Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – सिवाइसी अत्तरिया धनगढी प्रिमियर लिगको च्याम्पियन बनेको छ । महेन्द्रनगर यूनाइटेडलाई ३ विकेटले पराजित गर्दै अत्तरिया पहिलो पटक डीपीएल च्याम्पियन बनेको हो ।

महेन्द्रनगरले दिएको १ सय २४ रनको लक्ष्य अत्तरियाले अन्तिम बल बाँकी रहँदा ७ विकेट गुमाएर भेट्टाएको थियो । उपाधिसँगै अत्तरियाले ३० लाख नगद पाएको छ। यस्तै उपविजेता महेन्द्रनगरले १२ लाख पाउनेछ । अत्तरियाका लागि सन्नी पटेलले ४७ रनको पारी खेल्दै टोलीलाई च्याम्पियन बनाएका हुन् । २६ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरेका थिए । अन्तिम २ बलमा ३ रन आवश्यक परेका बेला सन्नीले पाँचौ बलमा छक्का प्रहार गर्दै विजयी रन बटुलेका थिए ।

यस्तै सिवाइसीका जयकिशन कोल्सावालाले ३० र दीपेन्द्रसिंह ऐरीले १७ रन जोडे । महेन्द्रनगरका मोहम्मद नाभिद र सागर ढकालले २-२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय २३ रन बनायो । महेन्द्रनगरका दीलिप नाथले ४३ रन जोडे । ४१ बलको सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरे । यस्तै कुशल मल्लले २५ तथा रोहित पौडेलले २४ रन बनाए । आरिफ सेखले ११ तथा मोहम्मद नाभिदले १० रन जोडे । अत्तरियाका खेलाडीहरुले उत्कृष्ट फिल्डिङको नमुना प्रस्तुत गर्दा महेन्द्रनगरका ५ खेलाडी रनआउट भएका थिए ।

महेन्द्रनगरका कप्तान शरद भेषावकर(०), सुब्रमन्यम आनन्द(२) र सहाब आलम(०)लाई सन्नी पटेलले रन आउट पारेका थिए । यस्तै कुशल मल्ललाई जितेन्द्रसिंह ठकुरी र अविनाश बोहरालाई कमलसिंह ऐरीले रनआउट बनाएका थिए । अत्तरियाका लागि दीपेन्द्रसिंह ऐरी र दीपेन्द्र रावतले २-२ विकेट लिए भने सन्नी पटेलले १ विकेट लिए । सन्नीले ४ ओभरमा १ ओभर मेडन राख्दै ११ रनमात्रै खर्चे । डीपीएलको विजेताले ३० लाख तथा उपविजेताले १२ लाख पुरस्कार पाउनेछ ।

तपाईको प्रतिक्रिया