Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य डा. मिनेन्द्र रिजाल काँग्रेसभित्रका एक स्पष्ट वक्ता हुन् । बेलाबेलामा संसदमा राष्ट्रिय मुद्दाबारे चर्को बोल्ने र सरकारका गलत क्रियाकलापको तिखो आलोचना गर्न सक्ने डा. रिजालले संसदमा गणितीय रूपमा कमजोर उपस्थिति रहेको काँग्रेसलाई थप कमजोर हुन नदिने कोसिस गर्छन् । तथापी काँग्रेसको प्रतिपक्षी भूमिका कमजोर रहेको भन्दै आलोचना हुने गरेको छ । अर्कातिर काँग्रेसमा १४ औं महाधिवेशन कहिले गर्ने भन्नेमा आन्तरिक टकराव पनि देखिन थालेको छ। यसै सन्दर्भमा देशको समसामयिक राजनीति, सरकारप्रति नागरिकमा बढ्दै गएको वितृष्णा र काँग्रेस महाधिवेशनबारे केन्द्रीत रहेर डा. रिजालसंग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंशः-

अब नेपाली काँग्रेस महाधिवेशनको तयारीमा लागेको हो ?
नेपाली काँग्रेसले संघीय राज्य व्यवस्था अन्तर्गत संविधान जारी भइसकेपछि संघीयतामा आधारित नयाँ विधान बनायो । त्यस बमोजिम नीतिगत सहमति गरेर सबै स्थानीय तहसम्म संगठनहरु निर्माण गर्दैछौं । यो काम चाँडै सम्पन्न हुन्छ । त्यसपछि सातवटै प्रदेशमा अधिवेशन गरेर प्रदेश कार्यसमितिहरु निर्माण गर्नुपर्छ भनेर कुरा भएको छ । प्रदेश संगठनहरु अधिवेशनबाटै हुन्छ, नीतिगत सहमतिबाट व्यक्ति पुर्‍याउन सक्ने अवस्था छैन । सातवटै प्रदेशमा निर्वाचन प्रक्रियाद्वारा नेतृत्व चयन हुन्छ । त्यसपछि १४ औं महाधिवेशनको कार्य प्रारम्भ हुन्छ । खासगरी स्थानीय तहमा नयाँ संगठन निर्माण भइसकेपछि १४ औं महाधिवेशनको कार्यतालिका प्रारम्भ हुन्छ ।

तपाई आफै निर्देशिका समितिको सदस्य हुनुहुन्छ र तपाईंहरूले केन्द्रीय समितिमा बुझाएको प्रतिवेदन पास पनि भएको छ, अब संरचनाहरू बनाउने काम कुन तहबाट सुरु हुन्छ ?
हामी १३ औं महाधिवेशनबाट निर्वाचित भयौं, हाम्रो पदावधि कायम छ । हिजो झण्डै ४० हजार वडाहरू थिए आज झण्डै ६ हजार बढी वडाहरू छन् । हिजो झण्डै चार हजार नगरपालिका र गाविस थिए आज ७ सय ५३ गाउँपालिका र नगरपालिका छन् । निर्वाचन क्षेत्र २ सय ४० थिए अहिले १ सय ६५ छन् । यस अवस्थामा कतिपय ठाउँमा हाम्रो संरचना छैन भने कतिपय भएका ठाउँलाई रुपान्तरण गर्नुपर्नेछ । दुई सय ४० वटा संविधानसभा निर्वाचन क्षेत्रलाई १ सय ६५ वटा निर्वाचन क्षेत्रमा रुपान्तरित गर्नुछ । अब नयाँ संरचना अनुसार निर्वाचन क्षेत्र र सात वटा प्रदेशमा संरचना बनाउनु छ । दुईवटा जिल्लामा पनि संरचना बनाउनु छ । सातवटा प्रदेशमा विधानमा १३ औं महाधिवेशन प्रतिनिधिले नै मत दिएर नयाँ संरचना खडा गर्न सक्ने भनिएको छ ।

तपाईहरू पार्टीको १४ औं महाधिवेशनको कुरा गरिरहनु भएको छ, तर पार्टीको भ्रातृ संगठनहरू नै लथालिंग छन् ?
भ्रातृ संगठनको विषयमा मेरो छुट्टै विचार रहेको छ । विधानमै मैले फरक प्रस्ताव गरेको हुँ । हो भ्रातृ संस्थाहरुको संगठन निर्माणमा महत्वपूर्ण भूमिका रहेको छ । तर अहिलेको अवस्थामा भ्रातृ संस्थाहरु पार्टीको केन्द्रीय राजनीतिको गुट, उपगुटमा हावी भइरहेको छ । भ्रातृ संस्थाका नेता कार्यकर्ताहरु गुट, उपगुटको राजनीतिमा तल्लीन हुने अवस्थाले पार्टीको हित हुँदैन । त्यसैले उनीहरुलाई जुन कार्यक्षेत्र हो त्यसकै बीचमा पुर्‍याउनुपर्छ भन्ने मेरो धारणा हो । विद्यार्थी संगठन, विद्यार्थीकै बीचमा हुनुपर्‍यो । तरुण, तरुणकै बीचमै हुनुपर्छ । महिला, महिलाकै बीचमा हुनुपर्छ । किसान, किसानकै बीचमा हुनुपर्छ । तर जे भए पनि अबको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाहरुबारे पदाधिकारीहरुले प्रस्ताव ल्याउन ढिला गर्नुहुँदैन भन्ने मेरो मान्यता हो । प्रस्ताव आएपछि हामीले सुझाव दिन सक्छौ । तर यो काम चाँडै होस् भन्ने मेरो पनि चाहना हो ।

काँग्रेसमा यतिबेला तीन वटा गुट सक्रिय छ भनिन्छ । निर्वाचनपछि पार्टीको हारको विषय खोजेर पार्टी बलियो बनाउनुपर्ने तपाईहरुको नैतिक जिम्मेवारी थियो तर कहाँ हराउनुभयो ?
हामी कहीपनि हराएका छैनौं । गएको निर्वाचनमा केन्द्रीय तहका निर्णयहरुमा केही त्रुटी र कमजोरी भएकै हो । त्यसलाई केन्द्रले आत्मसाथ गरेको छ । अब आगामी दिनमा विगतका गल्ती नदोहोरिने गरी पाठ सिकेर पार्टी अगाडि जानुपर्छ । १४ औं महाधिवेशनबाट बन्ने संगठन जो हुन्छ केन्द्रदेखि वडातहसम्म संघीय राज्य व्यवस्था अनुसारको, त्यो संगठनको ठूलो जिम्मेदारी छ आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउने । हामीले विगततर्फ धेरै नहेरीकन विगतका गल्तीहरु नदोहोर्‍याउने संकल्प गरेर नयाँ दृष्टिका साथ हामी अगाडि जान सक्नुपर्छ । नयाँ शैलीका साथ अगाडि जान सक्नुपर्छ । यो नै पार्टीको वृहत्तर हितमा हुन्छ भन्ने मलाई लाग्छ ।

तर पछिल्लो अवस्थामा काँग्रेस त्यसतर्फ क्रियाशिल नभएको भन्ने गुनासो सुनिन्छ नि ?
राजनीतिक दलमा विभिन्न धारहरु हुन्छ । नोपाली काँग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो। हाम्रो आन्तरिक संरचनाहरु पनि लोकतान्त्रिक नै छन् । यो कुनै तानाशाही दर्शनमा विश्वास गर्ने पार्टी होइन । तानाशाही ढंगले पार्टी गठन पनि हुँदैन यसको परिचालन पनि हुँदैन । हरेक कालखण्डमा नेपाली काँग्रेसभित्र विवाद छ र त्यही विवादको बीचबाट निष्कर्ष निकालेर पार्टी आज यहाँसम्म आइपुगेको हो । संवैधानिक राजतन्त्र लेखेर आएको पार्टी आफ्नै नेतृत्वमा गणतन्त्रको झण्डा फहरायो । काँग्रेस समग्र रुपले लोकतान्त्रिक पार्टी भएकोले यो भित्र बहस र विचार हुनु स्वभाविक हो । लाइक माइन्डेड साथीहरु एक ठाउँमा बसेर छलफल गर्नु स्वभाविक छ, यसलाई गुटबन्दी भनेर चिन्ता गर्नुपर्ने म देख्दिन ।

उसोभए पार्टी भित्रको बहसले त पार्टीलाई सपार्नु पर्ने होइन, खोइ त्यस्तो भएको ?
हो, पार्टी ठीक ढंगले अघि बढेन भनेर समूहगत रुपमा आवाज उठाउँदा तपाईहरु गुटबन्दी भयो भन्नुहुन्छ । गणतान्त्रिक संविधान काँग्रेसकै नेतृत्वमा जारी भयो तर ऊ आफै केन्द्रीकृत भएर बसेको छ । चुनाव हार्नुको मुल कारण यो पनि एउटा हो । हाम्रो संगठन संघीय संरचनामा नबन्ने तर काँग्रेस आफ्नै नेतृत्वमा संघीय निर्वाचनमा जानु हारको एउटा यो पनि कारण हो । संघीय संरचना अन्तर्गत हाम्रो संगठन नहुनु पनि एउटा हारको कारण हो । महासमितिमा यो विषयमा कुरा उठिसकेपछि हामीले विधान परिवर्तन गर्‍यौं । आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने, गाउँ नगरपालिका, प्रदेश निर्वाचन क्षेत्रलाई तुरुन्तै संघीय संरचनामा लैजाऔं र यसलाई काम गर्ने मौका दिऊं भन्नु गुटबन्दी हैन बहस हो ।

राष्ट्रिय राजनीतिमा पनि प्रतिपक्ष काँग्रेस कमजोर देखियो नि ?
यो किन भयो भने यतिबेला एमाले र माओवादी मिलेर गएपछि उनीहरुको संख्या धेरै छ । काँग्रेस समग्रमा प्रतिपक्ष नै हो । प्रतिपक्षले वैचारिक र सांगठनिक रुपले धेरै मेहनत गर्नुपर्छ । हामीले पार्टी नेतृत्वलाई यही सुझाव दिएका छौं । संसद्मा केन्द्र प्रदेश र स्थानीय तहसम्म प्रतिपक्ष नै हो काँग्रेस । यो विषय पार्टीभित्र उठेको छ । हामीले सुझाव दिएका छौं । सभापतिलाई बारम्बार भन्ने गरेका छौं । अब मंसिर सम्ममा स्थानीय संरचनाहरु बनेपछि काँग्रेस सडकमा पनि सशक्त भएर आउँछ ।

काँग्रेस सुधार्न चाँही के गर्नुपर्ला ?
नेपाली काँग्रेसभित्र उत्पन्न विचलनलाई चिर्न सबै तहमा परिवर्तनको आवश्यकता रहेको छ । पार्टीभित्र तल्लो निकायबाट नै परिवर्तन हुनुपर्छ । नेपाली काँग्रेसको सुन्दर भविष्यका लागि सबै एक भएर अघि बढ्नुपर्छ । लोकतान्त्रिक पार्टी गुट-उपगुट भएपनि स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । पार्टीभित्रको चरम निराशालाई चिर्न नेतृत्वले सकिरहेको छैन । यसका लागि तल्लो तहदेखि माथिल्लो तहसम्म सबैमा परिवर्तनको खाँचो देखेको छु ।

मुलुकको राजनीतिक अवस्थालाई चाही यहाँले कसरी मुल्याङ्न गर्नुभएको छ ?
मैले नेपालको राजनीतिक परिस्थिति राम्रो देखेको छैन । के कारणले ठ्याक्कै भन्न सक्दिनँ । परिवर्तनपछिको यो संवैधानिक व्यवस्थामाथि नै प्रहार हुन खोजेको, त्यसलाई नै उल्टाउन खोजेको, पछाडितिर फर्काउन खोजेकोजस्तो भान हुन थालेको छ । सरकारको कामकारबाही पनि यो व्यवस्थाको माध्यमबाट देशलाई प्रगति दिन, आर्थिक उन्नति दिन सकिन्छ भन्ने खालको नदेखिने र जनताको मनोबल बढ्नेभन्दा मनोबल घटाउने खालका गतिविधि सरकारकै क्रियाकलापबाट देखिएका छन् । यो व्यवस्थाको जुन मौलिक गुण छ त्यो सुदृढ गर्नेतर्फ बलियो आवाज देखिएको छैन ।

एउटा फरक प्रसंग, पछिल्लो विषयमा धर्मका विषयलाई लिएर संविधान संशोधन हुँदैछ भन्ने व्यापक चर्चा सुनिएको छ, यसलाई कसरी हेर्नुभएको छ ?
काँग्रेसको आन्तरिक विधानमा पनि धर्मको विषय नउठेको होइन । उठेको थियो र यो दबाब सँधै रहिरहन्छ । धर्मको विषयमा हाम्रो संविधानमा प्रष्ट छ । धर्म मान्न पाउनुपर्छ । जसले जुन धर्म मान्न चाहन्छ, उसलाई त्यो धर्म मान्नबाट रोक्नु हुँदैन । त्यही किसिमको व्याख्या संविधानले गरेको छ । संविधानले कुनै पनि धर्मलाई निषेध गरेको छैन । धर्म निरपेक्षताको अर्थ धर्मको निषेध हैन, धार्मिक स्वतन्त्रता हो । हाम्रो संविधानले धर्मलाई निषेध हैन धार्मिक स्वतन्त्रतालाई प्रत्याभूत गरेको छ । सबैले आ-आफ्नो धर्म मान्न पाओस्, अंकुश वा नियन्त्रण नहोस्, सनातनदेखि चलिआएको धर्म सँस्कृति परम्परा कायम रहोस् भन्ने हो । त्यसैले धर्मको विषयलाई राजनीतिक बहस बनाउनु मुलुकको लागि हितकर छैन । यसले न धर्मलाई फाइदा पुग्छ न राजनीतिलाई नै ।

अन्त्यमा, हिन्दू राज्यसँगै राजतन्त्र फर्किर्ने चर्चा पनि सुनिन थालेका छन नि ?
फेरि राजतन्त्र आउँछ भन्नेमा मलाई विश्वास छैन । देश गणतन्त्रमा धेरै अगाडि गइसकेको छ । र, यो फेरि पछाडि फिर्ने अवस्थामा नेपालको राजनीति छैन । त्यसैले राजावादीसँग संघर्षको कुरा गर्नु बेकारको कुरा हो भन्ने मलाई लाग्छ । यो परिवर्तनलाई सुदृढ गर्नका लागि, यसलाई मुलुकको व्यापक हितमा काम गर्नका लागि राजनीतिक दलहरु सचेत र सजग रहनुपर्छ भन्ने मेरो मान्यता छ ।***

तपाईको प्रतिक्रिया