काठमाडौं – पुरातात्विक महत्वको राष्ट्रिय सम्पदा धरहराबाट राजधानी काठमाडौंको दृश्वावलोकन गर्ने आम सर्बसाधरणको उत्कट चाहना अब छिट्टै पूरा हुनेभएको छ । राष्ट्रको धरोहर अत्याधुनिक धरहरा अबको नौ महिनाभित्र मुख्य संरचना सक्नेगरी यतिखेर तीव्र गतिमा निर्माण भइरहेको हो ।
देशको गौरव र पहिचानसँग जोडिएको ऐतिहासिक धरहराको मुख्य संरचना अबको नौ महिनाभित्र सम्पन्न हुने निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । आगामी एक वर्षभित्र आम सर्बसाधरणले २२ तले धरहराको टुप्पोबाट राजधानी काठमाडौंको मनोरम दृश्वावलोकन गर्न पाउनेछन् ।
विसं २०७२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त भएको धरहराको डेढ वर्षअघि पुनःनिर्माण शुरु गरिएको थियो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७५ पुस १२ गते प्रधानमन्त्री केपी शर्मा आलीले धरहरा पुनःनिर्माणको शिलान्यास गरेका थिए । साबिकको धरहरा रहेको स्थान सुन्धारामा करिब ४२ रोपनी क्षेत्रफलमा धरहरा निर्माण भइरहेको हो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव हरिहर शर्माले धरहरा निर्माणको काम द्रुत गतिमा अघि बढेकाले अबको एक वर्षमा सर्बसाधरणले धरहरा चढ्न पाउने बताए । उनका अनुसार अहिले धरहराको निर्माणको भौतिक प्रगति ३७ प्रतिशत र वित्तीय प्रगति करिब ३१ प्रतिशत रहेको छ । निर्माण अवधिको बाँकी नौ महिनामा धरहराको मुख्य संरचना तयार भइसक्नेछ ।***