टोकियो – गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको नवौं महाधिवेशन आगामी अक्टोबरको १३ देखि १६ सम्म राजधानी काठमाडौंमा हुँदै छ । महाधिवेशन नजिकिएसंगै नेतृत्वका आकाँक्षीहरुको चर्चा शुरु भईसकेको छ । हालका अध्यक्ष भवन भट्टले नेतृत्वमा पुनः नदोहोर्याउने आशयको अभिव्यक्ति सार्बजनिक गरेसंगै हालका उपाध्यक्ष कुमार पन्तलाई बलिया आकाँक्षीकारुपमा हेर्न थालिएको छ । उसो त अन्य आकाँक्षीहरुको पनि चर्चा नभएका होइनन् तथापि युरोप संयोजक, महासचिव हुँदै दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसकेका कारण पन्तलाई बलिया आकाँक्षीकारुपमा हेरिएको छ । लामो समयदेखि जर्मनीमा बस्दै आएका उपाध्यक्ष पन्तसंग एनआरएन अभियानमा गैरआवासीय नेपालीहरुको चासो र आकर्षण, चुनौती, अबको नेतृत्व, भावी कार्ययोजना लगायतका समसामयिक बिषयमा केन्द्रीत रहेर समुद्रपारिका लागि गरिएको कुराकानीको सम्पादित अंशः
उत्तरार्धतिर पुगेको हालको एनआरएनएको कार्यसमितिको मुल्याङ्कन कसरी गर्नुहुन्छ ?
अघिल्लो नेतृत्वले सुरु गरेको तर अधुरा रहेका केही महत्वपूर्ण प्रोजेक्टहरु यस कार्यकालमा सम्पन्न भएका छन् । भूकम्प पीडितहरुका लागि गोरखाको लाप्राकमा ५ सय ७३ घरहरु निर्माण गर्ने कार्य लगभग सकिएका छन् । भौगोलिक विकटताका कारण निर्धारित समयभन्दा केहि बढ्ता समय लागेको भए पनि अब हस्तान्तरण गर्ने चरणमा पुगेका छौं । शंखमुल पार्कको काम सम्पन्न भएको छ । एनआरएन भवन निर्माण कार्य सकिएको छ । विदेशमा रहेका नेपाली वौद्धिक पूँजीलाई मुलुकमा भित्र्याउन विज्ञ सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट निस्केका निचोडलाई श्वेत पत्र जारी गरी नेपाल सरकारलाई बुझाएका छौं । यसरी हेर्दा यस कार्यकालमा एनआरएनकै इतिहासमा महत्वपूर्ण कामहरु भएका छन् भन्ने लाग्छ ।
विश्वका ८० राष्ट्रमा फैलिएको भनिएको एनआरएनमा विदेशमा रहेका नेपालीहरुको खासै आकर्षण देखिदैन नि ?
नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा विधिवत दर्ता भएको विदेशमा बस्ने नेपालीहरुको एक मात्र साझा संस्था हो एनआरएन । कतिपय कारणले गर्दा जति समेटिनु पर्थ्यो त्यति नेपालीहरु समेटिन नसके पनि अमेरिका, बेलायत, अष्ट्रेलिया जस्ता कतिपय मुलुकमा सदस्यता संख्या बढ्दो नै छ । अफसोच जापानमा भने नेपालीहरुको जनसंख्याको तुलनामा बढ्नुपर्नेमा सदस्यता संख्या घटेको भन्ने जानकारी आएको छ । यो बिषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, हामीले एउटा प्रभावकारी कार्यक्रम बनाएर अब यो बिषयलाई सम्बोधन गर्ने योजना छ । एनआरएन सदस्यताको उपादेयता बारे हामीले जति बुझाउनुपर्थ्यो त्यति बुझाउन सकेनौं । त्यस दिशातिर अब हाम्रो ध्यान केन्द्रीत हुने छ । करीव ७ हजार भन्दा बढि कर्पोरेट हाउसहरुले एनआरएन कार्ड बाहकलाई डिस्काउन्ट सुविधा दिने भएका छन् भने यसैगरी अन्य थुप्रै सुविधाहरु बढाउँदै प्रवासी नेपालीहरुलाई सदस्यतातर्फ हामी आकर्षित गर्दै लैजाने छौं ।
महाधिवेशन नजिकिदैं छ, महाधिवेशन तामझाम, तडकभडकपूर्ण र खर्चिलो हुँदै गईरहेको बारे ब्यापक चिन्ता व्यक्त गर्न थालिएको छ नि ?
यो हामीलाई पनि महशुस भईरहेको बिषय हो तथापि बाहिरबाट गएका नेपालीहरु आफ्नै खर्चमा महंगो होटलमा बस्नु, सुविधा सम्पन्न होटलमा महाधिवेशन गरिनुलाई तामझाम भयो भन्न अलि नमिल्ला । किनभने गैरआवासीय नेपालीहरु अलि अलि खर्च गर्न सक्ने हैसियत पनि राख्दछन् र आवश्यक पनि छ । यसो भन्दैमा कुनै कमीकमजोरी र सुधार्नुपर्ने पक्ष छँदै छैनन् भन्ने होइन । यस बिषयमा हाम्रो समीक्षा भईरहेको छ, हामी आवश्यक सुधार गर्दै थव व्यवस्थित गर्दै लैजाने दिशामै उन्मुख छौं ।
तामझाम र खर्चिलो चुनावी प्रक्रियाबाट नेतृत्व चयन गरिने सँस्कारले ब्यापारिक पहुँच नहुनेलाई नेतृत्वमा निषेध गर्दैन र ?
नेतृत्व चयन प्रक्रियालाई सकेसम्म वैज्ञानिक कसरी बनाउन सकिन्छ भन्ने बिषयमा हामी लागिरहेका छौं । अनलाईन भोटिङ सिष्टम गर्न सकियो भने गन्तब्य मुलुकमै बसेर गैरआवासीय नेपालीहरुले नेतृत्व चयन गर्न सक्नेछन् । यस्तो व्यवस्था भयो भने माथि भनिएका धेरैजसो समस्या स्वतः समाधान हुनेछन् । जसले गर्दा सक्षम र योग्य व्यक्ति जो कोही नेतृत्वमा आउनलाई कुनै बाधा हुने छैन । तथापि हाल विश्वका ८० मुलुकमा रहेका र बिस्तार हुने क्रममा रहेको अभियानमा लागेका नेतृत्व तहका जिम्मेवार व्यक्तिहरु एक कार्यकालमा कम्तीमा पनि त्यसको आधा जति मुलुक पुग्नुपर्ने भएकोले केही न केही आर्थिक हैसियतको पनि कुरो आउँछ । त्यसलाई पनि मनन गर्दै संघलाई आर्थिकरुपमा पनि बलियो बनाई अभियानका लागि नेतृत्व विदेश जाँदा कम्तीमा पनि यातायात र आवास खर्च संघले व्यहोर्ने गरी व्यवस्थापन गर्ने बारे छलफल अगाडि बढिरहेको छ । ढिलोचाँडो हामी त्यो दिनमा पुग्ने छौं ।
हरेक महाधिवेशनमा नीति भन्दा नेतृत्वको बिषयले प्राथमिकता पाउँदा अन्य महत्वपूर्ण बिषयहरु ओझेल पर्ने गरेका छन्, यसलाई कसरी लिनुभएको छ ?
महाधिवेशन भनिसकेपछि नेतृत्वको बिषयलाई प्रमुख ठानिने हामी नेपालीको कल्चर बसिसकेको छ । यसैको केही न केही प्रभाव हामीमा पनि देखिएको छ । क्रमशः सुधार गर्दै जानुको विकल्प छैन । नेतृत्व पनि एक महत्वपूर्ण पाटो हो तर समीक्षा, नीति, कार्यक्रम, योजना, एजेण्डा, मुद्दालाई पनि उत्तिकै महत्व दिने गरी महाधिवेशनलाई व्यवस्थित गरिनुपर्नेमा हाम्रो प्रयास जारी रहने छ ।
नेतृत्व आफ्नो पक्षमा पार्न तिब्र राजनैतिक चलखेल हुने र नेताहरु गुहार्ने सँस्कार पनि हाबी हुँदै गएको ब्यापक जनगुनासो छ नि, के यो अभियानको मर्म र भावनाअनुसार नै हो त ?
त्यस्तो बिलकुल होइन । केही साथीहरु राजनैतिक आस्थाको आधारमा आफ्नो प्रभाव देखाउन खोज्नुहुन्छ, यसो गरिनु गलत हो । यो एनआरएन भित्रको एउटा रोग हो । यसप्रकारका विकृतिलाई रोक्नैपर्छ । हुन त राजनैतिक लबिङ र चलखेल हावी भएर जितेको रेकर्ड अहिलेसम्म मलाई थाहा छैन । यदि त्यस्तो दिन आयो भने एनआरएनको उपादेयता त्यहि दिनमा समाप्त हुन्छ । त्यसो हुन दिईनु हुन्न भन्ने बुझाईले जित्दै आएको छ, त्यसैले त एनआरएनलाई पवित्र सामाजिक सँस्थाकै रुपमा अगाडि बढाईनुपर्दछ भन्ने साथीहरुको जमात ठूलो छ ।
हालका अध्यक्ष भवन भट्टको पुनः नेतृत्वमा दावी नरहने अभिव्यक्तिले अबको नेतृत्वका लागि तपाईलाई मार्ग प्रशस्त गरेकै हो त ?
अध्यक्ष भवन भट्टज्यूको पुनः दावी नरहने अभिव्यक्ति आएको साँचो भए पनि मेरै लागि मार्गप्रशस्त गरेको भन्न चाँही अलि नमिल्ला । तथापि अबको नेतृत्वका लागि मलाई नै तयार रहनुपर्छ भन्ने साथीहरुको जमात धेरै ठूलो छ । यसका आधारहरु पनि छन् । युरोप संयोजक, महासचिव, दुई कार्यकाल उपाध्यक्ष हुँदै अब जाने ठाउँ भनेको मेरा लागि नेतृत्व नै हो, त्यसकारण पनि मेरो दावी स्वभाविक छ, समयानुकुल छ र न्यायसंगत पनि छ । मेरो पक्षमा लगभग माहौल बनिसकेको छ । यसकारण पनि म आगामी नेतृत्वका लागि तयार रहेको छु ।
यसको मतलव सहमतिमै तपाई नेतृत्वमा आउनुहुन्छ भन्न खोज्नुभएको हो ?
यति ठूलो बिशाल अभियानमा लागेका थुप्रै साथीहरु हुनुहुन्छ, उहाँहरुले पनि आकाँक्षा राख्न पाउनुहुन्छ । त्यो उहाँहरुको अधिकार पनि हो । तथापि प्रतिस्पर्धाबाट चयन हुने नेतृत्वलाई अर्को १ वर्ष चुनावी ह्याङ् ओभरले डिस्टर्व गर्ने र बाँकी रहेको १ वर्षमा खासै लक्षित उपलब्धि हासिल गर्न नसकेको नजिर हामीसामु छन् । त्यसकारण पनि अनुभवबाट पाठ सिक्दै सहमतिमै नेतृत्व चयन हुन सके सबैभन्दा राम्रो हुन्छ । सामाजिक संस्थामा प्रतिस्पर्धालाई प्रोत्साहित गर्नुभन्दा आमसहमतिको कल्चर बसाउनु आजको आवश्यकता पनि हो । त्यसकारण यसपटक सहमतिमै नेतृत्व चयन हुनेमा पुरै आशावादी छु ।
विश्वब्यापी अभियानमा लागेको एनआरएनको नेतृत्वमा दावी गर्दै गर्दा के छन् यहाँका भावी योजनाहरु ?
अबको नेतृत्वले घोषणा पत्र नै सार्बजनिक गरिरहनु पर्छ जस्तो मलाई लाग्दैन । किनभने तत्कालिन अध्यक्ष शेष घलेज्यूले त्यतिबेलै जारी गर्नुभएको ’भिजन ट्वीन्टी-ट्वीन्टी एण्ड वियोण्ड’ नै एनआरएनको रोडम्याप हो, त्यसैलाई आधार मानेर हाम्रो यात्रा निरन्तर अगाडि बढाईनुपर्दछ । त्यसबाहेक सन् २०१२ मा सुरु भएको संयुक्त लगानीको अवधारणा त्यसपछि लगभग थप्प जस्तै भएको छ, त्यसलाई मुर्तरुप दिई साना लगानीकर्तालाई समेत आकर्षित गर्दै कम्तीमा पनि १० अर्व रुपैयाँ लगानी नेपालमा भित्र्याउने लक्ष पहिलो प्राथमिकता हुने छ । हरेक पटक चन्दा उठाएर च्यारिटी कार्यक्रमहरु गर्न असंभव छ, यसलाई व्यवस्थित गर्न खडा गरिएको कोषलाई मजबुत बनाईने छ, अभियानमा महिला तथा युवाहरुको सहभागितालाई प्रोत्साहित गर्दै उचित जिम्मेवारी दिई भावी नेतृत्व उत्पादनमा जोड दिईने छ, लाप्राक बस्तीलाई अझ नमुना बस्तीकारुपमा कसरी बिकास गर्न सकिन्छ भन्ने बारे प्रभावकारी गुरुयोजना तय गरिने छ, वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई भैपरी आईपर्ने समस्यामा राहत सेवा उपलब्ध गराउन ’वैदेशिक रोजगार राहत कोष’ खडा गरिने छ । रेमिट्यान्स भित्र्याए बापत प्रति डलरमा प्राप्त हुने ३० पैसा मध्य २ पैसा राहत कोषमा जाने व्यवस्था गर्न पहल भईरहेको छ, त्यसबाट पनि ठूलो धनराशी जम्मा हुने देखिन्छ । त्यसका लागि नेपाल राष्ट्र बैंकसंग समझदारी प्रक्रिया अगाडि बढाईएको छ । विदेशबाट फर्केका नेपालीहरुलाई बेरोजगार बस्न नपरोस् भन्ने उद्देश्यले उनीहरुको सीप, दक्षता, अनुभव र पूँजी अनुसारको उद्यमशिलतामा लाग्न प्रोत्साहित गरिने छ । सस्तो कामदार पठाउने मुलुक भनेर चिनिने नेपाललाई दक्ष कामदार उत्पादन गरी सम्मानित पेशामा पठाउनका लागि सातै प्रदेशमा त्यहाँका प्रदेश सरकारसंग समन्वय गरी भोकेशनल ट्रेनिङ सेन्टरहरु खोलिने छन् ।
अन्त्यमा, विदेशमा रहेका नेपालीहरुलाई के भन्न चाहानुहुन्छ ?
सर्बप्रथम मेरो भनाई राख्ने मौका दिनुभएकोमा ’समुद्रपारि डट कम’ परिवारलाई धन्यबाद दिन चाहान्छु । व्यक्तिगतरुपमा हामी जति नै धनी भए पनि हाम्रो देश नेपाल समृद्ध नभएसम्म अन्तर्राष्ट्रिय जगतमा हाम्रो हरियो राहदानीको इजेत हुने छैन । त्यसकारण मुलुक समृद्ध बनाउने हाम्रो एक मात्र अभियानमा जोडिन र आफ्नो तर्फबाट जे जति सकिन्छ सहकार्य गर्न विदेशमा बस्नु हुने समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अपिल गर्न चाहान्छु । विदेशमा आर्जन गरेको पूँजी, सिकेका सीप र अनुभवलाई नेपालमै उपयोग गर्ने दिशामा अब हाम्रो ध्यान केन्द्रीत हुनुपर्दछ ।***
प्रस्तुतीः तिलक मल्ल