Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा पत्रकार किशोर श्रेष्ठले रवि लामिछाने पत्रकार नभएको बताएका छन् । एक अन्तर्वार्ताका क्रममा श्रेष्ठले रवि लामिछाने पत्रकार नै नभएको बताएका हुन् ।

पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा श्रेष्ठले प्रश्न गरे,‘उहाँले आफैं भनिरहनुभएको छ म पत्रकार होइन, प्रेस पास लिन्न तपाईं किन उहाँलाई जबरजस्ती पत्रकार बनाइरहनु भएको छ ?’

त्यसपछि पत्रकार धमलाले प्रश्न गरे, 
उसो भए रविजी पत्रकार होइन ?
किशोर श्रेष्ठ : सारा मेन स्ट्रिमका मिडिया हेर्नुहोस्, टिभी कार्यक्रम प्रस्तोता भनेर लेखेको छ । पत्रकार उहाँले नै होइन भनिरहनुभएको छ त तपाईं को उहाँलाई पत्रकार भन्ने ?

ऋषि – किन उहाँ पत्रकार होइन ?
किशोर श्रेष्ठ – सूचना विभागलाई न्यूज २४ ले पठाएको विवरणमा रविको कर्मचारी नम्बर १९ भनेको छ । एउटा विदेशी कर्मचारी कसरी हुन्छ ? श्रम इजाजत पनि थिएन । उहाँले मलाई कसले छुन सक्छ भन्दै सिस्टमलाई ‘च्यालेन्ज’ गर्नुभयो । उहाँ चाहिं के कानूनभन्दा माथि हो ? उहाँको बारेमा छानबिन गर्न नपाउनु ? कानून तोडेर बस्ने मान्छे उहाँ चाहिँ के त ? अरुलाई औंला ठड्याउने मान्छे आफू शुद्ध हुनुपर्दैन ?

ऋषि – आज नेपाली जनता रविको पक्षमा छन्, सडकमा छन् त ?
किशोर श्रेष्ठ – सडकमा आउन नेपालमा छुट छ नि ! विचार राख्न छुट छ । लोकतन्त्र मानिएको देश । हिजोजस्तो अभिव्यक्ति स्वतन्त्रता छ । अन्त कतै नभएको पूर्ण प्रेस स्वतन्त्रता छ । संविधानको धारा २७ ले सूचनाको हकसँगै धारा २८ ले गोपनीयताको हक पनि दिएको छ । तपाई‌ले आफ्नो अधिकार उपयोग गर्दा अरुको अधिकार स्वतन्त्रता उल्लंघन गर्न पाउनुहुन्न ।
रवि लामिछाने निष्पक्ष हो उसलाई जोगाउनुपर्छ भनिरहँदा यसलाई चाँहि जिउँदै आगो लगाएर मार्छु भनेर तपाईंले भन्न पाउनुहुन्न । त्यस्तो भनिएको भिडियो आएको छ । प्रचण्डलाई त्यस्तो भनिएको छ, जो देशको दुईपटक प्रधानमन्त्री बन्नुभएको छ । प्रचण्डको छोरी जनताबाट निर्वाचित मेयर र दानबहादुर मल्ल राज्यले पत्याएर पठाएका एसपी छन् । अनि उहाँलाई हिरासतमा बस्नु परो भनेर त्यसको काउन्टरको रुपमा किशोर श्रेष्ठ, दानबहादुर मल्ललगायतलाई अर्को मुद्दा लगाएर अल्झाइदिऊँ भनेर हुन्छ ।

ऋषि – एउटा पत्रकारलाई जोगाउन प्रेस काउन्सिल, पत्रकार महासंघ किन नहिँडेको ?
किशोर – जब आफैले पत्रकार म पत्रकार होइन भनिरहनुभएको छ त तपाईं जबरजस्ती उहाँलाई किन पत्रकार बनाउन खोज्दै हुनुहुन्छ ?

ऋषि – उहाँले म सञ्चारकर्मी हो भनिरहनुभएको छ त ?
किशोर श्रेष्ठ – उहाँले के भनिरहनुभएको छ भने घटनाको निष्पक्ष छानबिन हुनुपर्छ म सघाउन तयार छु भनेको होइन ? जानुभयो त उहाँ सघाउन आफैं ? सघाउने भनेको के हो ? अदालत गएर बयान दिने हो । सघाउने भनेको के हो ? प्रहरीकहाँ गएर मेरो प्रमाण यो हो, म चोखो छु भन्ने हो । ममाथि मिथ्या दोष आइलाग्यो भन्न जाने हो ।

ऋषि – जनताले यो कुरालाई विश्वास गर्न सकिरहेका छैनन्, प्रदर्शन गरिरहेका छन् त फेरि ?
किशोर श्रेष्ठ – जनताको कुरा नगर्नुस् । तपाईलाई के लागिरहेको छ ? तपाईलाई पनि ५७ दिन थुनेर यातना दिइयो । कूटनीतिक, अन्तर्राष्ट्रिय मिडियाले साथ दियो तपाईका हकमा । तपाई नेपालको कानून मानेर हिँड्नुभएको थियो त्यही भएर तपाईको पक्षमा सबै उर्लिए । मैले उहाँ(रविजी) को अपमान गर्न खोजेको होइन, मै हुँ भन्ने कुन नेपाली पत्रकार उहाँको पक्षमा आएको छ ? मै हुँ भन्ने राजनीतिज्ञको को आएको छ अगाडि ? मै हुँ भन्ने कर्मचारीतन्त्रबाट को बोलेको छ ? भ्रममा कहिले पनि बस्नुहुँदैन । भिडको भ्रममा बाँच्ने मानिसहरुको जिन्दगी, करियर क्षणिक हुन्छ । कर्ण हेजुलाई त्यही भिडले भक्तपुरमा जितायो । नारायणमान विजुक्छेंले नै टिकट दिनुभएको थियो । तर त्यही भिडले नै कर्ण हेजुलाई २०४५ सालमा सडकमा घिर्सार्दै पिनले रोप्दै, छाताले घोच्दै मारयो । त्यही भिडले रोहितलाई जेलमा हाल्यो । त्यसैले आजको भिडलाई हेरेर कसैले पनि म बादशाह हुँ भन्ने नसोचे हुन्छ ।

ऋषि – रविको गिरफ्तारीको ग्राण्ड डिजाइनमा किशोरसहित धेरैको नाम जोडिएको छ त ?
किशोर श्रेष्ठ – के किशोर श्रेष्ठ उहाँको प्रतिस्पर्धी हो ? के किशोर श्रेष्ठले उहाँको खोरिया फाड्दिएको छ ? उहाँको कुनै कार्यक्रमलाई आँच पुर्‍याउने काम गरेको छ ? उहाँको साहू अनिल जोशीबारे धेरैलाई थाहा छ । इराकमा १२ जना नेपाली मारिँदा काठमाडौं नै ध्वस्त हुने अवस्था बनेको थियो । ती १२ जना नेपालीलाई कसले पठाएको थियो ? कसको म्यानपावरले पठायो ? अनिल जोशीको म्यानपावरले पठाएको होईन ? इतिहासको हेक्का राखियोस् । रवि लामिछानेको पछाडिको भिडको डरले भन्न डराउने चितवनका तिलक गैरेले मसँग यति पैसा मागियो मैले यति बुझाए भने । शंकरापुरको एउटा कलेजसँग कति पैसा उठाइयो ? उहाँको भाग कति हो ? उहाँको टीमले कति उठायो ? छानबिन हुँदै गर्ला । भिडको दबाबले अहिले म बोल्न रोकिउँला । तर अर्को पुस्ताले सत्यको उत्खनन गर्छ । त्यसैले क्षणिक लहडमा उम्लिन पर्ने छैन । तिनै जनताले सजाय पनि दिएका छन् पुरस्कार पनि दिएका छन् ।

ऋषि – शालिकराम भिडियो प्रकरणमा रविको संलग्नता छ त्यसो भए ?
किशोर – त्यो मैले भन्ने होइन ।

ऋषि – तपाईले त हेर्नुभयो अध्ययन गर्नुभयो ?
किशोर – मैले भने नि त्यो कन्टेन्टमा जाने होइन । त्यो अनुसन्धानकर्ताले पत्ता लगाउने हो । तर घाम जत्तिकै छर्लङ्ग कुरा के हो भने त्यो भिडियोमा शालिकरामले केही कुरा बोलेका छन् ।

ऋषि – बोलेको भरमा गिरफ्तारी गर्न मिल्छ ?
किशोर श्रेष्ठ – अपराध संहिता हेर्नु भएको छ ? नयाँ नयाँ कानून बनेका छन् । यस्तै यस्तै प्रवृतिको कारणले हो । मिडिया काउन्सिल विधेयक ल्याएर पत्रकारलाई अलि कसिलो बनाउँ भन्दा हामीले नै नगरौं भनेर सरकारविरुद्ध जुटेको होइन ?

ऋषि – त्यसो भए शालिकरामको आत्महत्यामा रविको संलग्नता छ ?
किशोर – मैले त्यसो भनिन । त्यो भिडियोले धेरै भनेको छ । त्यो अनुसन्धानकर्ताले भन्लान् ।

ऋषि – होइन तपाईले क्लियर कट बताउनुपर्‍यो नि । तपाई प्रेस काउन्सिलको कार्यावाहक अध्यक्ष हो ।
किशोर – अनुसन्धान गर्ने, आरोप लगाउने, रविलाई फसाउने वा चोख्याउने काम प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षको काम होइन । मेरो काम भनेको पत्रकारले पत्रकार आचारसंहिता पालन गरयो कि गनेर हेर्ने हो ।

ऋषि – शालिकरामको आत्महत्यामा कसको कति प्रतिशत हात छ ?
किशोर – शालिकराम पुडासैनीको आत्महत्या अघिको भिडियोमा तीन जनाको नाम लिइएको छ । तपाईले हेरेको पनि त्यही हो मैले हेरेको पनि त्यही हो ।

ऋषि – यी तीनै जना दोषी हुन्छन् कि निर्दोष भएर क्लिन चिट लिएर आउँछन् ? ठ्याक्कै भनिदिनुस्…
किशोर – मेरो शुभकामना छ निर्दोश भएर आउनुहोस् । उहाँहरुमाथि लगाइएको आरोप छ भने धुमिल होस् ।

ऋषि – चितवनको भिडले त दबाब दिइरहेको छ नि !
किशोर – नगरिदिए हुन्थ्यो । उहाँले रविजीको स्वास्थ्यमा ख्याल र चिन्ता प्रकट गर्नुभएको छ त्यो सकारात्मक छ ।

ऋषि – तपाईसँग सत्तासँग, अदालतसँग पहुँच छ । अहिले आएर तपाईंकै कारणले रवि जेल जानुपर्‍यो भनिरहेका छन् मानिसले ?
किशोर श्रेष्ठ – त्यसो भए त शालिकरामले रविजीलाई फसाउन, किशोर श्रेष्ठलाई गुन लगाउन आत्महत्या गर्नुभयो भने भै हाल्यो नि, के त्यसै हो ? शालिकरामले मर्दामर्दै त्यही गुण लगाएको र रविजीलाई बैगुन लगाएको हो ? के भन्न खोजिएको हो ?

ऋषि – ‍तपाई त रविको भन्डाफोर गर्न लागिरहनुभएको छ ?
किशोर – भन्डाफोर गरेको रुपमा नलिइयोस् । उहाँले दिनदु:खीको उद्दार गर्नुभएको होला । आवाजविहीनको आवाज बोलिदिनुभएको होला तर त्यसो भनेर उहाँको सारा बैगुन क्षम्य हुन्छ त ? उहाँको जीवनको अर्को पाटो छैन ?

ऋषि – उहाँको अर्को पाटो बताइदिनुस् त !
किशोर – नैतिक रुपमा चारित्रिक रुपमा कतिको शुद्ध हुनुहुन्छ ? उहाँले केही महिनाअघि सोमबार बिहान म चौथो श्रीमती बिहे गर्दैछु भन्दा डेढ घण्टामा साढे १४ हजार लाइक त्यसमध्ये धेरै महिलाको । उहाँले तीनजना महिलालाई अन्याय गरिसक्नुभयो । बहुपत्नी प्रथामा गइसक्नुभयो । तर त्यसलाई महान् भनेर बधाई दिने हामी यही समाजका भिड हौं ।

ऋषि – रविजी लगायत तीन जनालाई जेलमा सडाउने रणनीतीमा सफल हुनुभयो त्यसो भए ?
किशोर – तपाईले एकदम ट्वीस्ट गर्नुभयो । मैले षड्यन्त्र गरेको छैन र गर्नुपनि छैन । गर्दिन पनि । म विशुद्ध पत्रकारिता गर्छु । म मरेर बाँचेको छु । पत्रकारहरुलाई थुनामा पर्दा मैले धेरै पत्रकारलाई बचाएर ल्याएको छु । ***
सौजन्य : खबरहब डट कम 

तपाईको प्रतिक्रिया