Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताको एशिया छनोट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई २१७ रनले हराएको छ । पहिलो ब्याटिङ गर्दै कप्तान रोहित पौडेलको ९५ रनको मद्दतले नेपालले बनाएको २८२ रनको जवाफमा सिङ्गापुरले ३१ ओभरमा ६५ रनमात्रै बनाएको छ ।

एशियाका छ राष्ट्रको सहभागिता रहेको प्रतियोगिताको विजयी टोलीले सन् २०२० को १९ वर्षमुनिका खेलाडीहरूको विश्वकपमा खेल्न पाउनेछ । नेपालले दिएको २८३ रनको लक्ष्य पछ्याउने सिङ्गापुरको सुरुवात राम्रो हुन सकेन । कुशल मल्लले दुई विकेट लिदाँ अरू दुई खेलाडी रन आउट भएपछि सिङ्गापुर २९ रनमा चार विकेटको स्थितिमा पुग्यो । त्यहाँबाट धारिलो नेपाली बलिङले नियमित विकेट झरिरह्यो र सम्मानजनक हारको सम्भावना मात्रै बाँकी रह्यो ।

नेपालका लागि म्यान अफ द म्याच पवन सर्राफले तीन, सूर्य तामाङले दुई र रशिद खानले एक विकेट लिए । सिङ्गापुरबाट सबैभन्दा धेरै रन इशान पल सानेले बनाएका थिए । उनले ५४ बलमा २८ रन बनाए । साइहर्ष भेनुगोपालले १८ रन बनाए ।

नेपालको ब्याटिङको सुरुआत गतिलो भएन । रित गौतम र आशिफ शेख थोरैमा आउट भएपछि नेपालले १८ रन बनाउँदा दुई विकेट गुमाइसकेको थियो । तर पवन सर्राफ र कप्तान पौडेलले धैर्यपूर्वक खेल्दै रन बनाए । सर्राफ ४६ रनको व्यक्तिगत रनमा आउट हुँदा नेपालले एक सय रन बनाइसकेको थियो । उनले पौडेलसँग ९० रनको साझेदारी गरेका थिए । अर्को राम्रो ब्याटिङ प्रदर्शन रशिद खान र कमलसिंह ऐरीले गरे। खानले ४८ रन बनाए र पौडेलसँग ७७ रनको साझेदारी गरे ।

ऐरीले १८ बलमा तीन छक्का प्रहार गर्दै ३१ रन बनाए । पौडेल भने ९५ रन बनाएर आउट भए । कप्तानी इनिङ खेलेका उनले १०५ बल खेल्दै सात चौका र एक छक्का प्रहार गरेका थिए । नेपालका उदाउँदा किशोर खेलाडी पौडेलले ज्यानुअरीमा यूएईविरुद्ध अर्धशतक बनाउँदा विश्व क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका थिए । उनले त्यसबेला विश्व क्रिकेटका दुई अब्बल खेलाडी भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शाहीद अफ्रिदीको कीर्तिमान तोडेका थिए । सिङ्गापुरका तर्फबाट सबैभन्दा सफल बलर अथर्व गुन रहे। उनले नेपालको चार विकेट लिए ।

कसरी विश्वकप छनोट हुन्छ ?
आइसीसी यू१९ विश्वकप सन् २०२० को ज्यानुअरी र फेब्रुअरीमा दक्षिण अफ्रिकामा हुँदैछ । सो विश्वकपमा अफगानिस्तान, अस्ट्रेलिया, बाङ्ग्लादेश, इङ्गल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इंडिज र जिम्बाबेले सोझै खेल्न पाउँछन् ।

अन्य पाँच राष्ट्र भने क्षेत्रीय छनोट प्रतियोगिताबाट छनोट हुन्छन् । अफ्रिकाबाट नाइजेरिया छनोट भइसकेको छ भने एशियाबाट मलेशियामा जारी प्रतियोगिताको विजेता छनोट हुनेछ । मलेशियामा आयोजकसहित नेपाल, कुवेत, ओमान, सिङ्गापुर र यूएई खेलिरहेका छन् । नेपालले भोलि यूएईसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया