पछिल्ला समयमा नेपाली समाजमा मिडिया, राज्य अनि जनप्रतिनिधीका बीचमा एकपछि अर्को विवाद बल्झिने क्रम जारी छ । जसका कारण सामाजिक सञ्जालमा ब्यापक ध्रुविकरण पाईन्छ । पछिल्ला घटनालाई मात्र हेर्ने हो भने उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव हुँदै अहिले इटहरिका मेयर द्वारिकालाल चौधरीसम्म आईपुग्दा मिडियाका पक्षधर र जनप्रतिनिधीका पक्षमा उभिएका जनमत र प्रतिक्रिया हेर्दा हाम्रो नेपाली समाजको वास्तविक चित्र प्रतिविम्वित हुन्छ ।
मिडिया भनेको समाजको पहरेदारी गर्ने खबरपालिका पनि हो । राज्यको तर्फबाट चिरहरण हुन नदिन, अनियमितता र भ्रष्टाचार रोक्ने प्रयोजनका लागि जनताको पक्षमा हक अधिकारको खबरदारी गर्नु यसको मुख्य धर्म हो । यसकारण यसलाई राज्यको चौथो अंग मानिएको हुन्छ । २००७ सालदेखि नै हालसम्म नेपाली मिडियाहरुले प्रजातन्त्रलाई संस्थागत गर्न र नागरिकलाई सशक्तीकरण गर्न विभिन्न कालखण्डमा अहम भूमिका निर्वाह गरेको बिर्सन मिल्दैन । तथापि पछिल्ला समयमा मिडियाका तर्फबाट पनि कमीकमजोरीहरु बाक्लिन थालेका छन् । अरवौं, खरवौंका अपचलनतिर ध्यान जानुको साटो मिडियाको शक्ति दुरुपयोग गर्दै निरिहको हुर्मत लिने शैलीको पत्रकारिता सँस्कार अचेल हावी भएको पाईन्छ । यसले अबको पुस्ताका पत्रकारितामा पार्ने प्रभावका बारेमा सहजै अनुमान गर्न सकिन्छ । मिडियाका पनि आ-आफ्नै सीमा र दायरा, सभ्यता र मर्यादा हुने बिषयलाई यहाँ बिर्सन मिल्दैन । जस्तोसुकै परिस्थितिमा पनि मिडियाले सभ्य र मर्यादित शैलीमा आफ्नो भूमिका निर्बाह गर्न सक्नुपर्दछ । सिंगो जीवन खर्चेर निर्माण गरिएको कसैको व्यक्तित्व क्षणभरमा ड्यामेज गरिदिने शैली पत्रकारिताको नाममा अपराध नै हो । यसप्रकारको पत्रकारिता तत्काललाई बिकाउ भएपनि टिकाउ हुँदैन र यसबाट उन्नत एवं आदर्श समाजको कल्पनासम्म गर्न सकिदैंन ।
नेपालको सन्दर्भमा पत्रकारितालाई नियमन र व्यवस्थित गर्ने सशक्त संयन्त्र नहुँदा जसको शक्ति उसको भक्तिका रुपमा पत्रकारिता मौलाईरहेको छ, यसलाई समयमै उचित व्यवस्थापन गर्न सकिएन भने यसले देशमा अझ विकराल स्थिति ल्याउने संभावना बढेर गएको छ । विशेष लाभका खातिर र वैचारिक आस्थाका आधारमा अरुद्वारा परिचालित पत्रकारिता नेपाली समाजमा अझ डरलाग्दो किसिमले हुर्कदों छ । सूचना विभाग, प्रेस काउन्सिल, पत्रकार महासंघ जस्ता निकायहरु रहे पनि पत्रकारिताको क्षेत्र असाध्यै भद्रगोलको स्थितिमा पुग्नु विडम्वनापूर्ण छ ।
नेपालको संविधान २०७२ को प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता र विचार अभिव्यक्तिको स्वतन्त्रतालाई प्रत्याभूत गरेको छ । यसको मतलव प्रेस जगतलाई छाडापन हुन स्वतन्त्रता दिईएको भनेर बुझिनु हुँदैन । मिडियाको कुनै सूचना प्रवाहबाट समाज वा व्यक्तिलाई क्षति पुग्ने, गम्भीर हानी हुने र व्यक्तिको जीवनमा गम्भीर आघात पुग्ने जस्ता कार्यबाट मिडिया सजग रहनुपर्दछ ।
तर पछिल्ला समयमा न्युजभन्दा पनि भ्युजका लागि र कसैको प्रभावबाट मिडियाहरु विभाजित हुनुले नेपालको पत्रकारिताले सहि दिशा समात्न नसकेको प्रष्ट हुन्छ । जोखिमयुक्त क्षेत्र हो भन्ने जान्दाजान्दै होमिएका मिडियाकर्मीले पत्रकारिता क्षेत्रलाई अझ जोखिम बनाउने क्रियाकलापहरुमा ब्यापक सुधार हुनु जरुरी छ । विगतका ऐन कानुनलाई संविधानसम्मत र समयानुकुल परिमार्जन नहुँदासम्म पत्रकारिताको क्षेत्रमा विद्यमान विकृति र विसंगतिमा सुधार हुने संकेत देखिदैंन ।
पछिल्लो समयमा नयाँ सञ्चार माध्यमकारुपमा सशक्त बन्दै आएको सामाजिक सञ्जालको बिस्तारबाट तत्कालै सूचना सञ्चारमा सहयोग त पुगेको छ, तर यसलाई मर्यादित र जबाफदेही बनाउन आवश्यक छ । यसको मतलव नियन्त्रण गर्नुपर्छ भन्ने चाहिँ होईन । नागरिकभन्दा माथि मिडिया हुनुहुँदैन । त्यसकारण मिडियाले स्वतन्त्रता पाएको हो । नागरिक शिक्षाका लागि मिडियाले खेल्नुपर्ने भूमिका अबका दिनमा अझ बढेर गएको सन्दर्भमा मिडिया थप जिम्मेवार हुन आवश्यक छ ।***