सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आईरहने कुराबाट निस्कने निष्कर्ष यस्तो हुन सक्छ : ’सबै समस्याको जड सरकार हो, सरकार राम्रो भएको भए यस्तो हुँदैनथियो’ यो कुरामा सत्यता पक्कै छ कि सरकारले यो भन्दा धेरै गर्न सक्थ्यो र गर्नुपर्छ तर के नागरिकले गर्नुपर्ने र गर्नसक्ने काम हामीले गरिरहेका छौ त ? मैले भोगेका नागरिक गैरजिम्मेवारीका ६ उदाहरण यहाँ प्रस्तुत गर्न चाहान्छु ।
उदाहरण एक : हामीलाई के सरोकार ?
म आफ्नो काउण्टरमा व्यस्त थिएँ, दुईजना सेवाग्राहीबीच संवाद हुन्छ
पहिलो : म त छोराको लागि सिफारिस बनाउन आएकी !
दोस्रो : ए, बनाउनु भयो त ?
पहिलोः बनाईदिएन नि, भोलि अर्को ठाउँमा कुरा गर्नुपर्ला !
मैले संवादमा मिसिन चाहे, के को सिफारिश नबनेको हो ?
पहिलो : मेरो छोराले दुर्गमबाट पढेको भनेर सिफारिस बनाउन चाहेको, बन्दै बनेन !
म : हजुरको छोरा कता पढ्छ ?
पहिलो : काठमाडौको एउटा प्रसिद्ध स्कुलको नाम भन्नुभयो ।
यति भनेपछि मलाई रिस उठ्यो तर म सहन सक्ने अवस्थामा थिएँ, सोधे, तपाईले के गर्नुहुन्छ ?
पहिलो : म वडा सदस्य हुँ ।
अब भने मलाई सहन नसक्ने रिस उठिसकेको थियो, मैले चेतावनीपूर्ण तरिकाले सम्झाउन थाले, एकजना नेताले समेत यस्तो गर्छ भने सर्बसाधारण बाट के अपेक्षा गर्ने ? तपाईले यस्तो कुरा गर्न त परको कुरा, भन्न पनि लाज मान्नुपर्ने हुन्छ । ति महिलाले जिब्रो टोकिन्, मेरो रिस अलिकति शान्त भयो, तर प्रमाण अभाव होलाजस्तो लागेर उनलाई कारवाही गर्न भने मैले सकेन ।
यो कुरा एउटा बाणिज्य बैंक मै काम गर्ने मेरो साथीलाई सुनाए, तिमीलाई के सरोकार थियो नि ? यो कुरामा किन थर्काउनुपर्यो त्यसरी ? उसले मलाई सम्झाउन थाल्यो । ’यस्ता कुरामा हामीले धेरै वास्ता गर्नुहुन्न अप्ठ्यारो आईपर्छ’ म अक्कनबक्क भएँ । अलिकति पढेलेखेको र बुझकीजस्तै लाग्ने साथीबाट वास्ता गर्नुहुन्न भन्ने जवाफ अनपेक्षित थियो ।
उदाहरण दुई : किन हिरो पल्टिनुपर्यो ? अरू कसैले तिरेको देखेका छौ घर वहालकर ?
घरभाडा बापतको आम्दानीको १० प्रतिशत रकम स्थानीयतहलाई कर तिर्नुपर्छ तर यो बिषयमा न सरकारले कडाई गरेको छ, न नागरिकहरुले इमान्दारीपूर्वक तिर्छन्, घरभाडामा बसेको व्यक्तिले १० प्रतिशत कर तिरेर बाँकी ९० प्रतिशत घरधनीलाई बुझाउन सक्छ, मैले त्यही गरे, ’क’ वर्गको एउटा बैंकमा काम गर्ने मेरो साथीको प्रतिक्रिया आयो ‘किन हिरो पल्टिनुपर्यो, कसैले तिरेको देखेका छौ ? तर मलाई अझै हिरो पल्टिन मन छ ।
उदाहरण तीनः टाउकोमा आईपर्छ, वास्ता नगर ! बिषय लासको
मेरो घरभन्दा केहीमाथि डाँडामा घाँस काट्ने ठाउँमा एउटा मानिसको लासजस्तो देखियो, टाढैबाट हेरेर भन्न सकिने अवस्था थिएन, लास हो या कुनै मानिसलाई चोटपटक लागेर ढलेको हो, अथवा कुनै बिरामी परेको हो, यस्तो अवस्थामा एउटा सभ्य मानिसको कर्तव्य भनेको, नजिकै पुगेर मानिसको अवस्था पत्ता लगाउनु र आवश्यकताअनुसार कदम चाल्नु हो, ओ हो ! कसलाई के भएछ भनेर मेरो बुवा नजिकै जान खोज्नुभयो तर एकजना छिमेकीले रोके, बेकारमा किन जानुहुन्छ ? अवगाल आउँछ, टाउकोमा आईपर्न सक्छ । मेरो बुवाले उक्त कुरा बेवास्ता गर्नुभयो र नजिकै जानुभयो, लास तुरुन्तै पत्ता लाग्यो, दशकौसम्म हाम्रो लुगा सिलाएको ‘कालुदमाई’ को लास रहेछ । त्यो ठाउँ बाटोभन्दा धेरै टाढा थिएन, यसअधि पनि कसैले देखेर बेवास्ता गरेको हुनुपर्छ, समयमै उद्वार भएको भए उनको ज्यान जोगिन पनि सक्थ्यो, कानुनी झञ्झट आउने डरले धेरै मान्छे यस्ता घटना नदेखेको जस्तो गर्छन, कुनै घटना पहिलोपटक देख्ने ब्यक्ति निर्दोष नै भए पनि प्रहरीले अवश्य बयान लिन्छ, घटनाको बिषयमा आफुले देखेको र भोगेको कुरा प्रष्ट बताएर कानुन कार्यान्वयन गर्न सघाउनु हरेक नागरिकको कर्तव्य हो ।
उदाहरण चार : उनिहरूको कुरामा हामीले किन टाउको दुखाउनू ? बिषय गर्भपतनको
मेरो उमेर २७ वर्ष भयो, अब म बिहे गर्ने सोचाईमा छु, मैले यसैक्रममा एकजना केटीसँग कुरा गरे, थुप्रै मुद्दामा कुरा गरे, त्यसमध्ये एउटा प्रसंग उल्लेख गर्न चाहान्छु, मैले कुराकानीको क्रममा भने हाम्रो छिमेकमा एकजना काका र काकीले सहमतिमै आफ्नो गर्भपतन गरे, तर गर्भपतन गर्नुपर्ने कारणचाँही पेटमा छोराको सट्टा छोरी हुनु हो । काका र काकीलाई कारवाही नगराई नहुने भएको छ, प्रमाण जुटाउन एकदमै गाह्रो छ । के उपाय लगाएर कारवाही गर्ने होला ? भनेर भनि नसक्दै उनको प्रतिक्रिया थियो – ‘यदि श्रीमान श्रीमतीको सहमतिमा गर्भपतन भएको हो भने तपाईको टाउको किन दुख्यो ?
के छोरी जति सबै छानेर पेटमै मार्नु टाउको दुखाईको बिषय होइन ? लिंग पहिचान गरेर गरिने गर्भपतन निजी सरोकारको बिषय हुनैसक्दैन ? यो एकदमै सार्वजनिक सरोकारको बिषय हो, यसै बिषयमा म विकिपेडिया हेरिरहेको थिएँ, भारतमा बिहे गर्न योग्य उमेरका केटा र केटीको संख्यामा ठूलो भिन्नता देखियो, केटीको संख्या निकै नै कम देखियो, मैले भने, आम्मै । यति धेरै केटाहरूले अब बिहे कोसंग गर्ने होलान् ? साथीहरूबीच हाँसोको फोहरा छुट्यो,
तँ आफ्नो लागि केटी खोज न भईहाल्यो नि, भारतका सबै केटाहरूसंग तँलाई के सरोकार ? के यो साँच्चै हाम्रो सरोकारको विषय होइन ? चाहे केटा होस् अथवा केटी, आधारभूत सामाजिक चेतना नभएको व्यक्तिसंग बिहे गर्न अस्विकार गर्नुहोस ।
उदाहरण पाँच – नमाग्दासम्म किन फिर्ता दिने ?
बिषय काउण्टरबाट बढि नगद भुक्तानी : एकजना नियमित ग्राहकमसँग गफ गर्ने क्रममा भन्दैथिए, एउटा बैंकले मलाई २५ हजार बढी दिएको छ तर फोन नगर्दासम्म मैले किन फिर्ता दिने ? उनले बैंकको नाम पनि लिए । पछि बुझ्दा बैंकले फोन गरेछ र पैसा पनि फिर्ता भएछ । धन्न उनले फिर्ता गरेछन् तर फिर्ता नै गर्न नमान्ने र प्रमाण देखाईसक्दा पनि बढी पैसा नगएको भनेर जिद्दी गर्ने ग्राहकको कमी छैन, उसो त टेलरको रूपमा काम गर्ने कर्मचारीलाई पनि पुरा बिश्वास गर्न नसकिने रहेछ भन्ने मेरो ठम्याईछ । नियतवश नै अनियमितता गर्ने टेलर छन् भन्ने लाग्छ, त्रुटी जोसुकैको हातबाट पनि हुन सक्छ, इमानदार र सभ्य नागरिकले जतिसक्दो चाँडो त्रुटी सच्याउन सहयोग गर्नुपर्छ ।
उदाहरण छः भर्ना गरे भैगो नि किन बाह्रसत्ताइस कुरा गर्छौ ?
म दुर्गम ठाउँमा रहेको शाखामा काम गर्छु, स्नातकोत्तर पढ्ने चाहना हुँदाहुँदै पनि बझाङमा क्याम्पस नहुँदा मैले पढ्न पाएको छैन, मैले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका एकजना प्राध्यापकलाई भने ‘आवश्यक न्यूनतम हाँजिर नपुग्ने विद्यार्थीहरुलाई पनि तपाईले परीक्षामा सहभागी हुन योग्य बनाउनु भएको छ, यसोगर्दा हामीलाई अन्याय हुन्छ, कि त हाजिर नपुगे पनि परीक्षा दिन पाउने प्रावधान ल्याउनुपर्यो त्यसो भए म परीक्षा दिन पाउनेथिएँ, उनको जवाफ थियो ‘किन बाह्रसत्ताईस कुरा गर्छौ ? सरासर भर्ना गरे भैगो नि । यदि त्यसो हो भने किन देखावटी हाजिर चाहिने प्रावधान बनाईयो ? न्यूनतम उपस्थितिको प्रावधान खारेज गरे भैगो नि । मैले बुझेअनुसार सम्बन्धित बिषय शिक्षकको चाकडी गरे देखावटी हाजिर प्रमाणित गरिन्छ ।
यो त केहि उदाहरण मात्र हुन्, हामी नागरिक यस्तो सोच र ब्यवहारका भएका छौं, के हामीले सरकारलाई गाली गर्न सुहाउँछ ? त्यस्तो नागरिकले मात्र सरकारलाई चेतावनी दिने हक राख्छ, जसले नागरिक हुनुको कर्तव्य पुरा गरेको छ ।***