काठमाडाैं – तुरतुकसम्म पुग्नु त्यति सहज छैन । यो सानो गाउँ उत्तर भारतको लद्दाख क्षेत्रको नुब्रा घाटीमा सबैभन्दा टाढा छ । यसको एकापट्टि श्योक नदी बग्छ भने अर्कोपट्टि कराकोरम पर्वत शृंखलाका अग्ला पहाडहरु छन् ।
तुरतुकसम्म जान र त्यहाँबाट फर्केर आउन केवल एउटा बाटो छ । एउटा कच्ची सडक लेहको पहाडी खोँच हुँदै यहाँसम्म पुग्छ । घुमाउरो सडकको दुवैतर्फ अतिमनोरम दृश्य देख्न सकिन्छ । तर, त्योभन्दा पनि रोचक छ यहाँको इतिहास । तुरतुक एक यस्तो गाउँ हो जसले आफ्नो देश नै गुमाएको छ । भारतको बाल्टी गाउँ
लद्दाखको अधिकांश भूभागमा बौद्ध धर्मको अनुसरण गर्ने लद्दाखी तिब्बती बसोबास गर्छन् । तर तुरतुक एक बाल्टी गाउँ हो । बाल्टी भाषा परिवारका पूर्वज तिब्बती थिए । विशेषतः बाल्टी भाषा परिवारका मानिस पाकिस्तानको स्कर्दु क्षेत्रमा बसोबास गर्दछन् ।
यो गाउँका मानिसहरु नूरबख्शी मुसलमान हुन् । नूरबख्शी मुसलमान इस्लामको सूफी परम्पराको एक हिस्सा हो । बाल्टी मुख्यतः तिब्बती भाषा अन्तर्गतको भाषा हो । गाउँका मानिसहरु कुर्ता सुरुवाल लगाउँछन् । उनीहरुको रहनसहन, संस्कृति बाल्टिस्तानमा बसोबास गर्ने मानिससँग धेरै मिल्दछ । भारतको सीमारेखाभन्दा करीब ६ किलोमिटर अगाडि पाकिस्तानतर्फ यो बस्ती आउँछ ।
सन् १९४७ मा भारत पाकिस्तान छुट्टिँदा यो बस्ती पाकिस्तान अन्तर्गत परेको थियो । तर, सन् १९७१ को लडाइँमा भारतले यो क्षेत्रलाई आफूमा गाभेको हो । सीमाले विभाजित गाउँ
भारतले गाउँलाई आफ्नो बनाइसकेपछि सुरक्षाको चिन्ताले फेरि पाकिस्तानलाई सुम्पिन चाहेन । सन् १९७१ को युद्ध भएको रात जो यो गाउँबाट पाकिस्तानका अन्य क्षेत्रमा आफ्ना इष्टमित्रलाई भेट्न भनी गए, तिनीहरु फेरि फर्केर यो गाउँमा कहिल्यै आउन पाएनन् । त्यस बेलादेखि नै यहाँ भारतको नियन्त्रण छ ।
यहाँको सीमा क्षेत्र पछिल्ला केही दशकदेखि निकै शान्त छ । सन् २०१० मा तुरतुकलाई पर्यटनका लागि खुला गरियो । पर्यटकहरु यहाँ घुमफिर गर्न, यहाँको रहनसहन तथा जीवनशैलीलाई नजिकबाट बुझ्न यहाँ आउन सक्छन् । बाल्टीहरु कराकोरमको ढुंगाबाट नै पर्खाल बनाउँछन् । उनीहरुको घर र भित्ता पनि यिनै ढुंगाले बनेको छ । सिँचाइको लागि बनाइएको नहर पनि यहींको ढुंगाले नै बनाइएको छ । स्थानीय चिस्यान प्रविधि
तुरतुकको उचाइ लद्दाखको अन्य क्षेत्रको तुलनामा कम छ । यो गाउँ समुद्री सतहबाट केवल २ हजार ९ सय मिटरको उचाइमा छ । यहाँ ग्रीष्म याममा बढी गर्मी हुन्छ ।गाउँवासीले ढुंगाको प्रयोग गरेर शीत भण्डार गृहको निर्माण गरेका छन् । उनीहरु यहाँ मासु, दही, नौनी र गर्मीमा बिग्रिने खाद्यपदार्थ राख्छन् ।
बाल्टी भाषामा यसलाई नागचुङ भनिन्छ । यसको अर्थ शीतघर हो ।
ढुंगाबाट जमीनमुनि बनाइएका यी घरमा चिसो हावा चल्नलाई प्वाल पनि बनाइएको हुन्छ । यसै कारण भित्रको तापक्रम बाहिरको भन्दा निकै कम हुन्छ र यहाँ राखिएका पदार्थ सुरक्षित रहन्छन् । खेतीको आफ्नै परम्परा
तुरतुकको मुख्य बाली जौ हो । यो उचाइमा यहाँ यही एउटा अन्न उब्जनी हुन्छ । यहाँको उचाइ केही कम हुनाले मानिसहरु यहाँ फर्सी आदि सागसब्जीको पनि खेती गर्छन् । तर, आरु र ओखरको लागि यो क्षेत्र निकै प्रसिद्ध छ । यसको खेतीका लागि मेहनत भने निकै पर्दछ ।
यहाँको खेतमा वर्षभरि नै काम भइरहन्छ । रोप्ने र बाली भित्र्याउने काम निरन्तरजस्तै भइरहन्छ । कराकोम पर्वत शृंखलाको कालो चट्टान र नदीको घाटीको बिरान जमीनको बीचमा तुरतुकको हरियाली अवर्णनीय लाग्दछ । संस्कारप्रति इमानदारी
भारत र पाकिस्तानको बीचमा कश्मीरको विषयलाई लिएर जति तनाव भए पनि तुरतुकको जीवन भने निकै शान्त छ । यहाँका सबै गाउँवासीसँग भारतीय परिचयपत्र छ । सन् १९७१ मा भारतले यो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँका सबैलाई भारतीय नागरिकता दिइएको थियो ।
नुब्रा घाटीको आधुनिकीकरणका लागि यहाँ नवीन प्रयासहरु भइरहेका छन् । नयाँ सडक, स्वास्थ्यसेवा, यातायात र पर्यटनको विकासले यो क्षेत्रको राम्रो दिन आउने संकेत गर्दछ ।
तथापि, यो क्षेत्र भारतको जस्तो महसूस हुँदैन । आरुको बगैंचा, नूरबख्शी मुसलमानको मस्जिद, ढुंगाको घर र ढुंगाले नै बनाइएको नहर यहाँको विशेष पहिचान हो । आरु र ओखरको अचार, कोदोको रोटी, याकको मासु यहाँको परम्परागत व्यञ्जन हो । यसले बाल्टीको सांस्कृतिक परम्परालाई जीवन्तता दिइरहेको पाइन्छ ।
वसन्तको समयमा यहाँको प्रकृति अझै बिछट्ट देखिन्छ । जब पहाडमा पुरानो पात झरेर नयाँ पालुवा पलाउँछ, त्यसको रङले पहाडको खैरो रङलाई ओझेलमा पारिदिन्छ । यो क्षेत्रमा भूकम्प र पहिरोको खतरा भने त्यतिकै रहन्छ । तथापि, ढुंगाले बनाइएका पर्खालहरु यहाँ वर्षौंदेखि सानले अटल रहिरहेका छन् ।