काठमाडौं – आईसीसी टी–२० महिला तथा एकदिवसीय विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपाललाई यूएईले ४२ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको यूएईले १७ ओभर ३ बलमा आफ्ना सबै विकेट गुमाउँदै ४१ रन बनाएको हो । यूएईका लागि सीआर सेनेविरत्नाले सर्वाधिक १३ रन बनाइन् ।
यूएईका तीन जना ब्याट्सवुमेनले खाता नै खोल्न नसक्दा सात जना ब्याट्सवुमेनले दोहोरो अंकमा रन बनाउनै सकेनन् ।
नेपालले सुरुवातदेखि नै यूएईलाई दबाबमा राख्न सफल भयो । जसमा उसले युएईको १० रन हुँदा तीन विकेट झार्यो । ओपनर छायाँ मुघल तीन रनमा आउट भइन भने इशा ओजा मात्र दुई रनमा आउट भइन् । त्यसपछि काभिसा पनि चार रनमा पेभेलियन फर्किइन ।
त्यसपछि कप्तान हुमेइरा तास्विन एक रनमा पेभेलियन फर्किदा उसले १२ रनमा चाैथाे विकेट खेर फाल्याे । त्यसपछि शुभा मात्र तीन रनमा बाहिरिइन् भने लगत्तै उडेनी डाेना पनि खाता खाेल्न नपाउँदै पेभेलियन फर्किदा यूएईले १८ रनमा ६ विकेट खेर फाल्याे ।
एकपछि अर्काे विकेट गुमाएकाे युएइले ३५ रन हुँदा साताैं विकेट खेर फाल्याे । सेनेविरत्नाले १३ रन बनाए पनि त्यसपछि उसले अरू ६ रन जाेड्दा थप चार विकेट गुमायाे ।
नेपालका लागि नेरी थापाले ४ विकेट लिइन् । ३ ओभर ३ बल बलिङ गरेकी नेरीले एक ओभर मेडन राख्दै मात्रै ६ रन खर्चेकी थिइन् । नेपालका लागि सिता रानामगर, साेनु खड्का र कविता कुवँरले कसिलो बलिङ गर्दै दुई-दुई विकेट लिए ।