जमाना आजको जस्तो थिएन, थोरै नेपालीको पहुँचमा थिए ल्यापटप कम्प्युटर, इन्टरनेट त धेरै परको कुरो थियो । जापानी भाषामा उपलब्ध सूचना र सञ्चार अधिकांश नेपालीहरुको सामर्थ्य बाहिर थियो । केही हजारको संख्यामा रहेको नेपाली समाजलाई लक्षित गरी सूचना र सञ्चारको सेवामार्फत सुसूचित गर्ने ध्येयले सन् १९९९ को फेब्रुअरी २८ देखि यो नेपाली समाचारको थालनी गरिएको थियो ।
मिल्ने साथीहरुको एउटा समूहबाट सुरु गरिएको यस प्रकाशनले आज बिसौं वर्ष पुरा गरेको छ । यस अवधिमा जापानको नेपाली समाजमा थुप्रै उतारचढाव र परिवर्तनहरु भएका छन् । विदेशीभूमिमा नेपाली अक्षर देख्न पनि अनौथो लाग्ने त्यो जमानादेखि आजको दिनमा उपलब्ध सूचना र प्रविधिको अधिकतम सुविधाभोगी पुस्तासम्म आईपुग्दा हामीले खेल्दै आएको भूमिका, संघर्षका कथा र आरोह-अवरोह आफ्नै ठाउँमा छन् ।
साप्ताहिक फ्याक्स पत्रिकाबाट सुरु भई अनलाइन रेडियो, डिजिटल हुँदै अहिले पाक्षिकरुपमा प्रकाशन भईरहेको जापानमा पहिलो र एक मात्र नेपाली पत्रिकाले बिसौं वर्षगाँठ मनाउन पाउँदा हामीलाई गौरवानुभूति भईरहेको छ ।
न्यानो मातृभूमिको काखबाट टाढिएर प्रवासका बिराना बस्तीहरुमा आफ्नो भविष्यको खोजीमा पौंठेजोरी खेलिरहेका तिनै नेपालीभाषी पाठकलाई केन्द्रमा राखेर हामीले उनैका कथा लेख्यौं, सकेको जति जानकारीमुलक सूचना एवं सकारात्मक सन्देश बाँड्यौ, घरदेश र परदेशलाई जोड्ने पुल बन्यौ, नेपाली भाषा, साहित्य, कला, सँस्कृति एवं वाङमयको श्रीवृद्धिका लागि गोडमेल र मलजलमा निरन्तर लागिरह्यौं र लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक सर्बोच्चता एवं समग्रमा नेपाली एकताको पक्षमा अनवरत कलम चलाईरह्यौं ।
नेपाली समाजलाई सुसूचित गर्ने हाम्रो अभियान निरन्तर जारी छ । परिवर्तित सन्दर्भ र परिवेशमा हाम्रो जिम्मेवारी अरु थपिएको महशुस गरेका छौं । फेरिएको पुस्तासंगै पाठकको रुची, समयको आवश्यकता र हाम्रो ठाउँबाट खेल्नुपर्ने भूमिकाका बारेमा हामी थप सचेत छौं । हाम्रा पाईला परदेशमा रहेपनि घरदेशप्रतिको जिम्मेवारी, माटोको माया, अधिकारभन्दा कर्त्तब्यको पालना, आवाजबिहिनहरुको आवाज जस्ता बिषयहरु सँधै हाम्रो प्राथमिकतामा परिरहे र परि नै रहने छन् ।
जापानमा नेपाली पत्रकारिताको कखरा सुरु गर्ने श्रेय हामीले नै पाउनु र यो यात्राले अविछिन्न दुई दशक पुरा गर्न पाउनु जो कोहीलाई सजिलै नजुर्ने सौभाग्यकारुपमा लिएका छौं । यसले पनि अझ हामीलाई थप प्रभावकारी र जिम्मेवारी ढंगले अगाडि बढ्न नयाँ ऊर्जा मिलेको छ । यद्यपि ताराहरुबिनाको आकाश कल्पना गर्न नसकिएझैं तपाई पाठक, लेखक, शुभचिन्तक, विज्ञापनदाता, विभिन्न कालखण्डमा जोडिनुभएका सहकर्मीहरुको अनवतरत सहयोग र सद्भावबिना यो संभव थिएन, त्यसैले यहाँहरु सबैप्रति हामी ऋणी छौ, आभारी छौं र यस अवसरमा सगौरव हार्दिक धन्यबाद ज्ञापन गर्न चाहान्छौं ।
जापानको जुनसुकै भूभागमा रहे-बसेका नेपाली मनहरुलाई एकआपसमा जोड्न र नेपालीपन, आफ्नोपन र मौलिकतालाई उजागर गर्न यस पत्रिकाले खेलेको र खेल्ने भूमिकाको मूल्याङ्कन गर्ने जिम्मा तपाई पाठकहरुलाई सुम्पिन चाहान्छौं । प्रवासको कठिनभन्दा कठिन छापा पत्रकारिताको यात्रालाई दुई दशकसम्म ल्याईपुर्याउन यहाँहरुकै माया र सद्भावको ठूलो हात रहेको छ । यो क्रमले निरन्तरता पाउनेमा आशावादी त छौ नै, समयले मारेको फन्कोसंगै हाम्रा सामु थुप्रै चुनौतीहरु पनि थपिएका छन् । तथापि यहाँहरुकै साथ समर्थन र लामो यात्रामा हामीले भोगेका तीतामीठा एवं खारिएको अनुभवले हामीलाई थप बलियो पनि बनाएको छ । आफ्नो भूगोलभन्दा बाहिरको मिनी नेपाल जो आज जापानमा छ, यसको निर्माणमा निर्बाह भएका भूमिका ऐतिहासिक दस्तावेजकारुपमा सुरक्षित छन्, सुरक्षित रहिरहने छन् ।
मुलुकबाहिर रहेर आफु बसेको समाजका लागि छापा पत्रकारिता मार्फत सूचना र सञ्चार सेवाको क्षेत्रमा यति लामो अनुभव हासिल गर्ने अवसर संभवत हामीलाई मात्र प्राप्त भएको छ । यो ऐतिहासिक अवसरमा थपिएका नयाँ चुनौती र प्रविधिसंगै खेल्न रुचाउने नयाँ पुस्ताबीचको समन्वयकारी भूमिकामा हाम्रो क्रियाशिलतामा कुनै कमी हुन नदिई समयानअुकुल अझ परिस्कृत हुँदै जाने बिश्वास दिलाउन चाहान्छौं । विभिन्न समय र कालखण्डमा हाम्रो यात्रामा जोडिनुभएका सबै सहयात्रीहरुको स्मरण गर्दै यस घडिमा हाम्रा समस्त पाठक-शुभचिन्तकहरुप्रति नेपाली समाचार तथा समुद्रपारि डट कम परिवार हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।***