनसुकै पदको भए पनि कारवाही हुनुपर्छ । तथ्य प्रमाणले निजले भ्रष्टाचार गरेको कुरा अगाडि आइसकेपछि तत्सम्बन्धमा सम्बन्धित व्यक्तिले जिम्मेवारी लिनुपर्छ । यसका लागि सम्पूर्ण पार्टीलाई नै खराब हो भन्न पनि मिल्दैन ।

अब एमसीसीबारे कुरा गरौं, तपाईं पनि सहभागी रहेको कार्यदलले प्रतिवेदन बुझाइसकेपछि पनि त्यसमा के छ भन्ने कुरा बाहिर आएको छैन । कस्तो सुझाव छ प्रतिवेदनमा ?
त्यो विषयमा हाम्रो आचार विधि बनेको छ । जबसम्म हाम्रो पार्टीको माथिल्लो तहबाट, सम्बन्धित निकायबाट अब यो सार्वजनिक गर्ने, बोल्ने भन्ने हुँदैन, तबसम्म नबोल्ने आचार विधि भएको हुनाले म अहिलेसम्म बोलेको छैन । त्यसकारण उपयुक्त समय आएपछि सबै कुरा आइहाल्छ । त्यो कुनै गोप्य दस्तावेज होइन । त्यो कार्यदलको प्रतिवेदन मात्रै हो । त्यो देश र जनता सबैले प्रत्यक्षरूपमा थाहा पाउनुपर्ने विषय हो । त्यतिबेलै भनुँला, अहिले मैले यसमा टिप्पणी गर्न त्यति उचित नहोला ।

महामारीका रुपमा फैलिएको कोरोना रोकथामका लागि सरकारले गरिरहेको पूर्व तयारीलाई कसरी लिनुभएको छ ?
सर्वप्रथम त कोरोनाले आम मानिस जसरी सशंकित भइरहेका छन् त्यो अवस्था सिर्जना हुन नदिन सरकारले सचेतना अभियान थाल्नुपर्छ । विमानस्थलको चेकजाँचलाई पनि चुस्त बनाउदै भारतसंग सीमा जोडिएका क्षेत्रमा विशेष निगरानी र सचेतता बढाउन आवश्यक छ । मैले संसदमा पनि भनेको छु- ‘आपुर्ती व्यवस्थाबारे सरकारले जनतालाई ढुक्क पार्नुपर्छ, सहर र घना बस्तीमा सरसफाईको पूर्वप्रबन्धको व्यवस्था थालिहाल्नुपर्छ, त्यो भयो भने प्रकोप फैलन पाउँदैन र त्यसलाई नियन्त्रण गर्न सहज हुन्छ’ भनेर । सबैभन्दा ठूलो कुरा त सचेतना फैलाउने हो त्यो काममा सरकार जुटि नै रहेको छ । जनता पनि आफै सचेत हुनुपर्छ ।

अन्त्यमा, विप्लवहरूको सन्दर्भमा के टिप्पणी छ ?
नेपालको संविधानले लेख्ने-बोल्ने अधिकार सबैलाई दिएको छ । कहींकतै बाधा-अवरोध गर्छ भने त्यसबारे जोकोहीले पनि भन्न सक्छ । अहिले हाम्रो देश यति लामो संक्रमणकालपछि शान्तिको लयमा छ । तर, सत्य निरूपण तथा मेलमिलाप, बेपत्ता व्यक्तिको छानबिन आयोगको काम पूरा गरिरहेका छैनौं । चीन र भारतजस्ता विशाल मुलुकका बीचमा छौं । भूराजनीतिक संवेदनशीलता ख्याल गर्न आवश्यक छ । यस्तो समयमा अर्को घरेलु मुद्दा निस्कँदा विस्तारै समाधानतर्फ जानैपर्छ । सचेत नभए नेपालको अस्तित्व नै समस्यामा पर्ने अवस्था देख्छु ।***

तपाईको प्रतिक्रिया